मुलुकको इज्जतका लागि तस्करी नियन्त्रण गर्नुपर्छ–एमाले अध्यक्ष ओली

इनेप्लिज २०८० भदौ ८ गते १२:२५ मा प्रकाशित

विराटनगर,८ भदौ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले मुलुकको इज्जत, अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण गर्नु पर्ने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज मध्यान्ह सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले तस्करीले मुलुकको विकासमा बाधा उत्पन्न गर्नुका साथै गम्भिर कार्य भएकोले यसलाई अविलम्ब रोक्नु पर्ने स्पष्ट पार्नु भयो ।

पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूलो जिम्मेवार दलले मुलुकमा सुशासन ,आर्थिक विकासका लागि मिलेर आगाडि वढ्नु पर्नेमा कुनै दुई मत नरहेको विचार व्यक्त्त गर्नु भयो ।

उहाँले एमाले सरकार निर्माण गर्नेतर्फ ध्यान नदिएको बताउँदै मुलुकमा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासतर्फ केन्द्रीत रहेको प्रष्ट पार्नु भयो ।

अध्यक्ष ओलीले कोशी प्रदेशमा गठबन्धनले असंवैधानिक क्रियाकलाप गरी वहुमत ल्याएको दावी गरेको भन्दै अदालतको निर्णयले कोशी सरकार निर्माण नभएकोले कामचलाउ समेत नरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो – कोशी प्रदेशको निकास भनेको एमालेको नेतृत्वमा सरकार निर्माण र ५० भन्दा वढी प्रदेश सभा सदस्यहरुको समर्थन रहने छ ।

अध्यक्ष ओली समाजवादी मोर्चाले धरानमा साम्प्रदायिक सद्भाव विथोली मुलुकमा द्वन्द्व निम्त्याउन खोजीरहेको आरोप लगाउँदै यो सत्ता संरक्षीत कार्य भएको विचार राख्नु भयो ।

प्रतिक्रिया