रक्सी महात्म्य !

नवीन रायमाझी २०८० साउन २६ गते ०:०९ मा प्रकाशित

परापूर्वकालमा भगवान भेष बदलेर पृथ्वीमा मान्छेहरुको हालचाल बुझ्न आएछन, यहाँ उनले एउटा दुधवालासँग दुध माग्दा पैसा नलिकन दिन्न भनेछ तर रक्सी भट्टीको मालिकले सित्तैमा रक्सी पिउन दिएछ। त्यही समयमा भगवानले दुधवालालाई ‘तिम्रो दुध घर-घर लगेर बिक्री गर्नु परोस’ भनेर श्राप दिएछन्। तर, भट्टीवालालाई ‘तिम्रो रक्सी पिउन मान्छेहरु तिम्रै ठाउँमा आउनेछन’ भनेर बरदान दिएछन्।

यो प्रसंग कति सत्य हो, त्यो पङ्तिकारलाई थाहा भएन तर आजको परिवेशमा यो कुरा सत्य नै हो कि जस्तो लाग्छ।

भट्टी, बार, पब नामका रक्सी पिउने ठाउँहरु भरिभराउ छन् तर दुध बेच्ने किसानहरुलाई आफ्नो उत्पादन बिक्री गर्न निकै कठिन छ। सरकारले ‘मिल्क होलिडे’को नाममा दुध खरिद नगर्दा उत्पादन भएको दुध सडकमा पोख्नु पर्ने विडम्बना छ तर कुनै रक्सी भट्टीवालाले रक्सी नबिकेर सडकमा पोख्यो भन्ने आजसम्म सुन्नमा आएको छैन।

रक्सीले व्यक्तिको नैसर्गिक प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्छ। जस्तो कसैलाई नृत्य गर्ने इच्छा छ तर लोकलाजले भनेको समय र स्थानमा नृत्य गर्न सक्दैन भने त्यस्तो व्यक्तिले एक गिलास रक्सि पिउनेबित्तिकै नृत्य गर्न सुरु गरिहाल्छ। यस्ता उदाहरणहरु हामी सबैले वैवाहिक समारोहहरुमा देखेका छौँ। त्यस्तै सामान्य अवस्थामा गर्न नसकेको साहित्यिक कुराकानी, कविता वाचन वा गीत गाउने कला पनि रक्सी पिएपछि गरेको देख्न सकिन्छ।

रक्सीले व्यक्तिको आत्मविश्वास वृद्धि गर्न पनि मद्दत गर्छ। सामान्य अवस्थामा मुसा देख्दा पनि डरले सातो जानेहरु रक्सी पिउनेबित्तिकै बाघजस्तो भएको देखिन्छ। सामान्य अवस्थमा हाकिमको चाकडी गरेर नथाक्नेहरु रक्सी पिएर त्यही हाकिमलाई तथानाम बकिरहेको देख्न सकिन्छ। तर, यसको एउटा फाइदा के छ भने कतै त्यही कुराले हाकिम रिसायो भने ‘रक्सी लागेको बेला के-के भनियो थाहै भएन’ भनेर उम्किन पनि पाइन्छ।

रक्सीले व्यक्तिलाई प्रकृतिको नजिक ल्याउँछ। रक्सी लाग्दै गएपछि मान्छेमा क्रमस: प्रकृतिप्रेम बढ्दै जान्छ। रक्सीको आनन्द लिएपछि मान्छेहरु सडक, ढल, नालीजस्ता प्राकृतिकस्थलहरुमा मस्त सुतिरहेको देख्न सकिन्छ, रक्सी पिएपछि सुत्नको लागि ओछ्यान नै चाहिन्छ भन्ने हुँदैन। रक्सीले भाषाले आउने भिन्नता कम गर्न पनि सहयोग गर्छ। सामान्य अवस्थामा अंग्रेजी बोल्न नजान्ने वा जानेर पनि लाज मान्नेहरुले रक्सी पिउने बित्तिकै धाराप्रवाह अंग्रेजी बोलिरहेको देख्न सकिन्छ। यस्ता मान्छेहरुलाई सबैले देखेकै छन्।

