काम एउटा तर कुरो अर्को

नवीन रायमाझी २०८० भदौ १६ गते १२:४९ मा प्रकाशित

आलेख को सुरुमा नै सम्बन्धित सबै सँग अनुरोध गर्न चाहन्छु कि मेरो आसय कसैको पेशा वा कुनै व्यक्तिलाई मान मर्दन गर्ने होइन. देस छोडेर हजारौ माइल टाढा अर्काको देसमा आफ्नो सुखद भविष्यको लागि सङ्घर्ष गरिरहेका हामीहरुले आफुलाई परिचय गराउंदा जे काम गरेको हो त्यो नै भनेर परिचय गर्नुपर्छ भन्ने वा आफु जे पेशामा छौ अर्थात् आफ्नो रोजी रोटी लाइ इज्जत गर्नुपर्छ भन्ने हो। हामी मुखले अमेरिकामा काम को महत्व हुन्छ, ठुलो सानो हुँदैन भन्छौ तर अरुलाई आफ्नो परिचय दिँदा अर्कै पेशा भन्छौ, यस्तो दोहरो मापदण्ड नराखौँ भन्ने हो. यधपी म काम ठुलो र सानो हुन्छ भन्ने कुरामा विश्वास गर्छु। सबैले आफ्नो योग्यता र क्षमता ले दिएको काम गर्ने हो, त्यो चाहे अमेरिका होस् वा नेपाल र सँसारको जुनसुकै स्थान।यदि काम ठुलो सानो नहुँदो हो त् अमेरिकामा राष्ट्रपति र सामान्य मजदुर सँगै हिड्न पर्ने थियो, त्यो मैले देखेको छैन। सँगै हिडेर पनि मैले नदेखेको वा थाहा नपाएको हुनसक्छ त्यस्तो हो भने सम्बन्धित सबै सँग क्षमा याचना गर्दछु।

नेपालमा पत्रकारिता गरेका र पत्रकारिता गर्ने इच्छा हुँदा हुँदै पनि त्यो पेशा गर्ने मौका नपाएका हरुले आफुलाई परिचय दिने भनेको पत्रकारको हो। बर्षामा च्याउ उम्रेसरीका अनलाइन पोर्टलहरुमा र नेपाल वाट अनियमित रुपमा प्रकाशित हुने मासिक पत्रिकामा अमेरिका प्रतिनिधि फलानो भनेर लेखेको र कुनै सानोतिनो साप्ताहिक पत्रिकाको परिचय पत्र बोकेको भरमा पत्रकार हुने धेरै छन। कोहि व्यक्तिले पत्रिका प्रकाशन पनि गर्छन तर त्यो पत्रिका कसैले पैसा तिरेर खरिद गर्ने होइन। नेपाली समुदायको बढी उपस्थिति हुने ठाउंमा त्यसै असरल्ल राखिने त्यस्ता पत्रिकाहरु पढ्न भन्दा पनि घरमा मासु खाएर निस्केको हड्डी पोको पारेर फाल्न लग्ने हो। नेपालमै अधिकाँस संचार माध्यमहरुमा पत्रकारले महिनौ देखि तलब नपाएको कुरा सुनिन्छ भने अमेरिकामा पत्रिकाले तलबी पत्रकार राखेको होला भन्ने कुरामा मलाई विश्वास छैन। पूर्णकालीन काम ट्याक्सी चलाउने तर आफुलाई पत्रकारको परिचय दिनु कति उचित हुन्छ त्यो सम्बन्धित व्यक्तिलेनै इमान्दारिपुर्बक सोच्दा राम्रो हुन्छ।

