बाबा गणिनाथ परिचय

सञ्जय साह मित्र २०८० भदौ २८ गते ११:०६ मा प्रकाशित

हरेक वर्ष कृष्णाष्टमीको लगत्तै आउने शुक्रवारदेखि आइतवारसम्म गणिनाथ–गोविन्द भगवान पूजा गरिन्छ । कानु, हलुवाई, मधेशिया आदि जातीय समूहको कूलदेवता वा कूलगुरुको रुपमा पूजित गणिनाथ–गोविन्द भगवानको पूजा निकै धुमधामका साथ गरिन्छ । यसै अवसरमा बाबा गणिनाथको जीवनीगत परिचय यहाँ प्रस्तुत गरिएको छ ।

वर्तमान भारत बिहार प्रान्तको वैशाली जिल्लाअन्तर्गत पर्ने महनारमा श्री मंसाराम गंगा नदीको किनारमा आफ्नी पत्नीका साथ बस्दथे । कुनै सन्तान थिएन । मंसाराम सात्विक विचारका थिए । उनी आफ्ना अन्य सामाजिक कार्यका साथै भगवान शिवको उपासना निकै ध्यानमग्न भएर गर्दथे । भगवान शिव उनको उपासनाले प्रसन्न भई सपनामा आएर भने – तपाईँको उपासना पूरा भयो । अर्को दिन उनी जंगलमा गए अनि देखे कि एक नवजात शिशु जसले मधुर मुस्कान छरिरहेका छन, उनको आभामण्डलबाट अद्वितीय, अलौकिक, दिव्य शक्तिको प्रकाश निस्किरहेको छ । पीपलको रुखबाट उक्त बालकको अलौकिक प्रभावको कारण मधु चुहिन थाल्यो । बालकले मधुपान गरे । बालकको तेजबाट सम्पूर्ण बनका जीवजन्तु खुसी भएर यताउति विचरण गर्न थाले । श्री मंसारामले उक्त बालकलाई आफ्नो घर लिएर आए ।

बालकको दिव्य शक्तिको प्रभावले सम्पूर्ण गाउँले आश्चर्यचकित थिए । उनले बालकरुपमा नै चमत्कार देखाउन सुरु गरे । मंसाराम आफ्ना स्वाजातीय तथा स्वजनहरुलाई भोज खुवाउन चाहन्थे तर उनको गरिबीले बाधा उत्पन्न गरिरहेको थियो । बालकले आफ्ना पालकपिताको चाहनालाई पूरा गर्न निमन्त्रणपत्र लेखे र आफ्नो शक्तिले सबैकहाँ पुर्याए ।

भोजको तयारीको लागि भाँडोको आवश्यकता पर्छ । मंसाराम कुम्हारकहाँ गए जो उनको गरिबीसित परिचित थिए । त्यसैले भाँडा दिन अस्वीकार गरे । बालकले आफ्नो लीला देखाए । जब कुम्हारले माटोको भाँडा पोल्नको लागि आवा लगाए तब आवामा आगो नै बलेन । कुम्हारले आफ्नो ईश्वरका स्मरण गरे अनि तुरुन्तै आफ्नो गलतीको अनुभूति भयो । त्यसपछि उनी बालकको शरणमा गए । बालकले भने – तिम्रो आवामा आगो बल्यो । अनि कुम्हारले माटोको भाँडो बनाएर दिए । मंसाराम ग्वालाकहाँ गए । ग्वाला एउटा आँखाले कानो थिए । उनले भने – दूध छैन ।

बाच्छीहरुले दूध दिन सक्दैनन् । बालकले फेरि लीला देखाए जसले गर्दा बाच्छीहरुले दूध दिन थाले । साथै ती ग्वालाको आँखा पनि ठिक भइहाल्यो । मंसारामको घरमा अलिकति चामलको खिर (तसमई) पकाइयो । खिरको मात्रा देखेर मंसाराम चिन्तित भए, के यति खिरले सबैलाई पुग्ला ? तर त्यहाँ पनि बालकको लिला नै थियो कि तसमई सकिएन । बालकको चमत्कारलाई देखेर सबैले एकै स्वरमा भगवान शिवको जयकार गरे । त्यसपछि बालकको नाम गणिनाथ राखेर पनि जयकार गरे ।

बालक गणिनाथ तपस्याको लागि हिमालय गए । अठार वर्षको तपस्यापछि गणिनाथ पुनः फिर्ता आए । तपस्याबाट उनले अष्टसिद्धि तथा नौ निधिमाथि महारथ हासिल गरे । उनी घर फर्केपछि यज्ञको आयोजन गरियो । बाबा गणिनाथले समाजलाई चार उपदेश दिए – वेदको अध्ययन गर । सच्चाइ र धर्मको पालन गर । काम, क्रोध , लोभ, अभिमान तथा आलस्यलाई त्याग गर । समाजमा नारीलाई मान सम्मान र रक्षा गर ।