रक्सीले व्यक्तिलाई उदार पनि बनाउँछ। सामान्य अवस्थामा झिंगाको बोसो निकालेर राख्नेहरुले पनि रक्सी लाग्दै गएपछि ‘मनी इज नथिङ्ग’ भन्दै पैसा खर्च गर्छन तर भोलिपल्ट रक्सीले छोडेपछि त्यो खर्च गरेको पैसा सम्झेर चुकचुक गर्छन्। त्यस्तै खल्तीमा फुटेको कौडी नहुनेहरुले पनि रक्सी पिएपछि ठुला-ठुला व्यापार गर्ने योजना बनाउन पछि पर्दैनन्।

रक्सी व्यवसायीहरुकाअनुसार नेपालको कुल राजस्वको २० प्रतिशत रकम रक्सीजन्य पदार्थहरुबाट मात्रै आउँछ र यो व्यवसायले करिब पाँच लाखलाई रोजगारी दिएको छ। उनीहरुको दाबीलाई मान्ने हो भने अर्थतन्त्रको यस्तो प्रमुख स्रोतलाई सरकारले त्यसैअनुसारको सम्मानित व्यवहार गर्नुपर्छ। सम्पूर्ण रक्सीबाजहरु देशको अर्थ व्यवस्थामा महत्व राख्ने ‘मोडल ट्याक्स पेयर’ हुन्। यिनीहरु शालीन ग्राहक हुन्, जुनबेला जति प्रतिशत भाउ बढे पनि यिनीहरुले जुलुस, धर्नाजस्ता सरकारलाई अफ्ठ्यारो पर्ने काम गर्दैनन्। मैले आजसम्म पेट्रोलको भाउ बढेको बेला भएकोजस्तो जुलुस प्रदर्शन रक्सीको भाउ बढ्यो भनेर गरेको देखेको छैन।

सामान्यतया DRINK भन्नाले रक्सी पिउनु बुझिन्छ। यसको एक-एक Alphabet एक-एक पेगको असरलाई लिएर बनाइएको छ। यदि एक पेग मात्र पिउने हो भने Digestion (पाचन क्रिया)को लागि राम्रो हुने भएर पहिलो अक्षर D लिइएको छ। दोस्रो पेग पिउने हो भने Relaxation (विश्राम)को लागि उपयुक्त हुने भएर दोश्रो अक्षर R लिइएको छ। तेश्रो पेग पिउने हो भने व्यक्ति Intelligent ( बुद्धिमान) बन्न जाने कारण तेश्रो अक्षर लिइएको छ चौंथो पेग पिउँदा कुरा Naughty बन्दै जाने कारणले चौंथो अक्षर N लिइएको छ र अन्तिममा पाँचौं पेग पिउँदा रक्सीले King (राजा) बनाइदिने हुनाले K अक्षर लिइएको छ। ‘ड्रिङ्क‘ शब्द यसरी भएको भएर कुनै पनि तरल पदार्थलाई ड्रिङ्क मात्र भन्ने चलन छैन।

त्यस्तै रक्सीलाई सुन्दरी युवतीको उपमा दिएर नेपाली, हिन्दी, उर्दुलगायतका भाषाहरुमा कथा, कविता, गीत, गजलहरु रचिएका छन्। साहित्य सिर्जना गर्न सहयोग गर्ने यस्तो अमूल्य वस्तुलाई राष्ट्रिय रुपमै सम्मान गर्न सके देशका सम्पूर्ण रक्सी प्रेमीहरुलाई पनि सम्मान गरेको मानिन्थ्यो, यो कुरालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनेछ भन्ने विश्वास गर्न सकिन्छ।

हालैको समाचारअनुसार जुम्लाको गुठीचौर गाउँपालिकाले रक्सी पिउनको लागि अनुमति पत्र (लाइसेन्स) लिनुपर्ने नियम लागु गरेर हाम्रो जीवनको अमूल्य रस सेवन गर्न बैधानिकता नै प्रदान गरेको छ, जसको लागि उक्त गाउँपालिकासँग सम्बन्धित सबै धन्यवादका पात्र छन्, त्यस्तो राम्रो कार्यको सिको गर्दै देश भरिका सम्पूर्ण गाउँ तथा नगरपालिकाहरुले त्यस्तो अनुमतिपत्र जारी गरेर रक्सी सेवनलाई सहज गर्नुपर्छ, साथै मदिरा सेवन निषेधित क्षेत्र तत्काल खारेज गर्नुपर्छ।

twitter@ naviinr

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया