लालबहादुर ढेंगा, दुबई, युएई । यहि आउने १७ सेप्टेम्बर २०२३ आईतबारका दिन दुबईको याक एण्ड यति एभरेष्ट क्लबको हलमा महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसर पारेर अनाथ तथा अपाङ्ग बालबालिकाहरुको सहयोगार्थ “तीज रमाईलो सांझ–२०२३” सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरिने भएको छ । सो कार्यक्रम नेपालबाट आउने अतिथि कलाकार चर्चित लोक गायिका मन्जु पौडेल, लोक गायिका सिलु भट्टराई र नायिका तथा मोडल बिना थापा मगरका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतिमा रुपन्देही सेवा समाज युएईद्धारा आयोजना गर्न लागेको हो ।
सन् २०१४ मा “सेवा नै धर्म हो,, भन्ने मूल नाराका साथ रुपन्देहीवासीहरुको पहलमा स्थापना भएको समाज अहिले ९ बर्षको बाल्यकालमै भएता पनि उद्धार कार्य र विभिन्न सांस्कृतिक कार्यक्रमहरु भने धेरै भएका छन् । बिशेष गरि तीजलाई लक्षित गरेर गरिने कार्यक्रमबाट आउने रकम रुपन्देहीमा भएका अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हरेक बर्ष निरन्तर सहयोग गर्दै आएको छ । यस्ता खालका सहयोग र सत्भावले मानव सेवामा धेरै टेवा पुगेको पाईन्छ । यस बर्ष पनि यस्तै सहयोगको भावनाले कार्यक्रम आयोजना गर्नलाई जुटेका छन् । अहिलेसम्म कहां र कसलाई सहयोग गर्ने भन्ने निधो भएको छैन् । तर, आम्दनी र जरुरत अनुसारको सहयोग गर्ने बाचा भने भएको जानकारीमा आएको छ ।
युएईस्थित रहेका दाजुभाई तथा दिदीबहिनीहरुसंग तीज मनाउन र नचाउनका लागि नेपालबाट अतिथि कलाकारहरुको रुपमा चर्चित लोक गायिका मन्जु पौडेल, लोक गायिका सिलु भट्टराई र नायिका तथा मोडल बिना थापा मगर आउने भएका छन् । गायिका मन्जु पौडेल धेरै पटक आईसकेको हुनाले उहांको लागि दुबई पानी पधेरो भईसकेको छ भने गायिका सिलु भट्टराई र नायिका बिना थापा मगरको लागि पहिलो भिजिट रहने छ । मन्जु पौडेल गायिका मात्र नभएर कुशल कार्यक्रम प्रस्तोता र मिलनसार भएका कारण युएईका दर्शकहरुको मन मुटुमा बस्न सफल भईसकेकी छिन् । गुल्मीमा जन्मेकी भएर गुल्मेली र नजिकै पर्ने जिल्लाहरुले साथ सपोर्ट दिएको पाईन्छ । सिलु भट्टराई र बिना थापा मगरको लागि पनि दुबईका लागि ढोका खुलिसकेको छ । त्यसैगरी सेप्टेम्बर र अक्टोबर दुई महिनाको तथ्याङ्क हेर्ने हो भने ६० प्रतिशत नेपाली कलाकारहरु कार्यक्रमका लागि दुबईमा भित्रिने भएको देखिन्छ ।
कार्यक्रमको मुख्य प्रायोजकमा फिस्टेल ट्राभल्सले आफ्नो भूमिका निभाउंदै गर्दा अन्य प्रायोजकहरुले पनि मनैदेखि सहयोग गरेको देखिन्छ । समग्रमा हेर्दा व्यक्तिगत रुपले सहयोग गर्नेहरुको लामो सूचि देखिएको छ । कार्यक्रम हुने स्थान बरदुबईस्थित नेपालीहरुको राम्रो पाई परेको छ । जस्मा एकातिर नेपाली चोक पर्दछ भने अर्कोतिर नेपाली गल्लीले छोएको हुन्छ । सधै आईतबारे सार्वजनिक बिदाका दिन भेटघाट र नेपाली परिकारका स्वादसंगै मौलिक भेष भूषाहरु किन्ने केन्द्र बिन्दु बरदुबईमा अब भने तीजको धुलो उड्ने तयारीमा छ ।
यस तीजलाई यादगारका साथ भव्य संगीतमय बनाउनका लागि कार्यक्रमको संयोजकमा कला पंगेनी र सांस्कृतिक संयोजकमा प्रदीप पुन मगरले जिम्मेवारी लिएको छ । कुनै पनि कार्यक्रम चलाउदा अनुशासित ढंगले प्रभावकारी हुनु अति आवश्यक हुन्छ । त्यसको जिम्मेवारी सुरेन्द्र परियार र एलिना श्रेष्ठले पाएको छ । हरेक मामलामा माथिदेखि तलसम्म के भईरहेको छ भनेर नजिकबाट निआलेर हेरि राख्नु भएको छ अध्यक्ष टंक थापा मगरले । साथै महासचिव युवराज भट्टराई र केन्द्रिय सदस्य बाबुराम सुनार प्रायोजकहरुलाई समन्वय गर्दै लिस्ट तयारीमा हुनुहुन्छ । कार्यक्रम नजिकिदै जादा सम्पूर्ण रुपन्देही सेवा समाज युएईका परिवार तयारीमा लागि परेको प्रत्यक्ष देखिएको छ । युएईस्थित कार्यरत सम्पूर्ण आफन्तजन, शुभचिन्तक, दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि यसै समाचारको माध्यमबाट आग्रह समेत गरेको छ । अन्त्यमाः कार्यक्रमको सफलताको लागि अग्रिम हार्दिक शुभकामना छ ।
प्रतिक्रिया