भुटानविरुद्ध नेपालको कठिन जीत, दुई खेलअगावै सेमिफाइनलमा

इनेप्लिज २०८० भदौ १७ गते ११:३८ मा प्रकाशित

काठमाडौ, आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जीत निकालेको छ । तेस्रो जीत निकाल्नेक्रममा नेपालले आइतबार भुटानलाई ३ विकेटले हरायो ।

भुटानले दिएको ३९ रनको झिनो लक्ष्य पूरा गर्न नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउनुपर्‍यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित १२, कविता जोशीले ९, सीता राना मगरले ८ र पूजा महतोले ३ रन बनाए ।

कविता कुँवर, अस्मिना कर्माचार्य, इन्दु वर्मा र सम्झना खड्का भने शून्यमै आउट भए । भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मो, अञ्जु गुरुङ र देचेन वाङ्मोले एकरएक विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनायो । उसका लागि देचेन वाङ्मोले सर्वाधिक २१ रन बनाइन् ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि पूजा महतोले तीन, कविता कुँवर, रुबिना क्षेत्री र खुसी डंगोलले एकरएक विकेट लिए ।

लगातार तेस्रो जीतसँगै नेपालले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

भुटान पहिलो खेलमा यूएईसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने उसले कतारलाई ८ विकेटले हराएको थियो । नेपालले चौथो खेलमा सोमबार कतार तथा मंगलबार यूएईसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछ ।

प्रतिक्रिया