बा भन्नु हुन्थ्यो

अलका मल्ल काठमाडौं २०८० भदौ २८ गते १०:५० मा प्रकाशित

बा भन्नु हुन्थ्यो :

तँ जन्मँदा परिवारमा कति धेरै खुसी छाएको थियो । लाग्छ हाम्री छोरी सँधै आँखा अगाडीनै रहोस् तर के गर्नु यो त हाम्रो रिती हो सानै छेस र पनि नानी छोरीको जात घरका काम सिक्नु पर्छ । हाम्रो छहारीमा बस्ने कुरो त छँदै छ । हेर छोरी ठूली भएछी एकदिन पराइ घर जानै पर्छ । हाम्री राजकुमारी डोलीमा चढाई बिदाइ गर्नुपर्छ । बा र आमाको काखमा रमाएकी अनी औधी पुल्पुलेकी छोरी म बिहे त कसैगरे पनि गर्दिन अर्काको घर जाँदै जान्न भन्थेँ । हुर्कँदै गएकी छोरी टोल छिमेकी गाउँ घर सबका आँखा नलाग्ने त कुरै भएन । जात मिल्ने केटो खोजेर दिन पाए हाइ सन्चो हुन्छ भनी आमा बा सँग भलाकुसारी गर्नुहुन्थ्यो । हजुर आमा भन्नु हुन्थ्यो छोरी मान्छे धेरै पढेर के गर्छेस् र ! आखिर अर्काको घर–दैलो पोत्ने, मेलापात गर्ने भात पकाउने काम न हो ।

हाम्रो परिवार सुखी र आनन्दमयी तवरले बित्दै गएको थियो अचानक बालाई क्यान्सर रोगले ग्रस्त बनायो । एउटा सुखी र रमाइलो परिवारमा अँधेरोले छायो कसैको आँखा लागे जस्तो, कसैको अभिशाप लागे जस्तो । बिस्तारै हाम्रो जग्गा जमीन गर–गहना मास्नु पर्ने अवस्थाले निम्त्याउँदै गयो । सन्तानको नाममा म एक्ली थिएँ । खाने लाउने चञ्चले किशोरावस्थामा म कसैको सामु गिरेको पाउथेँ ।

समाजमा हामीलाई हेर्ने दृष्टीकोण पहिले भन्दा भिन्न पाउँदै गएँ । मान् सम्मान गर्ने आफन्तहरु पनि पैसामै तौलन थाले । दैबको खेल भनौ वा नियतिको बिडम्बनाबुबालाई रोगले दिन प्रति दिन चाप्दै गायो । यो अवस्थाले हामी घरका सब आत्तिन थाल्यौं । बाको पिरलोले हजुरआमा र आमा पनि दुब्लाउँदै जानु भाएको देख्न थालेँ ।

बित्दै गएको दिनहरु सँगसंगै मेरो पढाइको ब्यचलर पनि सक्कियो तर बुबा भने ठिक हुनु भएन । घरको आय श्रोत भनेकै म एउटीको जागीरमा सिमित रह्यो । कहिले काहिँ लाग्थ्यो यो पृथ्बीमा नजन्मकै भए जाती हुन्थ्यो तर अर्को मनले भन्थ्यो मैले यो परिवारलाई जस्सरीनी खुसी दिनु पर्छ । स्तनपान गराउँदा मेरो लात सहनु भएकी मेरी आमा, दिन रात परिवारको खुसीमा अग्रसर, हरेक संस्कार सिकाउने मेरी आमाको निस्वार्थ माया म कसरी भुल्न सक्छु र !

घरको खम्बा बलियो बनाउन पसिनाको धारा बगाउने, अनेक कष्ठमा पनि हाम्रो सामु आँसु लुकाउने मेरो बुबाको दृढ संकल्प पनि मैले कसरी बिर्सन सक्छु र ! म एउटी सक्षम बन्न सफल हुनुमा मेरो बुबाको ठूलो हात रहेको छ ।


उमेरको परिपक्वता सँगै मेरो मनले एउटा निचोड लियो त्यो थियो बिदेश गएर पैसा कमाइ परिवारलाई खुशी र सुखी राख्ने ।

तिमी आँट म पुर्याउँछु भन्ने उखान झै एकदिन मेरो अमेरीको भिसा लाग्यो । मैले परिवारका सब सदस्यलाई कमाएर छिट्ट्रै फर्कने आश्वासन दिएर बिदा भएँ । मैले पनि जाने बित्तिकै एउटा राम्रो कम्पनीमा काम पाएँ । जीवनलाई बुझ्ने क्रममा केही सान्वनाका आशाहरु पनि पलाउन थाले ।

कमएका पैसा सक्दो बचत गरी घरमा पठाउन थालेँ । जीवनका खुसीयालीका पाइला टेक्ने रहरमा बिश्वास जाग्दै गयो । मिहनतको फलस्वरुप घरमा पनि बुबाको उपचार राम्ररी हुन थाल्यो । सामाजिक सञ्जालबाट कुराकानी भइनै रहन्थो । अनुहार समेत देख्न पाइने हुँदा नजिकिएको बोध हुने र सबैजना छर्लङ्गै देख्न पाइन्थ्यो । आधुनिक प्रविधिले मान्छेलाई कति धेरै सजिलो बनाएको छ भन्ने कुरो मनन् गर्न थालेँ ।

मेरो बालाई आफ्नो रोगको चिन्ता त कता हो कता समय समयमा मेरो बिहेको धुमधाम बिहे गरेको हेर्ने इच्छा सुनाउनु हुन्थ्यो ।

केही बर्ष बिदेश बसाइ पछि म स्देश फर्की देशकै एउटा राम्रो कार्यालयमा काम गर्न थालेँ । घरमा पनि केही सुखका दिनहरुले पाइला टेक्न थाले । मेरो ठूलो इच्छा आमा बुबा र हजुर आमाको सेवामा जीवन बिताउनु थियो ।

बा भन्नु हुन्थ्यो जीवनमा जे जस्तो अवस्था आइपरे पनि सँधै आँटिलो हुनु हिम्मत कहिले नहार्नु । जब जब म बाको हौसला सम्झन्छु तब तब मलाई जीवन सँग लड्ने साहस र प्रोत्साहन मिलेको छ ।

धन्यवाद बा ।
आज बा को मुख हेर्ने दिन बा को हर इच्छाहरु पूरा गर्ने अठोटका साथ मेरो बा लगायत संपूर्ण बाहरु प्रति हार्दिक नमन् साथै घरका खम्बा सरी अदृश्य बोझ काँधमा बोकेर सँधै सुखको परिकल्पना गरि सदाका लागी हामीलाई छोडेर जानु भएका बाहरुमा पनि बैकुण्ठ बासको कामना गर्दछु ।

अलका मल्ल
काठमाडौं

प्रतिक्रिया