बुढ्यौली र समाधान

सीता ओझा २०८० साउन २६ गते १६:२४ मा प्रकाशित

बुढ्यौली (एजिंग) लाई नेपालीमा प्रौढता, वृद्धत्व वा जरावस्था भनिन्छ । बुढ्यौलीले बूढोहुने अवस्था वा बृद्ध उमेरमा प्रवेश गर्ने संकेतको रूप र त्यो अवस्थालाई बुझाउने संकेत देखाउनुलाई जनाउछ। बच्चा ,युवा,बयस्क र बुढेयौली आदि सबै उमेरहरू प्राकृतिक र स्वभाविक विषयहरू हुन्।तर हामीले अप्रासंगिक बनाउछौं र समस्या सृजना हुन्छ ।

बुढ्यौली मानव जीवनचक्रको अन्तिम अबस्था हो। यो प्रकृतिप्रदत्त नियम हो। बुढ्रयौलीमा शरीर कम्जोर हुनु,शारीरिक कमजोरी देखिनु स्वभाविक मानिन्छ । यो उमेरमा मान्छेले पहिलेको जस्तो फूर्तिका साथ हिँड्न,समाउन,सुन्न र देख्न नसक्ने हुन्छन्। उमेरको यहि प्रकृयालाईलाई बुढ्यौली लागेको भनिन्छ।

कुनै जीव अथवा पदार्थमा समय अनुसार हुने परिवर्तन/ परिवर्तनबाट देखिने गुणहरूलाई परिवर्तनको अवस्था मानिन्छ । वृद्धावस्था Ageing /या उमेरको बृद्धि Aging ) पनि यहि अवस्था हो र भनिन्छ ।

समय अनुसारको वृद्धत्त्व

क, प्रौढता वा वृद्धत्त्वका प्रारम्भिक चिन्हहरु
विशेषगरी यो तीस वर्षपछि नै सुरुवात हुन्छ भन्ने शरीरशास्त्रीय भनाइ छ ।
ख, प्राय : यो ४० वर्ष पछि इन्द्रियहरूमा आउने शिथिलताहरूले पनि त्यो अनुभव गराउदै जान्छ।
ग,सरकारी निकायमा सेवा निवृत्त उमेर ५८ वर्ष मानिएको छ । औंपचारिक रूपले ५८ वर्षबाट प्रारम्भ गरेपनि ६० वर्ष पुगेपछि जेष्ठ नागरिकको परिचयपत्र दिने चलन छ ।

विश्व विद्यालयको सेवामा निवृत्ति उमेर ६३ तथा कानुनी सेवामा ७५ वर्ष मानिएको देखिन्छ । यसरी हेर्दा राज्यले नागरिक नागरिकविच जेष्ठताको विषयमा पनि विभेद गरेको छ । तसर्थ विभिन्न क्षेत्रमा बुढ्यौलीको समय सीमा पनि फरक छन् ।यस्तो भेदले बुढ्यौलीको कारण सेवा दिने र लिनेविच पनि समस्या सृजना हुन्छ र नकारात्मक सोचतिर जाने वातावरण बन्छ । यस्ता विषयमा राज्यले ध्यान दिन सकेको छैन् ।

पारिवारिक र सामाजिक दायित्व

वृद्धत्वको स्वभाविक र प्राकृतिक भए पनि यसले सीमा सृजना गरेको छ साथै पारिवारिक र सामाजिक दायित्व पूरा गर्ने र विदा लिने वातावरण बनाउने माध्यम हो ।

हिजो सत्र वर्षमा विवाह भएकी महिला ३५ वर्षको युवा उमेरमा हजुरआमा बन्थिन्न । ३५ वर्षको युवा उमेरमै नाती नातिनीहरु खेलाएर बसेको बेला उनलाई हजुरआमा भनेर बोलाउंदा उनको सामाजिक भूमिका वृद्ध हजुर आमाको जस्तै हुनु पुग्छ/ पुग्थ्यो तर उमेर त अशक्त बनेको हुँदैनथ्यो । समाजले तन्नेरी हजुरआमाको भूमिका बनाएको या परिकल्पना कहिले गरेको छैन । यस्ता विषय ख्याल नगर्दा मानिसलाई मानिसले उमेर हुँदाहुँदै वृद्ध बनाउछ र निष्कृय पार्छ । यता पनि हाम्रो ध्यान पुगेको छैन ।

जेष्ठ नागरिकहरूले आफुले प्राप्त गरेको अनुभव, ज्ञान र शिप पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने र नयाँले सिक्न खोज्ने चलन पनि पटक्कै देखिदैन ।यो उमेर र अनुभवको पहिचान हराउने या हराइ दिने सामाजिक चलन जस्तो बनेको छ । यस्तो कुराले व्यक्तिको आत्मसम्मानमा ठेस लाग्छ साथै कतिपय बेला इगो पनि बन्छ । इगोले अझै नकारात्मक बनाउन मद्दत गर्दछ ।

शारीरिक परिवर्तन

हरेक मानिसलाई शारीरिक परिवर्तनको आधारमा वृद्धत्व अनुभव हुन सक्छ । मानिसलाई वृद्धत्वले भकाइ,फुल्याई कहिले कपाल सेतो देखिएर,कहिले चाउरी परेर त कहिले कान नसुनेर,घुँडा दुख्दै अनेकौं शारीरिक समस्याले घेरिरहेको हुन्छ । जस्तै ऐनामा कपाल फुलेको वा निधार चाउरिएको देखेर वृद्धावस्था अनुभव गरेको हुनसक्छ । कुपोषण र उमेर हुनु अगावै धेरै कष्ट भोगको कारण मानिस छिटो प्रौढ देखिन सक्छ ।
” यहुदीहरुले हजारौं वर्षदेखि आफ्नो अस्तित्वका लागि गरेको संघर्ष र उनले भोगेको दुखको वर्णन गर्दै रजनीशले यहुदीहरूलाई प्रौढ जाती भनेको भेटिन्छ । “
त्यो उमेर र अनुभवको आधारमा भनेको हो भनेर लिनु पर्दछ ।

सक्रियतामा कमी

वृद्धत्वको प्रमुख पहिचान सक्रियतामा कमी हुनु हो । वृद्ध अवस्थामा बालकहरूको जस्तो स्वभाव हुनु वा देखिनु नै चञ्चलपन हो । हरेक मानिसको युवा अवस्थामा सक्रियता र वृद्धावस्थामा निष्क्रियता देखिन्छ । त्यो स्वभाविक सत्य हो ।

कोहि मानिस ८०-९० वर्षसम्म सक्रिय रह्यो भने त्यो उसको स्वास्थ जीवन पाएको कारण प्राप्त विशेषता भनेर मानिन्छ ।

प्रौढतालाई उमेर,अनुभव,दायित्व, शारीरिक र मानसिक सक्रियता साथसाथै सामाजिक र मनोवैज्ञानिक प्रभाव आदिको मिश्रण मान्न सकिन्छ/ मान्नु पर्दछ । कतिपय बेलामा यस्तो कुरा उमेर अनुसार नभएर खानपान,श्रम आदि विभिन्न कारणले पनि छिटो बुढो हुन्छ । यहीँ कारण समाजमा कोहि मानिस ८० वर्षमा पनि तन्नेरी झैं सक्रिय रहन्छ । त्यसको पनि अनेकौं प्रकारले हामी टिप्पणी गर्छौं ,स्वाभाविक लिन खोज्दैनौं,जान्दैनौं,जान्न खोज्दैनौं ।

प्रपन्नाचार्यले ३५ वर्षको उमेरमा ५ वर्षको बालक झैं कखरा पढ्न सुरु गरेका थिए । सत्यमोहन जोशी एक सय दुई वर्षमा पनि हिडडुल लगायत सबै काम गर्थे। प्रपन्नाचार्यले पढाइलाई निरन्तरता दिएर षड्दर्शनाचार्य बने ।

नोबेल पुरस्कार प्राप्त कवि रवीन्द्रनाथ ठाकुर वृद्ध उमेरमा पनि पच्चीस वर्षे तन्नेरी झैं ठांटिएर हिड्थे । बस्थे र आफुलाई सजाउन घण्टौ लगाउंथे ।
नेल्सन मण्डेलाले ८४ वर्षको उमेरमा ८० वर्षकी जाम्बियाका राष्ट्रपतिकी एकल महिलासंग प्रेम विवाह गरेको इतिहास हामीले पढेका छौ । यी अस्वभाविक कुरा होइनन् तर हामी अस्वभाविक मान्छौं ।अरू र हामीविचको अन्तरको यो पक्ष पनि चर्चा भएको छैन ।

पाका पुस्ता
कुनै देशको वृद्ध जनसङ्ख्याको पहिचानको आधारको आकारमा वृद्धि भयो भने त्यसलाई पाका पुस्ता वा पपुलेशन एजिंग वा सामामाजिक प्रौढताको रूपमा हेरिन्छ र भनिन्छ । प्रौढताको अध्ययन गर्ने विषयलाई जेरन्टोलोजी भनिन्छ । नेपालीमा यसलाई जराशास्त्र भन्दा हुन्छ। जरा संस्कृत शब्द हो र यसको अर्थ बुढ्यौली वा प्रौढता नै मानिन्छ र भनिन्छ ।

नेपालमा (बुढ्यौली) पाकापुस्ता

प्रत्येक जनगणनामा नेपालीहरूको आयु बढ्दो छ । प्राय : मानिस दिर्घ जीवन हुनुमा मानिसका चारवटा सुख जोडिन्छन ।
निरोगीता,
धनसम्पत्ति,
पतिपत्नको मेलको सुख
आज्ञाकारी सन्तानबाट प्राप्त हुने आनन्दले प्राप्त हुने सुखलाई पहिलो सुख मानिन्छ ।

त्यस्तै बालकहरूको संख्याको तुलनामा पाका पुस्ताको संख्यामा दीर्घकालसम्म वृद्धि भयो भने त्यसलाई जनसङ्ख्याको वृद्धत्व भनिन्छ । अर्कोशब्दमा कुनै देशको जनसंख्या पिरामिडको तल्लो भागको तुलनामा माथिल्लो भाग फराकिलो हुंदै गयो भने त्यो जनसङ्ख्याको वृद्धत्व हो ।
जेरन्टोलोजीमा उमेरको आधारमा वृद्धत्वको वर्गीकरण निम्न प्रकारले गरिएको भेटिन्छ ।

१. वृद्धावस्था ६५ वर्ष
२. युवा वृद्धावस्थामा ६५–७४
३. मध्य उमेर ७५–८४
४. अतिवृद्ध ८४ भन्दा माथि

सरकारी तथ्याङ्कको मापन अनुसार २००१ मा नेपालको वृद्धत्व, सूचकांक करीब १९ प्रतिशत देखिन्छ।हरेक जनगणनामा यो प्रतिशत निरनतर बढ्दो छ । जनसङ्ख्याको मध्यिका उमेर २९ वर्षभन्दा माथि छ भने देशमा वृद्ध जनसंखयाको मध्यिका उमेर भने १९ वर्ष मानिन्छ । तर आयु प्रत्याशाको दृष्टिले भने सन् १९६१ को ३१ वर्षको तुलनामा २००१ मा ६० वर्ष पुगेको हुन्छ- भनेर मानिन्छ । त्यस्तै पछिल्लो तथ्यांकले पनि यस्तै ग्यापलाई आधार बनाएको छ ।( श्रोत तथ्यांक विभाग )

पाका पुस्ता

जब देशको वृद्ध जनसङ्ख्याको आकारमा वृद्धि हुन्छ त्यसलाई पाका पुस्ता वा पपुलेशन एजिंग वा सामामाजिक प्रौढता भनिन्छ/ भनिन्छ ।
जरावस्थाका कारणहरु

मानिस किन जरावस्था (वृद्ध र अशक्त) मा पुग्छ । यसबारेमा निम्नलिखित सिद्धान्तहरु प्रतिपादन गरिएका छन्

१. उमेर बढ्दै जादा अंगहरु खिईंदै जान्छन र वृद्धावस्था हुन्छ ।
२. निश्चित उमेर पछि कोषहरु वृद्धि हुने प्रक्रिया रोकिन्छ ।
३. उमेर बढदै गए पछि मानिसमा रोग प्रतिरोध क्षमता घटदै जान्छ ।
४. जीवनमा विभिन्न संघर्ष गर्दै उमेर छिप्पिने भएकोले पछिल्लो उमेरमा काम,अनुभव र नेतृत्वको भुमिकाको कारण अपनत्व खोज्दाखोज्दै मानसिक रूपमा असन्तोषी हुन्छ । यी सबै कारणले वृद्धावस्था उत्पन्न हुन्छ ।

धर्मशास्त्रमा जरावस्था

धर्मशास्त्रहरूमा वृद्धावस्थाबारे विस्तृत विवेचना गरिएको छ । महाभारतमा चिरवृद्धको रूपमा लोमस ऋषि, पितामह ब्रह्मा आदिको नाम आउंँछ । ययातिले विषयभोग सन्तुष्टि पूरा नभएकोले आफ्नो छोरा पुरुलाई आफ्नो वृद्धावस्था हस्तान्तरण गरेर छोराको युवावस्था लिएको कथा पनि छ । सधैं युवारूपमा रहने बालखिल्य र सनत्सुजात ऋषिहरु पनि यसको उदाहरण हुन् ।

सनत्सुजातीयमा वृद्धावस्था

सनत्सुजातलाई एउटा प्रश्न गरिएको छ– मृत्यु किन हुन्छ ? उत्तरमा उनले भनेका छन् काम,क्रोध,तृष्णा चिन्ता आदि कराणले मानिसलाई रोग लाग्छ,रोग लागेको कारण जरावस्था र मृत्युलाई निम्तयाउँछ । अन्य कारणले या त्यतिकै त मृत्यु हुदैन । यी र यस्ता अवस्था पार पाउनेले अमरता प्राप्त गर्छ। वैज्ञानिक तथ्य मान्ने हो भने मृत्यु स्वभाविक हो ,छ र रहिरहन्छ ।

प्रौढ आश्रितता अनुपातमा

जनसङ्ख्या वृद्धत्वले वृद्धत्व सूचकांक बढाउंछ र प्रौढ आश्रितता अनुपात बढछ । बालक तथा कार्यशील समूहको जनसङ्ख्या घट्छ । यसले जनसङ्ख्याको संरचना परिवर्तन हुन जान्छ । यस्तै जनसङ्ख्या पिरामिडको स्वरूपमा परिवर्तन हुदै जान्छ ।

विकसित देशहरूमा वृद्धहरूको जनसङ्ख्या बढी भएकोले पिरामिडको माथिल्लो भाग फराकिलो भएको देखिन्छ । यसले जनसङ्ख्याको आयु र काम संरचनाको परिवर्तन हुन जान्छ । त्यो संकेताङ्कको आधारमा योजनाहरू पनि थप गरिन्छ , गर्नैपर्छ । उदाहरणका लागि नेपालको वृद्धावस्था सूचकांक १९ प्रतिशत छ भने यसको अर्थ हो प्रत्येक १०० जना मानिसमा १९ जना वृद्ध छन् ।

कुनै देशको वृद्धावस्था सूचकांक बढी छ भने त्यहाँ वृद्ध आश्रितता अनुपात बढछ । यसले देशको कुल उत्पादन क्षमता घट्ने सङ्केत पनि दिन्छ । वृद्ध आश्रितता अनुपातमा वृद्धिले निष्क्रिय जनसङ्ख्या बढाउने हुँदा यस्तो भएको वा देखिएको हो । सक्रिय जनसङ्ख्यामा कमी र आश्रित जनसङ्ख्यामा वृद्धिले देशको उत्पादन क्षमता घट्न जान्छ । वृद्धत्त्वले उत्पादनमा शिथिलता ल्याउन सक्छ ।

राज्यले ध्यान दिनुपर्ने विषय प्रारम्भमा प्रजननता कम हुँदा बाल आश्रितता अनुपात घट्न गइ आउने १० देखि १५ वर्ष भित्र देशको उत्पादन क्षमता बढ्छभन्ने अनुमान हुनुपर्छ ।पर्थ्यो तर पछि गएर आयु प्रत्याशामा वृद्धि र प्रजननतामा भएको कमीको परिणाम स्वरुप प्रौढ आश्रितता संख्या बढ्छ । बढेको देखिन्छ । तसर्थ बाल आश्रितता समाप्त भएपछि मात्र प्रौढ आश्रितता सुरु हुन्छ ,भन्ने देखिन्छ । बाल आश्रितता समाप्त भइ प्रौढ आश्रितता सुरु नहुञ्जेलसम्मको समयावधिमा युवा जनसङ्ख्याको बढी भूमिका हुन जान्छ । यो अवस्थामा कुल उत्पादन केही समयकालागि बढ्छ । यो अवस्थालाई जनसङ्ख्या अर्थशास्त्रमा जनसङ्ख्या झ्याल (पपुलेशन विन्डो) भनिदोरहेछ ।

काम अनुपातमा

सामान्यतः महिलाहरूको आयु प्रत्याशा बढी हुने भएकोले बुढयौलीले काम संरचना र काम अनुपातमा प्रभाव पार्न सक्छ । वृद्धत्वले काम अनुपात असन्तुलित हुन गइ महिलाको अनुपात बढ्न जान्छ ।

जन्मदर

पाका पुस्ता जति बढ्दै जान्छ जन्मदर पनि त्यति नै घटन थाल्छ । जैविकीय कारणले वृद्ध वृद्धामा प्रजननता अभाव हुन्छ । मृत्यु दरमा कमीको प्रभावले वृद्धत्वको घटना बढ्छ र जनसांख्यिकी संक्रमणको अन्तिम अवस्थामा वृद्ध जनसङ्ख्या तीव्र रूपमा बढन जान्छ । नेपालमा विगत ३० वर्षको अवधिमा ६५ वर्ष र सो भन्दा माथिको जसंख्या ५.८ प्रतिशतबाट बढेर ७.४ प्रतिशत भएको छ । सोही अवधिमा कुल प्रजनन दरबाट घटेर चार भन्दा पनि कम हुन पुगेको छ । वृद्ध जनसङ्ख्यामा वृद्धि हुनु अघि मृत्युदरमा कमी आउने र संगै आयु प्रत्याशामा वृद्धि हुने पनि हुन्छ ।

सन् १९६१ देखि २००१ को अवधिमा नेपालीको आयु प्रत्याशामा दोब्बर वृद्धि भएको देखिन्छ भने कोरा मृत्यु दर २७ प्रति हजारबाट घटेर १० प्रति हजार भएका छ अर्थात् यसमा लगभग तीन गुना प्रगति भएको छ । अहिलेको तथ्यांक हेरेर विश्लेषण गर्न बाँकी छ ।

सामाजिक आर्थिक प्रभाव

समाजले वृद्धहरूको स्वास्थ्य हेरचाहमा पारिवारिक र सामाजिक योगदान गर्नु पर्दछ । त्यसैले अहिले वृद्ध अवस्थाको व्यवस्थापन गर्न समाजमा वृद्धाश्रम निर्माण हुदैछन् तर सामाजिकआर्थिक रूपले भावनात्मक र भौतिक व्यवस्थापन गर्न अझै केही समय कठिन छ ।

