महिला टी–२० सिरिजमा नेपाल र हङकङ फाइनलमा भिड्ने

इनेप्लिज २०८० भदौ ८ गते १२:४९ मा प्रकाशित

काठमाडौं, समूह चरणकोको खेलमा खेलमा मलेसियासित पराजित भएपनि नेपाल फाइनलमा पुग्न सफल भएको छ ।

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने भएका छन् ।

फाइनल खेल शनिबार हुने छ । समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चाररचार अङ्क भएपनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।

तीनै टोली समूह चरणका दुई दुई खेलमा विजयी भएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि आज पहिला ब्याटिङ गरेको हो ।

मलेसियाविरुद्धको खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो ।

मलेसियाले ८४ रनको विजय लक्ष्य १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । मलेसियाका लागि अइना हसिमले अविजित ३७ तथा इजाती इम्माइलले २१ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि पूजा महतो, रुबिना क्षेत्री बेलबासे र सीता राना मगरले एक एक विकेट लिइन् ।

यसअघि नेपालका लागि ब्याटिङ गर्दै कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन् । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।

यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् ।

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ ।

प्रतिक्रिया