डेङ्गुको परीक्षण गर्दा अधिकतम रु छ सय भन्दा बढी लिन नपाइने

इनेप्लिज २०८० साउन २२ गते २२:४६ मा प्रकाशित

विराटनगर,२२ साउन(रासस): विराटनगर महानगरपालिकाले डेङगु रोगको परीक्षण गर्दा अधिकतम रु छ सय भन्दा वढी लिन नपाइने आज यहाँ निर्णय गरेको छ।

महानगरपालिकाको समन्वयमा आज यहाँ बसेको सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।

डेङ्गुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक जनगुनासो आएपछि महानगरले वैठक राखि उक्त्त निर्णय गरेको हो ।

बैठकमा महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, वडा नं ३ नं का अध्यक्ष वासुबहादुर बस्नेत, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, निजी अस्पतालहरुको संस्था अफिनका अध्यक्ष डा. शंकर अधिकारी, कोशी अस्पतालका मेडिकल सुपरिटेण्डन्ट चन्द्रकान्त झा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रकाश कार्की, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, मोरङ सचिव स्वयम्भूनाथ कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, मेलानका केन्द्रीय उपाध्यक्ष प्रयाग पन्त, मेलानका प्रदेश सचिव जीतेन्द्र झा, मेलानका मोरङ अध्यक्ष दिनेश राउत, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम, न्यूरो अस्पताललगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख र प्रतिनिधिको उपस्थितिमा उक्त्त शुल्क निर्धारण गरिएको हो ।

विराटनगरस्थित न्यू मोरङ डाइगोनोष्टिक सेन्टरसहितका केही स्वास्थ्य संस्थाहरुले डेङ्गु परीक्षण गर्दा रु एक हजार आठ सय लिएको भन्दै महानगरमा गुनासो आएकोमा यसलाई सम्बोधन गर्न सबै स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गर्न सरोकारवाला सहमत भएका छन् । डेङ्गु महामारी फैलिएको समयमा जनताले राहत पाउने गरी सेवा दिन महानगर प्रमुख कोइरालाले आग्रह गर्नु हुँदै कोही कसैले जनताको अहितमा हुनेगरी काम गरेमा कारबाहीका लागि कडा कदम चालिने बताउनु भयो ।

अफिनका अध्यक्ष डा. शंकर अधिकारीले बैठकको अक्षरशः निर्णय कार्यान्वयन गर्न सबै स्वास्थ्य संस्थाहरुलाई आग्रह गर्नुभयो । महानगरअन्तर्गतको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेङ्गुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया