जनताका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता –मुख्यमन्त्री थापा

इनेप्लिज २०८० साउन २६ गते १२:११ मा प्रकाशित

विराटनगर, २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको जनआकांक्षालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘प्रदेश सरकारको प्रतिवद्धता’ पत्र सार्वजनिक गर्दै सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै यसको सुदृढ जगमा प्रदेश संरचनाको आवश्कता र महत्व आम जनतामाझ अनुभूति गराउने कुरा प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

अहिले प्रदेशमा उठेका र उठाइका तमाम प्रश्नहरुको व्यवहारबाटै जवाफ दिनुपर्ने आवश्यकता महसुस गरेको जनाउँदै कोशी प्रदेशको नामकरणको विरुद्ध भइरहेको आन्दोलनका माग र मुद्दाहरुलाई सहमतिको आधारमा सम्बोधन हुनु पर्ने दायित्व रहेको जनाइएको छ ।

‘कोशी’ नामकरणको विरुद्ध भएको जनप्रदर्शन एवं आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको दुःखद निधन पछि सहिद लिम्बूको कोशी प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त्त गर्दै आन्दोलनको दौरानमा घाइते हुनुभएका सबैको शीघ्र र पूर्णस्वास्थ्यलाभको काम पनि प्रतिवद्धता पत्रमा उल्लेख छ ।

प्रदेशको नामकरण प्रदेशवासीकै लागि हो । प्रदेशको नाममा प्रदेशवासीको अपनत्व÷स्वामित्व रहनुपर्छ भत्रे कुरामा कुनै दुइमत हुन सक्दैन । नामकरणप्रति उत्पत्र प्रतिक्रिया, असन्तुष्टि र विरोधलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेश सभाको कर्तव्य हो । प्रदेश सरकार यस विषयमा दृढ र प्रष्ट रहेको छ । प्रदेश सभामा रहेका प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक दलहरुबीच आपसी सहमति कायम गर्दै प्रदेशको नाममा उठेका सबै प्रश्नहरु लगायतका समस्या समाधान गर्ने सरकारको तर्फबाट प्रतिवद्धता मुख्यमन्त्री थापाले जाहेर गर्नुभएको छ ।

सबै आन्दोलनकारी पक्षले उठाएका जायज मागर मुद्दाहरुलाई सम्बोधन गर्न प्रदेश सरकार तत्पर रहेको जनाउँदै मुख्यमन्त्री थापाले यस कार्यमा आवश्यक सहयोगका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दलहरु, सङ्घर्षरत पक्षहरु र आम प्रदेशवासीमा हार्दिक अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री थापाले प्रदेशमा देखिएको डेङ्गु र लम्पी स्कीन रोगको नियन्त्रण एवं उपचारमा प्रदेश सरकार लागि परेको जनाउँदै प्रदेश सरकार जनताका समस्याबाट अलग हुन नसक्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मुख्यमन्त्री थापाले विपद्सँग जोडिएका सबै समस्यालाई सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको भन्दै सरकारले हप्ता १० दिनमा विश्वासको मत लिने तयारीमा जुटेको जनाउनुभयो ।

उहाँले पाँचथरमा दुई र संखुवासभामा दुई गरी चार वटा बेलिब्रिज निर्माण गर्ने प्रक्रिया अघि बढेको बताउँदै सुनसरीको धरानमा देखिको डुङ्गुको महामारीलाई नियन्त्रण, रोकथाम तथा उपचारका लागि अर्थमन्त्रालयसँग रु एक करोड माग गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया