रौतहट
लोकदेवतालाई गणिनाथ–गोविन्द कूलदेवता मान्ने समुदायले गणिनाथ–गोविन्द जयन्ती मनाएका छन् । हरेक वर्ष कृष्णाष्टमीको लगत्तै आउने शनिवारका दिन विश्वभर गणिनाथ गोविन्द जयन्ती मनाइने गरिन्छ ।
शुक्रबार साँझदेखि सुरु हुने तीन दिवसीय पूजा आइतवार बिहान गंगास्नान गरी सूर्यलाई अध्र्य दिएर सम्पन्न गरिए पनि मूलपूजा शनिवार नै हुने गर्दछ । गणिनाथ, गोविन्दसँगै सूर्य र हनुमानको पूजा पनि गरिने चलन छ ।
गणिनाथ–गोविन्दको पूजा दशौँ शताब्दीदेखि गरिँदै आएको विश्वास गरिन्छ । कानु, हलुवाई, कान्दु, मधेसिया आदि नामले चिनिने जाति समुदायले कूलदेवताको रुपमा गणिनाथ–गोविन्द जयन्ती मान्ने गरेका छन् ।
नेपालको सबै प्रदेश तथा भारतको विभिन्न प्रदेशमा कानु समुदायका साथै अन्य जातिले पनि गणिनाथ–गोविन्द पूजा भव्यताका साथ गर्दै आएका छन् ।
नेपालको झापा, सर्लाही, रौतहट लगायतका जिल्लामा लोकदेवता गणिनाथ–गोविन्द भगवानको मन्दिर निर्माण गरिएका छन् भने तराई मधेशका हरेक जिल्लाका साथै काठमाडौँ र चितवन आदि ठाउँमासमेत भव्यतापूर्वक पूजा हुने गरेको छ ।
यसै अवसरमा रौतहटको गरुडा नगरपालिका ५ शिवनगरमा रहेको गणिनाथ–गोविन्द मन्दिर परिसरमा निर्माणाधीन धर्मशालामा सहयोग गरेको भन्दै कानु समाज कल्याण समिति रौतहटले प्रदेश साँसद जितेन्द्र यादव सुनिल, देवाही गोनाही नगर प्रमुख प्रेमलाल साह कानु, गरुडा नगर प्रमुख कन्थमनिप्रसाद कलवारसहित विभिन्न वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मानित गरेको छ ।
शिवनगरमा भएको वार्षिक पूजामा सर्लाही, रौतहट र बारा जिल्लाका साथै भारतको विभिन्न ठाउँबाट हजारौँ भक्तजनको उपस्थिति भएको समितिका जिल्ला अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले जनाएका छन् ।
प्रतिक्रिया