सरकारले वृद्धावस्था भत्ता पेन्शन तथा वृद्धहरूलाई आवश्यक पर्ने अन्य सुरक्षा र सुविधाकालागि केही व्यवस्था गरे पनि नियमित बजेट बनाउनु बाँकी छ।
उनीहरूको उमेरको कारण उनीहरू यथास्थिति र परम्पराप्रिय हुन्छन् भन्ने मान्यता छ । जस्तै : ” एउटी ८०-९० वर्षकी आमाको लागि फरिया किन्न पर्यो भने आफ्नै सन्तानले पसलेपट्टी फर्केर हातको चोरी औंला कुप्रो पारेर पितृ भइसक्नु भएको छ,कान पनि सुन्नु हुन्न,कहिँ हिड्न सक्नु हुन्न ! उहाँलाई एउटा फरिया चाहिएको थियोे ।” भन्छौ, मातापिताको आर्जन अंश लिएर,उनीहरूको वृद्ध अवस्थाको स्याहार भाग पनि आफैंले राखेर पालेको ठान्छौं । यस्तो विचारले वृद्धवृद्धालाई सम्मान गर्यो त ? यस्तो विचार वैज्ञानिक र समान मानिदैन ।

अनुसन्धानले भनेअनुसार वृद्धावस्थामा देखिएको यथास्थितिवाद मानिसमा उसको तन्नेरी अवस्थामा रहेको मान्यता र विगतको अनुभव द्वारा निर्धारित हुन्छ । यथास्थितिवाद वृद्धावस्थाको विशेषता होइन । यस्ता अभिव्यक्तिले वृद्धहरूलाई भेद या अपमान गरेको हुन्छ । यो नयाँ पुस्ताले पहिचान गर्ने वातावरण राज्यले बनाइ दिनुपर्ने हुन्छ।

भारतमा आफ्ना वृद्ध आमाबाबुको जिम्मेवारी वहन नगर्ने युवा सन्तानलाई सन् २००६ देखि कानुनी दण्डको प्रावधान प्रारम्भ गरिएको छ।
वृद्धत्वमा स्वास्थ्य सम्बन्धी छुट्टै समस्याहरु हुन्छन् / आउछन् ।- जस्तै दृष्टिदोष कमजोरी, छिटो थाक्ने, खुट्टा सुनिने,निद्रा कम लाग्ने, खाना कम हुने,खोकी, जोर्नी दुख्ने, मुटुको व्यथा, सिरोसिस,खोकी व्यवहार, पार्किन्सन, केन्सर रोग आदि ।

सफल वृद्धत्वका लागि के गर्ने

हरेक मानिसकालागि बालपन र युवापन भूतकाल हुनसक्छ तर वृद्धावस्थाकाहरूको लागि त्यो उमेर र त्यसले दिएका विशेषताहरू अनिवार्य वर्तमान काल हुन भन्ने दृष्टिोणबाट वृद्धावस्थालाई बुझ्न सक्नु पर्दछ र यो उमेरलाई स्वाभाविक बनाउनु पर्दछ ।

वृद्धावस्थामा निम्न कुराहरूमा ध्यान दिनु पर्दछ
१. स्वस्थ र सक्रिय रहन निरन्तर प्रयत्न गर्नु पर्छ । निष्क्रिय हुनबाट बच्ने हर सम्भव प्रयास गर्नु पर्छ । यसका लागि कुनै सङ्घ संस्थामा आबद्ध भएर आफुले सक्दो जिम्मेवारी लिने र त्यसलाई पूरा गर्ने प्रयास गर्नु पर्छ ।
२. धेरै चिल्लो, गुलियो र तौल बढाउने खालका खानाहरु ४० वर्पषपछि खानु हुदैन । आवश्यक मात्रामा आराम लिने र निदाउने काम गर्नु पर्दछ।
३. रक्सी,मादक पदार्थ,धूम्रपान बन्द गरेमा धेरै रोगबाट छुटकारा पाउन सकिन्छ ।
४. आफ्नो परिवारका सदस्यहरूको अवस्था हेरी,सकेको सहयोग गनुृ र अनावश्क असन्तोष व्यक्त गर्ने बानी सुधार गर्नु पर्छ । घरपरिवारमा सबै उमेर समुहको कुरा सुन्ने र आवश्यक प्रशंसा गरेमा अझ बढी मेलमिलाप र सेवा प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
५. पढेलेखेका मानिसहरूले आफ्नो जीवनका अनुभव शेयर गर्न सक्छन् / गर्नु पर्दछ । यस्ता अनुभवलाई पत्रपत्रिका र भिडियो सामग्री मार्फत सार्वजानिक गरेको राम्रो हुन्छ ।

स्थानीय सञ्चार माध्यममा वृद्धहरुका लागि केही न केही कार्यक्रमहरू हुन्छन् ।त्यसमा भाग लिने वातावरण बनाउनुपर्छ ।

६. इजरायलको किबुज समुदायमा आयु प्रत्याशा सबभन्दा बढी पाइएको छ । कारण उनीहरूले सामुदायिक क्रियाकलापहरूमा आफ्ना प्रत्येक सदस्यलाई उसको क्षमता अनुसार केही न केही काम दिन्छन् । त्यो समुदायमा सेवा निवृत्ति भन्ने हुदैन । बढी वृद्धले अलि सानो र सजिलो काम गर्छन भने युवाले अलि गाह्रो र बढी खट्नु पर्ने काम गर्छन् । यो समुदाय गठन हुनु अघि किबुजहरूको आयु प्रत्याशा इजरायलमा नै सबैभन्दा कम थियो भनिन्छ ।

यसै गरी एकात्मक परिवार भन्दा संयुक्त परिवारमा वृद्धहरूले सुरक्षा अनुभव गर्ने हुँदा उनीहरूको आयुमा वृद्धि हुन्छ । आधुनिक एकल परिवारहरुमा वृद्धहरूले असुरक्षा अनुभव गर्दछन् ।

७. सेवा निवृत्त कर्मचारीहरुले आपसमा मिलेर क्लब गठन गर्ने । त्यहाँ एकअर्काको दुख साट्दा सबैले सन्तोष अनुभव गर्छन् ।उदाहरणका लागि एकल महिला र पुरूषहरू आपसमा भेट्दा निकै आत्मिय अनुभव गर्छन् । किनभने उनीहरूले एउटै खालका समस्याहरु बेहोरेका हुन्छन् ।
८. समूहमा घुलमिल हुन गाह्रो मान्ने वृद्धहरूले घरेलु पशुपक्षी पालेर आफ्नो एकलोपन कम गराउन सक्छन् । जस्तै रुचि अनुसार कुकुर, बिरालो आदि पाल्न सक्छन् ।

९. वृद्धहरु प्राय : केटाकेटीहरूसँग घुलमिल हुन्छन् । तसर्थ परिवारमा भएका साना केटाकटीहरूसँग समय बिताउनु दिनुपर्छ । परिवारमा वा आफ्ना वरिपरिका केटाकेटीहरूलाई माया गर्ने वातावरण बनाउन दिनु पर्दछ । स्वामी रामसुखदासले भनेका छन् – ” तिमीहरु खुशी रहन चाहन्छौ भने केटाकेटीहरुलाई चकलेट बाँड्ने गर । यस्ता साना कामले जेष्ठ /वृद्धहरूको एक्लोपन हटाउन मद्दत पुग्छ ।

१०. विभिन्न उमेर समूह र तिनीहरूद्वारा गरिएको प्रार्थना सभाहरूमा प्रौढ उपस्थितिको आवृत्तिको एक शोध अध्ययनमा पाइएको तथ्य- धार्मिक रूपमा बढी संलग्न मानिसहरु बढी स्वस्थ, बढी रोग प्रतिरोध क्षमता, सन्तुष्ट रहने बानी र कम डिप्रेसन पाइएको छ । त्यो आध्यात्मिकताप्रति अप्रत्यक्ष रूपबाट गडेको विश्वासको कारण हो । अध्यात्मबाट बाहिर रहेकाले पनि आफ्नो खुसीको पक्ष पहिचान गरि त्यहिबाट खुसी हुनु पर्दछ/ सक्छन् / सक्ने वातावरण बनाउनुपर्छ ।

मानिसको हुर्काइ र बुझाइको चेतले आध्यात्मिकता ,भौतिकवादी सोच / वैज्ञानिक पक्षको बाटो रोज्नु पर्दछ र खुसी प्राप्त गर्नसक्छ । सकिन्छ । प्रायः वृद्धहरुलाई धार्मिक कार्यमा संलग्नता गराई उपचार गर्ने गरेको पाइन्छ त्यो चाहिँ मानिसले धर्ममा विश्वास गर्छ भनेर अपनाएको बाटो हो । तर रुचि र आवश्यकता फरक हुनसक्छ भन्ने विषय विचार गरे अझै राम्रो हुने देखिन्छ ।

समाजको दायित्व

यो बाहेक वृद्धहरुप्रति समाजको पनि केही दायित्व हुन्छ । उनीहरूसंग ज्ञान र अनुभवको भण्डार हुन्छ ।त्यसलाई युवा पुस्तले हस्तान्तरण गरेर लिन सिक्नु पर्छ । वृद्धहरूलाई वृद्धाश्रम होइन सकेसम्म नजिकबाट ,स्नेह पुर्वक घरैमा सेवा गर्नु पर्छ -भन्ने भावना विकसित गर्नु पर्छ । परिवारको ममता र स्नेह जस्तो वृद्धश्रम हुन्न भन्ने कुरा परिवार तथा समाजले बुझ्नु पर्छ । सामाजिक आवश्यकता अनुसार वृद्धाश्रमहरूको निर्माण गर्नु पर्दछ तर सेवामूलक – व्यवसायिक होइन ।

वृद्धहरूको स्वास्थ्य सम्बन्धी छुट्टै समस्या हुने भएकोले राज्यले बाल अस्पताल र महिला अस्पतल जस्तै जेरन्टोलोजीसँग सम्बन्धित छुटटै वृद्ध अस्पतालहरूको स्थापना गर्नु पर्छ ।

निष्कर्ष

समाजमा वृद्धावस्थाबारे नकारात्मक धारणा हटाउने, वृद्धहरूलाई समाजका हितमा सक्रिय बनाउने र उनीहरूमा रहेको असीम ज्ञान र अनुभवबाट समाजले फाइदा लिन जान्नु पर्दछ ।

समाजले नयाँ पुस्तालाई वृद्धहरुलाई प्रेम र सम्मान दिनु जरुरी छ,जसले आफ्नो जीवनभर परिवार बनाउने विषयमा,समाजलाई सकेको र जानेको योगदान गर्यो । उसलाई उसको अन्तिम उमेरमा असम्मन प्रदान गर्नु नैतिक दृष्टीले अनुचित र धार्मिक दृष्टिले पाप कार्य हो भन्ने बुझ्नु पर्दछ । वृद्धहरूमा भएको सीप,ज्ञान र योग्यताको फाइदा प्राप्त गर्ने चौतारी निर्माण गर्दै आर्थिक सक्रियता प्रदान गर्न सकेमा वृद्धहरु आश्रित हुन पर्दैन साथै समाजलेउनीहरूबाट धेरै फाइदा प्राप्त गर्न सक्छ । सफल वृद्धावस्थाको लागि केही सभ्य वृद्ध, घरपरिवार, समाज र केही सरकारद्वारा योगदान गर्नु पर्दछ ।

सीता ओझा
२०८०/०४/२५
सञ्चालक
साझा प्रकाशन
केन्द्रीय कार्यलय पुल्चोक
[email protected]

खोजको आधारमा लेखिएको

प्रतिक्रिया