परिचय लुकाउने अर्को ठुलो समुह नेपाली कलाकार हरुको छ। प्राय नेपालको दिलिप कुमार, नेपालको डेनी जस्ता उपमा दिएर भारतीय कलाकार हरुसँग तुलना गर्न रुचाउने र नेपालमा कलाकारिता गरेर खान पुग्दैन भन्ने कलाकारहरुलाई अमेरिकामा भने गाएर, बजाएर र अभिनय गरेरै जीबन चलेको छ भन्ने कुरामा विश्वास गर्ने कुनै तुक छैन। मेरो मित्र किरण प्रताप कुनै समयमा नेपाली सिनेमामा अभिनय गर्थे। उनी राजेस हमाल जस्तो महानायक त थिएनन तर उनको बजार ठिक ठाकै थियो। शिक्षाले सिभिल इन्जिनियर उनि हाल अमेरिकामै छन र कलाकारिता सँग उनको कुनै सम्बन्ध छैन र उनि त्यो दाबी पनि गर्दैनन्। धेरै बर्षको अमेरिकाको बसाइ पछि अभिनेता सरोज खनाल केही बर्ष पहिले नेपाल फर्केका थिए, त्यसबेला आफुलाई एक नम्बरको दैनिक दाबी गर्ने तर महिनौ सम्म पत्रकारलाई तलब नदिने पत्रिकाले सरोज खनालले नेपाली दर्शकलाइ धोका हुन्छ भनेर कुनै पनि हलिउड सिनेमामा अभिनय गरेनन भन्ने समाचार प्रकाशित गरेको थियो। त्यस्तो हावादारी समाचार छाप्ने पत्रिका र पत्रकारको के कुरा गर्नु त्यो समाचार पढेको भए स्वयम खनाल पनि लाजले पानी हुन्थे होलान. अभिनेता खनाल अमेरिकामा पूर्णकालीन कलाकारिता गर्दैन थिए सायद, उनले मैले कलाकारिता गरेरै अमेरिकामा बाचेको छु भनेर दाबी गरे कि गरेनन त्यो कुराको मलाई जानकारी छैन तर त्यस्तो बकम्फुसे दाबी उनले गरेनन होला भन्ने लाग्छ। नेपाली कलाकारिता गरेर अमेरिकामा आजको दिन सम्म जिबन यापन गर्ने बाताबरण बनेको छैन, कसैले सोखको निमित्त गर्छु भन्छ भने त्यो अर्कै कुरा हो।

सबैभन्दा हास्यास्पद अवस्था राजनैतिक कार्यकर्ता हरुकोछ। अनेकौ किसिमका जातीय र क्षेत्रिय सँघ सँघठन स्थापना गरेर त्यसको अध्यक्ष र महासचिब भएका हरुको त्यो पद फगत एउटा आत्म रति मात्र हो। उनिहरुको त्यो पदको कुनै अर्थ र उपयोगिता छैन। प्राय सबै जसो राजनैतिक पार्टी हरुको विभिन्न नाममा बिदेस बिभाग गठन गरेर के फाइदा हुन्छ त्यो त उनिहरुलाई मात्र थाहा होला। मैले बुझ्न नसकेको कमनिस्टको “क” सम्म सुन्न मन नपराउने र अमेरिकाको भिसाको फाराम भर्दा आज सम्म कुनै कमनिस्ट पार्टीको सदस्य नभएको र त्यस्तो पार्टी लाइ चन्दा नदिएको भनेर स्वीकार गरेर अमेरिका आएकाहरुले कमनिस्ट पार्टीको बिदेस बिभाग स्थापना गर्नु याँहाको कानुनको बर्खिलाप पनि हो। नेपालमा छँदा चोर र भ्रष्ट भनेको नेता याँहा आए भने तछाड मछाड गरेर फोटो खिच्ने र त्यो फोटो सामाजिक सन्जालमा अपलोड गरेर आफुलाई ति व्यक्तिहरुको अत्यन्तै निकट छु भन्ने देखाउन किन होडबाजी गर्छन त्यो बुझिनसक्नु छ। राजनीति नै गर्ने हो भने बरु अमेरिकाको राजनीति गर्दा भविष्यमा कुनै फाइदा त होला तर अमेरिकामा बसेर नेपालको राजनीति गर्दा के अर्थ हुन्छ? विभिन्न सँघ र सँघठनको नाम मा अनेक कुरामा सहयोग गर्नु पर्यो भनेर नेपाली समुदाय सँग चन्दा माग्नु बाहेक यस्तो राजनीतिको कुनै तुक छैन र यो सत प्रतिसत निरर्थक छ।

आफु जुन देसमा बसेको छ त्यो देसको नियम कानुनको परिधि भित्र बस्नु पर्छ भन्ने मेरो निजि मान्यता छ र यो कुरा मा कसैको दुइ मत हुन् सक्दैन भन्ने विश्वास लिएको छु। आफुले पहिले गरेको काम र उपलब्धिको बारेमा प्रसँगबस कुरा गर्नु नराम्रो होइन तर मुखले भन्दा काम सबै बराबर हो कुनै सानो ठुलो हुदैन भनेर भन्ने तर आफुले आफुलाई परिचय गर्दा गर्दै नगरेको काम को परिचय दिनु दोहरो मापदण्ड होइन? यो आलेख पढे पछि धेरैको मर्ममा प्रहार हुने हुँदा बिरोध हुने कुराको मलाई पुर्बाभास छ र त्यसको लागि म मानसिक रुपमा तयार छु। सत्य कुरा पचाउन नसक्ने विकृत मानसिकताका व्यक्तिहरुको बिरोधको पनि के अर्थ रह्यो र?

@twitter#naviinr

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया