नेपालले बहराइनलाई १० विकेटले हरायो, २.५ ओभरमै पूरा गर्‍यो लक्ष्य

इनेप्लिज २०८० भदौ १५ गते ८:५० मा प्रकाशित

काठमाडौ, नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जीत निकालेको छ ।

दोस्रो जीत निकाल्नेक्रममा नेपालले शुक्रबार बहराइनलाई १० विकेटले हरायो । पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई ५ रनले हराएको थियो ।

दोस्रो खेलमा बहराइनले दिएको ३१ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

नेपालका लागि कवित कुँवरले १४ बलमा ३ चौकासहित अविजित १७ रन बनाइन् । यस्तै, सीता राना मगरले ३ बलमा अविजित २ रनको योगदान दिइन् ।

त्यसअघि मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमै अलआउट भयो ।

उसकाका लागि दीपिका रासंगिका (११) ले मात्र दोहोरो अंकमा रन जोड्न सकिन् । बहराइनका ५ ब्याटर शून्यमै आउट भए ।

बहराइनलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि इन्दू वर्माले ४ ओभरमा दुई मेडनसहित ५ रन दिएर तीन विकेट लिइन् ।

यस्तै, खुसी डंगोलले १।४ ओभरमा बिना रन २ विकेट हात पारिन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ र दिएर १ विकेट लिइन् । पूजा महतो र रुबिना क्षेत्रीको नाममा पनि एकरएक विकेट रह्यो ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया