काठमाडौ, नेकपा एमाले अध्यक्ष केपी ओलीले सुन प्रकरणमा आवाज उठाएकैले सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह ‘पुरुष–परीक्षा’ पुस्तक सार्वजनिक कार्यक्रममा ओलीले सुन प्रकरणमा सबैको मुख बन्द गराउन कै लागि शर्मालाई हतकडी लगाइएको आरोप लगाएका हुन् ।
‘सुनिल शर्मा । फेक सर्टिफिकेट हो भने यो दुई दिनमा बनाएको हो नक्कली सर्टिफिकेट ? यही दुईदिनमा सरकारको आलोचना गरेपछि अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा गर भनेपछि, यसमा कमजोरी देखियो भनेपछि । दुईदिन बोल्नेबित्तिकै हतकडी ।
सुनिल शर्मा भागी हाल्छ त छानबिन गरे भयो नि त । पहिल्यै हतकडी ? ,’ ओलीले भने, ‘एउटा पत्र एउटा कारिन्दाले पठायो । अर्को ठाउँको कारिन्दाले हतकडी लगायो । भने सबको मुख बन्द गर्ने । सबको मुख बन्द ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमालेले यही सरकारको पालामा २२ पटक पास भएको सुन २३औँ पटकमा समातिएपछि गम्भीर छानबिनको माग गर्दा सरकारले त्यसविरुद्ध बोल्नेलाई समेत तारो बनाएको आरोप लगाए ।
‘जसको २२ पल्ट पास भइ सक्यो । अनि पास गर्नेले नै छानबिन गरेर अनि ढाकछोप गरेर हुँदैन यो गहिराइसम्म पुगौँ जरासम्म पुगौँ यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो हाम्रो,’ ओलीले भने, ‘भारत एकदमै गम्भीर ढंगले प्रश्न गरिराख्या छ । हाम्रो अर्थतन्त्रमा गम्भीर असर पर्यो ।
हाम्रो यस्तो ल्याप्सेस के भइराख्या छ त । अनि गर्ने गराउने आफैं अनुसन्धान गर्ने आफैं ? ’
प्रतिक्रिया