नेपालसँग ७४ रनमा रोकियो कतार, इन्दू वर्माको सानदार बलिङ

इनेप्लिज २०८० भदौ १८ गते ३:१४ मा प्रकाशित

काठमाडौ, आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो ।

उसका लागि साची धडवालले २१, अलीना खानले १५, एन्जेलिन मारेले अविजित १४ र कप्तान आयसाले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

नेपालका लागि अलराउन्डर इन्दु वर्माले सानदार बलिङ गरिन् । उनले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् ।

यस्तै, कविता जोशी र पूजा महतोले एक/एक विकेट हात पारे । नेपाललाई दुई भने रनआउटको रूपमा प्राप्त भयो ।

लगातार तेस्रो जित हात पारिसकेको नेपालले सेमिफाइनल यात्रा लगभग सुरक्षित गरेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट र तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको थियो ।

नेपालले अब मंगलबार यूएईसँग खेल्ने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया