एउटा चलनचल्तीको उखान छ- ‘बर्मा गए कर्म सँगै’ अर्थात् जता गए पनि मान्छेले आफ्नो संस्कार र बानी छाड्न सक्दैन। अरु देशको बारेमा पंक्तिकारलाई जानकारी भएन तर विभिन्न बाटोबाट अमेरिका आएर बसोबास गरिरहेका व्यक्तिहरुको बारेमा यो उखान शतप्रतिशत मेल खान्छ।
यसै क्रममा पंक्तिकारको विभिन्न व्यक्तिहरुसँग भेट हुने क्रममा प्राप्त अनुभवलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु। यस आलेखमा उल्लेख भएका प्रवृतिहरु वास्तविक हुन् तर कारणवस पात्रहरुकाे नाम उल्लेख नगरिएको हो।
सत्य उजागर हुँदा धेरैलाई रमाइलो लाग्छ भने कसैलाई लौ मैले गोप्य राखेको कुरा यसले थाहा पाएको रहेछ भनेर सम्बन्धित व्यक्ति आक्रोशित पनि हुन् सक्छन, तर त्यस्तो बेमतलबको आक्रोसले खासै महत्व राख्दैन भन्ने मेरो बुझाइ छ।
नेपालबाट र यतै कुनै प्रतिष्ठित विश्वविद्यालयमा उच्च अध्ययन गरेका डाक्टर, इन्जिनियर र आइटीका जानकारहरुको कमाई र जीवनस्तर दुवै उच्चस्तरको हुन्छ। विश्वविद्यालयमा अध्ययन, अनुसन्धान गर्नेदेखि विभिन्न कम्पनीमा तथ्याङ्क सङ्कलन गर्नेसम्मको काम गरे पनि उनीहरु मेचमा बसेरै काम गर्छन्। यस्तो वर्गका नेपालीहरुको आफ्नो बेग्लै समाज छ र उनीहरु त्यो समाजभित्र मात्र सम्पर्कमा रहन चाहन्छन्।
नेपालको बारेमा खासै मतलब नगर्ने, नेपालमा विकास भएन भनेर होहल्ला पनि नगर्ने र कमाएको धन सम्पत्ति यतै उपयोग गर्ने विचार भएका यिनीहरु न त नेपाललाई गाली गर्छन्, न त अमेरिकामा बाध्यताले बस्नु परेको भन्छन्। यो वर्गमा आफ्नो सानो-ठुलो व्यापार गरेर आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिहरु पनि पर्छन्। यिनीहरुलाई अनावश्यक काममा अल्झिरहने न त रुचि छ, न त समय नै। भित्रबाट अरुलाई स्वीकार नगरे पनि बाहिर मुसुक्क हाँसेर नजिकको जस्तो देखिनु यिनीहरुको विशेषता हो।
आफू संंलग्न पेशाको परिचय सदुपयोग वा दुरुपयोग गर्दै अनेकौँ तिकडम गरेर यहाँ पुगेका तर बाहिर भने आउन र बस्न पटक्कै मन नभएको जस्तो अभिनय गर्ने व्यक्तिहरुको चुरीफुरी हेर्न लायक हुन्छ। ठगीको आरोपमा प्रहरीले पक्राउ गर्नुभन्दा पहिले नक्कली नागरिकताको माध्यमले यता आएर सुखको सास फेरेकाहरुलाई आफ्नो अपराध कसैले थाहा पाएको छैन भन्ने अभिमान छ। खाएको ऋण तिर्न नसकेर मध्य दिउँसो ट्याक्सीमा हालेर अपहरण गरेको व्यक्तिले यहाँ आएर त्यो कुरा कसैलाई भनेको त छैन होला तर देख्ने अरु पनि छन् भन्ने कुरा अलिकति पनि विचार नगर्नु चाँही तीनछक्क पर्ने खालको प्रवृति हो।
पाँच पटकमा बल्लबल्ल एसएलसी उत्तीर्ण गरेर अनेकौँ तिकडम लगाएर क्याम्पसको आँगनसम्म टेक्न पाएकाहरुले पढेर कुनै कामै छैन भन्छन्। यो युगमा शिक्षाको कुनै मतलब हुँदैन भन्ने मान्छे ‘पागल’ हो वा अब यो जुनीमा शैक्षिक योग्यता प्राप्त गर्न नसक्ने भएर अमिलो अंगुर भनेको हो त्यो उसैलाई राम्रोसँग थाहा होला तर एउटा सामान्य मान्छेले त्यस्तो व्यक्तिलाई के भन्ने त्यो पाठक वर्गलाई नै जिम्मा दिन चाहन्छु।
