सुर्खेत, प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सिद्धिएपछि भ्रष्टाचारको विपक्षमा लाखौँ जनतालाई सडकमा उतार्ने दाबी गरेका छन् ।
बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने दाबी गरेका हुन् ।
जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भूल भएको उल्लेख गर्दै उनले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौँ जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ ।
जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो ।’ आफू सरकार छोड्न गाह्रो मान्ने मान्छे नभएको दाबी गर्दै प्रधानमन्त्री दाहालले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको पनि बताए ।
‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भएपनि ठीकै छ,’ उनले भने, ‘राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन् ।’
प्रतिक्रिया