लगातार दोस्रो जीतको खोजीमा नेपाल, आज कुवेतसँग भिड्दै

इनेप्लिज २०८० भदौ ६ गते ३:३९ मा प्रकाशित

काठमाडौ, मलेसियामा जारी चार देशसम्मिलित महिला टी–२० सिरिजमा नेपालले आज कुवेतको सामना गर्दैछ ।

नेपाल र कुवेतबीचको खेल दिउँसो ११ः४५ देखि मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

नेपाल सिरिजमा लगातार दोस्रो जीतको खोजीमा छ । नेपालले पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको थियो ।

आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेतसँग सिरिज खेलिरहेको हो ।

सिरिजको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्ने तालिका छ । नेपालले आगामी सोमबार थाइल्याण्डसँग अभ्यास खेल खेल्नेछ ।

एसिया क्षेत्र छनोट ३१ अगस्टदेखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुँदैछ । नेपाल रहेको समूहमा यूएई, कतार, मलेसिया, भुटान र बहराइन तथा समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टिमले आउँदो वर्षको टी–२० विश्वकप खेल्न पाउनेछन् ।

विश्वकप छनोटका लागि नेपालको टोली : रुबिना क्षेत्री ( कप्तान) , सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल ।

प्रतिक्रिया