त्यस्तै अँग्रेजी भाषाको खासै ज्ञान नभएकाहरुले डेरा सर्नुलाई मुभ हुनु, चर्पीलाई रेस्ट रुम, रासन किन्नुलाई ग्रोसरी गर्नु भनेर आनन्द लिएको पाइन्छ। तर लगभग सबैले कुनै अच्चमको वस्तु वा घटना देख्यो वा सुन्यो भने दुवै हातले गाला छोपेर ‘ओ माइ गड’ भनेर कराउन जानेका हुन्छन्, त्यो पनि संगीतको ताल र लयमा। त्यस्तै कुनै पनि खाद्य वस्तुको पाकेटमा ‘अर्गानिक’ लेखेको नदेखेसम्म मुखमा नहाल्नेहरु पनि पाइन्छन्।
त्यस्तै नेपालको राजनैतिक पार्टीहरुको संगठनको सदस्यता लिएर आफूलाई राजनैतिक प्राणी देखाउनेहरुले के गर्न खोजेका हुन्, त्यो अर्को अच्चमलाग्दो विषय छ। कम्युनिस्टको ‘क’ सम्म सुन्न नचाहने यो देशमा आउँदा आजसम्म कुनै पनि कम्युनिस्ट पार्टीमा नलागेको र त्यस्ता पार्टीहरुलाई चन्दा नदिएको भनेर भिसा फारममा टिक लगाएर आउनेहरुले कम्युनिष्ट पार्टीको विदेश विभाग खोल्नु आश्चर्य मात्र होइन कि यो देशको कानुनको बर्खिलाप पनि हो।
अझ अर्को उदेकलाग्दो कुरा नेपालमा हुँदा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मुर्दावाद भनेर कराउने कम्युनिस्टहरु त्यही साम्राज्यवादी देशमा आएर विस्तारवादी (भारतीय) मुलका मान्छेको चाकरी गरेको हेर्नु अर्को रमाइलो प्रसंग हो। त्यस्तै रातारात कवि र लेखक भएकाहरुले फेसबुकको भित्तामा अर्थ न बर्थको कविता पोष्ट गरेर गरेको ‘डिजिटल आतंकवाद’ बाट छुटकारा पाउने भन्ने कुरा पंक्तिकारले बुझ्न सकेको छैन। नेपालमै कविताको पुस्तक सायदै कसैले खरिद गर्ला भने यो परदेशमा आएर यस्ता कविता सुन्ने कसलाई फुर्सद होला?
एउटै कोठामा चार/पाँच जनासम्म बस्ने र काम गर्ने स्थान र कोठाबीच जति दुरी छ, त्यति मात्रलाई संसार मान्नेहरु पनि अमेरिकामा प्रशस्तै छन्। दिउँसै बत्ती बाल्नुपर्ने छिंडी (बेसमेन्ट) मा सुत्ने तथा संयुक्त भान्छा र शौचालय भएको कारणले कुखुराको अन्डादेखि ट्वाइलेट पेपरसम्ममा अरुले प्रयोग गरिदेला भन्ने डरले नाम लेखेर राख्नुपर्ने बाध्यता भएकाहरुको सबैभन्दा बढी चहल पहल छ।
फुर्सदको समयमा आफू बसेको डेरामा बस्ने वातावरण र अवस्था नभएको कारण नेपालीहरुको जमघटमा वा त्यसै सडक तथा पार्कतिर हल्लिएर समय बिताउनुपर्ने बाध्यता भएकाहरुको अर्को काम भनेको नयाँ आएका व्यक्तिहरुलाई गफले आकाश-पाताल हाँकेर सकेसम्म ठग्नु हो। भाषाको कारणले यहाँका व्यक्तिहरुलाई ठग्न अफ्ठ्यारो हुने कारणले नेपालीले नेपालीलाई नै ठग्ने हो, हामीले जतिसुकै नेपाली इमान्दार हो भनेर घाँटी सुक्ने गरी कराए पनि।
