क्यानडामा २९ औं अन्तरराष्ट्रिय आदिबासी दिबस बिबिध कार्यक्रम सहित सम्पन्न

इनेप्लिज २०८० भदौ १४ गते १०:५० मा प्रकाशित

मिसिसागा, २९ औं अन्तरराष्ट्रिय आदिबासी दिबसको उपलक्षमा क्यानडाको मिसिसागा स्थित इरिनडेल पार्कमा हालै बिबिध कार्यक्रम सहित समारोह सम्पन्न गरेको छ। नेपाली जनजाति एसोसियसन क्यानडाको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा बृहत्तर टोरोन्टो क्षेत्र स्थित जनजातिय संस्थाहरुले आफ्नो संस्कृति , कला, नृत्य, भेषभुसा तथा परम्परागत खानाको प्रदर्शनले कार्यक्रम स्थल नेपालमय भएको थियो । कार्यक्रमको सुरुमा ह्योल्मो समाजले सबैको शुभ कल्याणको लागि पुजा गरिएको थियो भने नेपाल तथा क्यानडाको राष्ट्रिय गानको धून बजाइएको थियो।

“आदिबासी युबा आत्मनिर्णयकालागि परिबर्तनका संबाहक” भन्ने नारामा केन्द्रित भएर मनाइएको उक्त कार्यक्रममा क्यानाडेली आदिबासीहरु तथा नेपाली जनजाति समुदायहरुले आफ्नो संघर्ष, अनुभब आदान प्रदान गर्नुको साथै संगीत एबम नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष एबम कार्यक्रम संयोजक ऐस्वर्या राईले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने सुरेन्द्र लावतिले भूमि अभिस्विकृति साभार सम्बन्धि पाठ बाचन गर्नु भएको थियो।

कार्यक्रममा बोल्नु हुदै ओन्टारियो प्रान्तका प्रान्तिय सांसद माननिय दीपक आनन्दले नेपालका बिभिन्न जनजाति समुदाय एउटै स्थलमा जम्मा भएर संयुक्त रुपमा कार्यक्रम गरेको देख्दा आफूलाई धेरै खुसी लागेको र यसले” बिबिधतामा एकता” सम्बन्धि सन्देश जाने बताउनु भयो। कार्यक्रममा अतिथिहरु क्यानडाका आदिबासी समूदाय “टू स्पिरिटेड पिपल्स अफ दी फस्ट नेसन”का कार्यकारी निर्देशक किथ माक्क्रादी तथा पामले सो दीबसको महत्व बारे प्रकाश पार्नु भएको थियो भने उहाँहरुको समूहले आफ्नो समुदायको संगीत पनि प्रस्तुत गर्नु भएको थियो।

सो कार्यक्रममा सहभागि बिभिन्न नेपाली जनजाति संस्थाका प्रतिनिधिहरु नबराज गुरुङ, ध्यान बहादुर मोक्तान, बीर बहादुर गुरुङ, उत्तम माकजु, बिजय पौडेल, युबा प्रतिनिधि श्रेया राई लगायतले जनजातिहरुको अधिकार, संस्कृति, भाषाको संरक्षण बारे आआफ्नो बिचार ब्यक्त गर्नु भएको थियो।

धन्यबाद मन्तब्य ब्यक्त गर्नु हुदै आयोजक संस्थाका संरक्षक चन्द्र राईले कार्यक्रम भब्य रुपमा सफल पार्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई हार्दिक आभार ब्यक्त गर्नु भयो। कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक संस्था नेपाली जनजाति एसोसियसन क्यानडाका अध्यक्ष बीरकाजी गुरुङ्ले सबैको सहयोगले कार्यक्रम सफल भएकोमा खुसी ब्यक्त गर्नु हुदै आफ्नो हक अधिकार र पहिचानको लागि आगामि दिनहरुमा पनि यस्तै सक्रिय सहयोगको अपेक्षा गर्नु भयो।

कार्यक्रमको शुरुमा बिभिन्न जनजातिहरुले आ आफ्नो भेषभुषामा सजियर बाजागाजा सहितको झाँकि प्रदर्शन गरिन्दा कार्यक्रम स्थल जनजाति समुदायको संग्रहालयको रुपमा परिबर्तित भएको भान हुन्थ्यो भने आफ्नो आफ्नो समुदायका बिशेष खानाहरुको सबैले रसस्वादन गर्न पाउन्दा सहभागिहरुले नेपालमै भएको जस्तो भएको प्रतिक्रिया जनाए ।

कार्यक्रमको अर्को आकर्षण बिभिन्न संस्थाहरुले प्रस्तुत गरेको समुदायको नृत्य, गीत संगीतले सबैको मन लोमहर्षक बनाएको थियो । कार्यक्रममा तमुधिं क्यानडा, मगर संघ क्यानडा, किरात याक्थुङ चुमलुङ, ह्योल्मो समाज क्यानडा, थारु समाज क्यानडा, तामाङ समाज क्यानडा, क्यानेडियन नेवाः गुठि क्यानेडेली आदिबासी संस्ठा टू स्पिरिटेड पिपल्स अफ दी फस्ट नेसन लगायतका संस्थाहरुको सक्रिय सहभागिता थियो।

प्रतिक्रिया