बाबाको उपदेश आसपासको क्षेत्रका सबैले सुन्न थाले, सुन्न आउन थाले । उनको आशीर्वाद प्राप्त गरेर सबैको कष्ट दुर हुन थाल्यो । वैशालीका राजा धर्मपाल पनि उनका शिष्य भइसकेका थिए ।

एक समयको कुरो हो । राजाका छोरालाई सर्पले टोक्यो । सर्पले टोकेपछि राजाको छोरो मर्यो । राजाले बाबाको स्मरण गरे । बाबाले राजाको छोरालाई जीवित तुल्याए र दीर्घ आयुको आशीर्वाद पनि दिए । राजाले बाबाको आश्रमको लागि पलवैयाको सम्पूर्ण भूमि बाबाको चरणमा समर्पित गरे । त्यस राज्यका साराले खुशी भएर बाबा गणिनाथको जयकारको उद्घोष गरे ।

कालान्तरमा बाबा गणिनाथले राजा चक्रधारीकी पुत्री क्षेमासित विवाह गरे । बाबा गणिनाथ जस्तै क्षेमा पनि धर्म र धर्मको रक्षा गर्ने स्वभावकी थिइन् । क्षेमालाई खेमा नामले पनि चिनिन्छ । गणिनाथ र क्षेमाबाट तिन छोरा र दुई छोरी गरी पाँच सन्तान व्रmमशः रायचन्द्र, श्रीधर, गोविन्द, सोनमती र शीलमतीको जन्म भयो । पाँचै दाजुभाइ तथा दिदीबहिनी पनि गणिनाथजस्तै वेद, शस्त्र र शास्त्रमा प्रवीण भए ।

बाबा गणिनाथको राज्य चौध कोसमा फैलिएको थियो । राज्यको कदली वनमा डाँकुहरुले आफ्नो अड्डा जमाएर बसेका थिए । जो कोही पनि कदली वनमे जान्थ्यो, उसलाई लुट्थे, मार्थे । बाबा गणिनाथले कदली वनलाई डाँकुहरुबाट मुक्त गराउन छोराहरु रायचन्द्र र श्रीधरलाई पठाए । दुवै जनाले कदली वनका डाँकुहरुलाई समूल नाश गरे । कदली वनलाई स्वतन्त्र बनाए ।

त्यत्ति वेला जादु–टोनाले समाज आक्रन्त थियो । पलवैयादेखि कामाख्यासम्म जादु–टोना गर्नेहरुको आतंक रहेको थियो । समाजमा जादु–टोना गर्नेहरुबाट समाजलाई मुक्त गराउन बाबा गणिनाथले आफ्नो छोरा गोविन्दलाई पठाए । गोविन्दजीले आफ्नो योग तथा तपोबलले आफ्नो राज्यदेखि कामाख्यासम्म त्यस्ता मायावी शक्तिहरुलाई नाश गरे । समाजलाई जादु–टोनाको आतंकबाट मुक्त गराए ।

पलवैया राज्यभन्दा बाहिर यवनहरुको अत्याचार बढिरहेको थियो । यवनहरुकै कारण समाजका मानिसहरुले आफ्नो धर्म कार्य गर्न सकिरहेका थिएनन् । ती यवनहरुबाट समाजलाई मुक्ति दिलाउन बाबा गणिनाथले एक सेना तयार पारे । उक्त सेनामा ३६० ठाउँका मानिसहरु सामेल भए । सेना परिचालन तथा संचालनको जिम्मा रायचन्द्र र श्रीधरलाई दिए । गणिनाथ सेना र यवनहरुबिच भयंकर ठूलो युद्ध भयो । युद्ध चलिरहेकै समयमा युद्ध मैदानमा गोविन्दजी पनि आए । गोविन्दजी आएपछि बाबा गणिनाथ सेनामा थप उत्साह बढ्यो । युद्धमा यवनहरुको पराजय र गणिनाथ सेनाको विजय भयो । यवनहरुका सरदार थिए लाल खाँ । बाबाको योगशक्तिबाट प्रभावित भएर लाल खाँ शिष्य बने र जीवनपर्यन्त सेवा गरिरहे ।

बाबा गणिनाथ तथा माता क्षेमाले पलवैयाधाममा एकसाथ समाधि लिए । दुवै जनाले समाधि लिएको पलवैया भन्ने ठाउँ बिहारको हाजीपुर जिल्ला हो । गणिनाथ गोविन्द भगवानलाई कूलदेवता मान्नेहरुका लागि पलवैया एक तीर्थस्थलको रुपमा रहेको छ ।

-सञ्जय साह मित्र

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया