थाइल्याण्डसँग नेपाल पराजित, विश्वकप छनोट खेल्ने सपना अधुरै

इनेप्लिज २०८० भदौ २२ गते ५:५० मा प्रकाशित

काठमाडौ, आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग नेपाल ४६ रनले पराजित भएको छ ।

योसँगै सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा पुग्ने नेपालको सपना अधुरै रह्यो ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा थाइल्याण्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कविता कुँवरले अविजित १७, अप्सरी बेगम र कविता जोशीले १०/१० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । थाइल्याण्डका लागि थिपाच्चा पुथावाङ र ओन्निचा कामचोम्फुले सर्वाधिक तीनरतीन विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।

उसका लागि नन्नपत कोन्चरोएनकाईले अर्धशतकीय पारी खेलिन् । ६३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा अविजित ५९ रन बनाइन् ।

यस्तै, नाथकन चन्थमले ३१, चनिदा सुथिरुङले अविजित ११ र सुवानन खियाओटाले दुई रन जोडे । नेपालका लागि कविता कुँवर र पूजा महतोले मात्र एक/एक विकेट लिन सके ।

प्रतिक्रिया