कसैले अज्ञानताबस नेपाललाई इण्डिया हो भनेर सोध्यो भने राष्ट्रियता उर्लेर ओतप्रोत हुनेहरुलाई नक्कली कागजपत्र पेस गरेर देशविहीन शरणार्थी हुने, प्रक्रियामा बस्दा भने कुनै अपराधबोध हुँदैन। बिना कुनै प्रसंगमा ‘बुद्ध वाज बर्न इन नेपाल’ र ‘माउण्ट एभरेस्ट-टप अफ द वर्ल्ड’ भनेर ठुलो स्वरले कराउने र यी दुवै प्रकरणमा निकै अभिमान गर्नेहरुलाई दुवै विषयको ज्ञान भने लगभग सून्य छ। वास्तवमा बुद्ध भनेको व्यक्ति हो कि अवस्था हो, सगरमाथा कुन हिम शृंखलामा पर्छ भन्ने सामान्य ज्ञान पनि नहुनेहरुले यी दुई अँग्रेजीका वाक्यहरुलाई कण्ठ पारेका हुन्छन् र अरुलाई कुनै मतलब नहुँदा पनि बोलिरहेका हुन्छन्।
गत वर्ष भएको राष्ट्रपतिको चुनावमा भोट हालेको फोटो फेसबुकलगायतका सामाजिक सञ्जालमा पोस्ट गरेर आफूलाई अमेरिकी नागरिक भइसकेको विज्ञापन गर्नेहरुमध्ये अधिकांशको समर्थन रिपब्लिकन पार्टी र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ छ। पूर्वराष्ट्रपति ट्रम्पको हरेक बौलठ्ठी कार्यहरुलाई आँखा बन्द गरेर समर्थन गर्नु र ट्रम्पले गरेको हरेक निर्णयलाई राम्रो भन्यो भने खानदानी अमेरिकन भइन्छ भन्ने यिनीहरुलाई लाग्छ। आफू विशिष्ट भएको भान हुन्छ, तर जति आधुनिक भएको अभिनय गरे पनि बौद्धिक अवस्था भने टाट पल्टेको छ।
दिनभरि अन्य महिलाको पहिरन र चरित्रको बारेमा कुरा गरेर मनगढन्ते आरोप लगाउँदा आनन्द मान्ने तर आफ्नो घरको महिलासँग कसैले ‘हाइ-हेल्लो’ मात्र गर्यो भने पनि निधार खुम्च्याउने दोहाेरो मानसिकताका पुरुषहरुको बाहुल्य पनि बाक्लै छ।
आधुनिक पहिरन लगायो भने छिट्टै आधुनिक हुनेमा विश्वास राख्नेहरुले आफ्नो शरीरमा नसुहाउने पोशाक लगाएर न हाँसको चाल, न बकुल्लाको चाल भएको पनि हेर्न लायक हुन्छ। बजारमा बिक्रीको लागि राखिएका सबै पोशाकहरु सबैको लागि होइनन् भन्ने कुरा जानकारी नभएको हो वा भएर पनि बुझपचाएका हुन् त्यो सम्बन्धित व्यक्तिलाई नै थाहा होला। तर त्यस्ता जमघटहरुमा लुगा लगाएर आएको हो वा आफ्नो शरीर प्रदर्शन गर्न खोजेको हो, त्यो बुझी नसक्नु हुन्छ।
यो आलेख पढिसकेपछि कोही कसैलाई आफ्नै मर्ममा प्रहार भएको जस्तो लागेमा म आफूलाई सफल भएको सम्झिनेछु। किनकी माथि उल्लेखित सबै पात्र र प्रवृतिहरु वास्तविक हुन्।
समग्रमा अमेरिकामा रहेका नेपाली मुलका व्यक्तिहरुमध्ये अधिकांश जसको सामाजिक तथा आर्थिक अवस्था सन्तोषजनक छ, उसले कुनै फूर्ति गर्दैन। तर जसको अवस्था ‘माथि छोपे तल देखिने, तल छोपे माथि देखिने’ भने जस्तो चिन्ताजनक छ, उसले गफले आकाश-पाताल जोडिरहेको हुन्छ।
(अन्तमा, यो आलेख प्रकाशन भएपछि जो जति बढी उत्तेजित हुन्छ, त्यसको अवस्था त्यति नै गिर्दो छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ। किनकी जो कालो छ, त्यसलाई काले भन्दा हो रिस उठ्ने। तर जो गोरो छ, त्यसलाई काले भनेर के फरक पर्छ?)
@twitter#naviinr
–नवीन रायमाझी
पत्रकार तथा लेखक
प्रतिक्रिया