वेस्ट इण्डिजले भारतलाई ८ विकेटले हरायो, सिरिज पनि जित्यो

इनेप्लिज २०८० साउन २९ गते २:३० मा प्रकाशित

एजेन्सी, भारतविरुद्धको टी–२० सिरिज वेस्ट इण्डिजले जितेको छ । गएराति सम्पन्न अन्तिम तथा पाँचौं खेलमा भारतलाई २ विकेटले हराउँदै वेस्ट इण्डिजले सिरिज ३–२ ले जितेको हो ।

निर्णायक खेलमा भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्ट इण्डिजले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि ब्रेण्डन किंगले आक्रामक पारी खेले । ५५ बलको सामना गरेका उनले ६ छक्का र ५ चौकाको मद्दतमा अविजित ८५ रन बनाए ।

टी–२० मा किंगको यो करियरकै उच्च स्कोर हो । यस्तै, निकोलस पूरनले ४७, शाई होपले अविजित २२ र कायल मेयर्सले १० रनको योगदान दिए । भारतका लागि तिलक वर्मा र अर्शदीप सिंहले मात्र १र१ विकेट लिन सके ।

त्यसअघि अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

उसका लागि सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । यस्तै, तिलक वर्माले २७, कप्तान हार्दिक पाण्ड्याले १४ र अक्षर पटेलले १३ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । वेस्ट इण्डिजका लागि रोमारियो सेफर्डले ४, अकेल हुसेन, जेसन होल्डरले २र२ र रोस्टन चेसले १ विकेट लिए ।

टी–२० सिरिजको पहिलो र दोस्रो खेलमा वेस्ट इण्डिज क्रमशः ४ रन र २ विकेटले विजयी भएको थियो । उसले तेस्रो र चौथो खेल भने क्रमशः ७ र ९ विकेटले गुमाउन पुग्यो ।

टी–२० अघि तीन खेलको एकदिवसीय र टेस्ट सिरिज भारतले आफ्नो पक्षमा पारेको थियो ।

प्रतिक्रिया