‘जनतासँग माओवादी’ ३ महिने अभियान सुरू, घट्टेडाँडा जाँदै प्रधानमन्त्री दाहाल

इनेप्लिज २०८० भदौ १६ गते २:४१ मा प्रकाशित

काठमाडौं, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजदेखि तीन महिने अभियान सुरू गर्दैछ ।

पार्टीलाई युगसापेक्ष रूपान्तरण गर्ने भन्दै माओवादीले ‘जनतासँग माओवादी’ नामक अभियान सुरू गरेको हो ।

उसले देशभरका ७ हजार २४३ वटै वडामा ‘जनतासँग माओवादी :विशेष रूपान्तरण अभियान’ सुरू गर्नेछ । आज देशका विभिन्न वडाहरूमा शीर्ष नेताहरू पुग्दैछन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल बिहान ९ बजे चन्द्रागिरि नगरपालिका २ घट्टेडाँडाको कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसअघि उनले भर्च्यूअल माध्यमबाट सबै वडाको कार्यक्रम उद्घाटन गर्नेछन् ।

यस्तै वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् ।

यस्तै सबै पदाधिकारीहरू तोकिएको स्थानमा सरिक हुनेछन् ।

प्रतिक्रिया