आजदेखि अधिकमास (मलमास) समाप्त अधिकमास ( मलमास) को विशेषताअधिक मास (मल मास) के हो?

राजेन्द्र खनाल २०८० साउन ३० गते २२:२२ मा प्रकाशित
  • ज्योतिष/ पण्डित राजेन्द्र खनाल

यसपालीको श्रावण महिनाको २ गते अर्थात् जुलाई १८ देखि सुरु भई अगस्ट १५ तारिख श्रावण ३० गतेसम्मको मलमास समाप्त भएको छ अमेरिकामा भने नेपालमा भोलि बुधवार समाप्त हॅुदैछ ।

मल् शब्द(धातु)मा मास अर्थात् महिना प्रत्यय गांसिएर मलमास शब्द बनेको छ भने अधिक् धातुमा मास प्रत्यय जोडिएर अधिकमास शब्द बनेको छ ।

मल भनेको विकार अर्थात् आवश्यकताभन्दा बढी भएको चिज बस्तुलाई हामी मल भन्दछौं, जुन महिनामा संक्रान्ति पर्दैन वा दुईवटा संक्रान्ति पर्छ भने त्यस महिनालाई मलमास भनिन्छ । मलमासलाई अधिक मास, क्षयमास, मलिम्लुच, संसर्प, अंहस्पति तथा पुरुषोत्तम मास आदि नामले व्यवहारमा प्रयोग गरिएको पाईन्छ । निर्णय सिन्धुका अनुसार एकमात्र संक्रान्तिरहित शुक्लादि चान्द्रमासलाई अधिकमास अर्थात् मलमास भनिन्छ ।

सौर्य वर्ष मास र चान्द्र वर्ष मासमा सामन्जस्य स्थापित गर्नका लागि प्रत्येक अढाई वर्ष / ३ वर्षको अन्तरमा पञ्चाङ्गमा एक चान्द्रमासको वृद्धि गरिन्छ। यसैलाई अधिकमास या मलमास भनिन्छ । सौर्य वर्ष, मास भन्नाले सूर्यअनुसार चल्ने गते र बारलाई बुझिन्छ भने चान्द्र वर्ष मासलाई तिथि तथा नक्षत्र भन्ने बुझिन्छ । पन्चांग पात्रोमा यी दुबैको संयोजन गरी बार, तिथि, नक्षत्र, योग र करणलाई संयोजन गरी बनाईएको हुन्छ जसलाई हामी पन्चांग भन्दछौं ।

सौर्य वर्षको मान ३६५ दिन, १५ घडी, २२ पला र ५७ विपला हुन्छ भने चान्द्र वर्ष ३५४ दिन, २२ घडी १ पला र २३ विपलको हुन्छ। यस प्रकार यी दुवै वर्षमानमा प्रतिवर्ष १० दिन, ५३ घडी, २१ पला (अर्थात, लगभग ११ दिन) को अन्तर पर्दछ । यही अन्तरमा समानता ल्याउनका लागि चान्द्रवर्ष १३ मासको हुन्छ।

वास्तवमा यो स्थिति स्वयं नै उत्त्पन्न हुन्छ किनकि जुन चान्द्रमासमा सूर्य संक्रान्ति पर्दैन, त्यसैलाई अधिकमास को संज्ञा दिइन्छ र जुन चन्द्रमासमा दुई सूर्य संक्रांतिको समावेश हुन्छ, त्यसलाई क्षयमास भनिन्छ। क्षयमास केवल कार्तिक, मङ्सिर र पुषमा हुन्छ । जुन वर्ष क्षय-मास पर्दछ, त्यहि वर्ष अधिक मास पनि अवश्य पर्दछ तर यस्तो स्थिति १९ वर्ष या १४१ वर्ष पश्चात् आउँछ ।

मल मास किन भनिन्छ अर्थात् किन वर्जित गरिन्छ शुभकर्म ?

प्राचीन कालदेखि नै यस मासलाई निन्दनीय मानिदै आएको पाईन्छ । हिन्दु सॅास्कृतिक मान्यताअनुसार अधिकमास भरि पवित्र कर्म वर्जित हुन्छन् किनकि यो मास अतिरिक्त भएको हुनाले यसलाई पापमय मलिन मास भनिन्छ । सम्पूर्ण तिथिहरुको मल जम्मा हुने भएकाले यसलाई मलमास भनिएको हो यो पनि दुई प्रकारको हुन्छ भनेर बताईएको छ – संसर्प र अंहस्पति । क्षयमासभन्दा पहिले आउनेलाई सम्सर्प अधिकमास र क्षयमासभन्दा पछि आउनेलाई अंहस्पति अधिकमास भनिन्छ । संसर्पभन्दा अंहस्पति अझ बढी बर्जित मानिएको छ । यो मास भरि गर्न नहुने उपाकर्म, उत्सर्ग, अष्टका श्राद्ध, गृहप्रवेश, मुण्डन, उपनयन, विवाह, ब्रतबन्ध, तीर्थयात्रा, वास्तुकर्म, देवप्रतिष्ठा, बगैंचा तथा कुवाको सुरुआत, नयॅाकपडा तथा गहना धारण, तुलादान, यज्ञ तथा अग्निहोत्र, अपूर्व देवदर्शन, सर्पबलि तथा अन्य उत्सवका कार्यक्रमलगायत ब्रतारम्भ तथा समाप्ति र नयॅा घर तथा बहुमूल्य वस्तुहरु किन-बेच पनि गर्नु हुँदैन । यी बाहेकका नित्य नैमित्यिक कर्महरु, नित्यपूजा तथा पाठ, ध्यान, योग, रजोदोष शान्ति र अधिकमासमा गर्नु पर्ने श्राद्ध अधिक र शुद्ध दुबैमा गर्नुपर्छ, युगादि र मन्वादि श्राद्धकर्म अधिक शुद्ध दुबैमा गर्नुपर्छ ।

मलमासको लागि ब्रत विधान

नित्यपूजा तथा पाठ, ध्यानलगायतका नियमित कर्मसहित मलमासको समयमा ३३ मालपुवा वा अपुपम् बनाई दान गर्नु भनेर लेखिएको पाईन्छ । पापनाशक सूर्यनारायण भगवानको प्रार्थना गरी दाताले मलमासबाट उत्पन्न हुने मलको शुद्धी, पापको निवृत्ति र पुत्र पौत्र आदिको वृद्धिका लागि म मालपुवा दान गर्दैछु भनी दान दिनाले व्यक्ति निर्मल बनी सबै कामनाबाट परिपूर्ण हुनेछन् भनी विभिन्न पुराण आदिमा बताईएको पाईन्छ ।

नोट : यसपालीको श्रावण महिनाको २ गते अर्थात् जुलाई १८ देखि सुरु भई अगस्ट १५ तारिख श्रावण ३० गतेसम्मको मलमास समाप्त भएको छ अमेरिकामा भने नेपालमा भोलि बुधवार समाप्त हॅुदैछ ।

श्रोतः विभिन्न पुराण तथा पुरुषोत्तम माहात्म्य र निर्णय सिन्धु आदि आधिकारिक ग्रन्थ विश्लेषण सारांश ।

प्रतिक्रिया