“भाईलाई एउटा चिठ्ठी”

इनेप्लिज २०८० साउन २९ गते २३:२७ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क, यु.एस. ए.

तिमीले पनि अन्यथा नलिनु भाई,
तिम्रो विचार धेरैले शेयर गरे भनेर मख्ख नपर्नु
छातीमा हात राखेर माटोलाई छोएर भन त
तिमीले कहिल्यै अमेरीकाको डि भि भरेनौ?
कि कुनै पनि बिदेशिने कार्यक्रम भित्र तिमी परेनौ?

भाई, पढ्न त तिमीले धेरै पढेको हौला
अमेरीका र अष्ट्रेलियाको लागि
कलेजको फ़र्म पनि भरेकै हौला!
कि बिदेशको कलेजले तिमीलाई पत्याएन?
कि बिदेश जाने ऋण दिन बैंकले पत्याएन?
लौ लौ आफ्नो आत्मालाई साक्षी राखेर भन त
देशको बेथिती र भ्रष्टहरु देखेर
कहिल्यै तिम्रा ति आँखा रसाएन ?

भाई,
तिमीलाई त हामीले कहिल्यै सरापेका छैनौं
तिम्रा साखा सन्तान भ्रष्ट पनि छैनन् होला
देशको मायाले मुटु दुःख्दा
देशलाई बेच्न खोज्ने नालायक र नामर्दहरुलाई
हामीले धारे हात लगायौं पनि होला
तर अचम्म लागेको कुरा,
तिमीलाई चाहीं किन त्यस्तरी पेट पोल्यो हँ?

भाई,
एकपटक भित्री आँखा खोलेर हेर त
देश कसरी चलेको छ?
रेमिट्यान्स नभित्रिने हो भने देशको अर्थतन्त्र?
अनि मनमा गुन नेपालमा भुकम्प जाँदा,
देशलाई बाढी पहिरोले डुबाउँदा
को छट्पटियो? देशको लागि को रोयो?
हाम्रा दाजु-भाई ,दिदी बहिनी भोको नपरुन् भनेर
ठाउँ ठाउँबाट कस्ले खानेकुरा सहयोग पठायो?
पानीले नभिजुन् भनेर कस्ले पाल पठायो?
जाडोले थर्थर नकापुन भनेर कस्ले ओढ्ने पठायो?

तिमी पो सायद हुने खाने होलाउ
भगवानको कृपाले कोरोनाले छुन सकेन होला
तर कोरोना कहरले गाँजेको बेला
देशमा अक्सिजनको खडेरी परेको बेला
देशको लागि भनेर खाई-नखाई डौडधुप गरेर
कस्ले सिलिण्डरका सिलिण्डर अक्सिजन पठायो?
अझै पनि तिमी हामीलाई गाली गर्छौ?

मान्छेको जन्म लिएपछि
सुख सयलको चाह कस्लाई हुदैन?
सन्तानको भविष्यको चिन्ता कस्लाई हुँदैन?
सुख सयल र शान्ति पूर्ण जीवन खोज्नु अपराध हो?
यदी हो भने,
हो, हामीले अपराध गर्यौ
देशलाई माया गर्नुलाई
गोहीको आँशु देख्छौ भने
भोलि हामीसंग केही गुनासो नगर्नु
देश भत्किंदै गएको हेर्न सक्छौ भने हेरारहु
हो हामी जहाँ पसिना बगाउँछौ
घण्टा हान्छौ,
ईमान्दारीको मानोमा रमाउँछौं,
मेरो देश र दाजु-भाई, दिदी-बहिनीहरुको
रक्षा गर भगवान भन्दै,
गिता गाउँछौं.हनुमान चालिसा पाठ पनि पढ्छौ!

हो, कुटो, कोदालो, खुर्पा, हँसिया
बिउ सबै तिम्रै हातमा छ।
त्यसले देशलाई खनेर ध्वस्त पार्ने हो कि
त्यसलाई सही परिचालन गरी
हाम्रो देशलाई सपार्ने हो
त्यसको जिम्मा पनि तिम्रै काँधमा छ!

“लौ ती भाईलाई पनि डि भि परेछ
देशमा कुटो कोदालो गर्छु भन्थ्यो
आखिर बिदेशको ज्यालदारी बनेछ
ऊ पनि बिदेश पलायन पो भएछ”
भन्ने यो कानले सुन्न नपरोस्!
देशको मायाले धरधरी रुन नपरोस्
भाई, तिमीलाई धेरै धेरै शुभकामना!

प्रतिक्रिया