संस्कार/संस्कृतिले सम्पन्न नेपाल ज्ञानभूमि हो : अध्यक्ष ओली

इनेप्लिज २०८० साउन ३० गते ८:०४ मा प्रकाशित

काठमाडौ, नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाल विभिन्न चाडपर्व, संस्कृति र सम्पदाले सम्पन्न मुलुक भएको बताएका छन् ।

विश्वका कतिपय देशहरू ठूला र विकसित भएपनि नेपालमा जस्तो सम्वृद्धि संस्कृति र परम्परा अन्त नभएको उनले दाबी गरेका हुन् ।

साउनको अन्तिम सोमबार पारेर भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न हिजो साँझ त्यहाँ पुगेका एमाले अध्यक्ष ओलीले नेपालमा गौरवपूर्ण सनातन परम्परा, संस्कृति रहेको स्मरण गरे । त्यसको संरक्षण गर्दै नेपाल र विश्वासलाई नै अघि बढाउन देशका महान विभूतिहरूले महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।

‘कतिपय विकसित देशहरूमा सनातन परम्परा भन्ने कुरा नै छैन । कति देश ठूला छन् तर भर्खर बनेका छन् । जसमा कुनै संस्कृति विकास हुनै पाएको छैन । तर हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ,’ ओलीले भने ।

प्राकृतिक पक्षबाहेक प्रारम्भदेखि नै नेपालमा शिव, पशुपतिनाथ, रुद्र, शंकर, महादेव, केदारनाथ आदि मान्दै आएको पनि बताए । साउनको सोमबारलाई शैव समुदाय र नाथ सम्प्रदायले विशेष दिनका रूपमा मनाउने गरेको पनि ओलीले चर्चा गरे ।

डोलेश्वरलाई केदारनाथको शिर मानिने गरेको बताउँदै ओलीले शंकराचार्यले त्यसलाई प्रमाणित गरेको दाबी गरे । उनले नेपाल देवभूमि, अत्यन्तै पावनभूमि, यो तपोभूमि, ध्यानभूमि, ज्ञानभूमि भएको बताए ।

केदारनाथको शिर मानिने डोलेश्वरमा आरती दर्शन तथा टीका ग्रहण गरेका ओलीले त्यस क्षेत्रको विकास र सम्वृद्धिमा विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया