काठमाडौं, नेकपा (माओवादी) केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् ।
बुधबारबाट चलेको पार्टीको बैठकमा आफ्ना धारणा राख्दै नेताहरूले अध्यक्ष दाहालको कार्यशैलीमा असन्तुष्टि पोखेका हुन् ।
बैठकको चौथो दिन शनिबार आफ्ना धारणा राख्दै पार्टी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनले नेतृत्वलाई निरन्तर सहयोग गरे पनि आफूहरूप्रति हेर्ने दृष्टिकोण नबदलिएको गुनासो गरे ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेताहरूको व्यक्तिगत स्वभावमा अध्यक्ष दाहालले खेल्ने गरेको आरोप लगाए ।
पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीमा नेताहरूबीच अध्यक्ष दाहालले खेल्ने र गुट जन्माउने प्रयत्नहरू गरेको टिप्पणी गरे ।
उनले पार्टी महासचिव चयनका बेलाको प्रसंग उल्लेख गर्दै भने – ‘अध्यक्ष कमरेडले बेला–बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ ।
हामी तपाईंकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अध्यक्षलाई अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के ? ’
शर्माले पार्टीमा गुटबन्दी गरेको भन्ने अध्यक्षको आरोप अस्वीकार गरेको समेत बताए । माओवादीमा समाजवादी हुनु भन्दा पहिले लोकतान्त्रिक संस्कारलाई स्वीकार गर्न नेतृत्वलाई अनुरोधसमेत गरे ।
नेता शर्माले अध्यक्ष दाहालको कुरा जति स्वीकार गर्दै आए पनि व्यवहार राम्रो नपाएको दुखेसो पोखे । अध्यक्ष दाहाललाई जुनसुकै परिस्थितिमा आफूले साथ दिए पनि विश्वास नगरिएको भन्ने शर्माको भनाइ थियो ।
‘परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु’ – उनले भने – ‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि ।
तर, त्यसैलाई असहयोग ग¥यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’ कुनचाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? उनले अध्यक्षलाई प्रश्न गरे ।
पार्टीमा नयाँ नेताहरूलाई ठाउँ नछोडिने गरेको गुनासो गर्दै शर्माले थपे – ‘हाम्रो पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ । यसले युवाहरूलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएकै छ ।’
नेता वर्षमान पुनले पार्टीमा अहिलेनै अध्यक्ष दाहालको विकल्प नखोजेको भएपनि उत्तराधिकारी तयार पार्ने विधिको खोजी आवश्यक भएको बताए ।
पार्टी निर्माणका लागि गुट र उपगुट अन्त्य गरेर जानुपर्ने बताए । पछिल्लो सकय पार्टी नेतृत्वबाटै गुटगत राजनीतिक मौलाएको संकेत गद उनले भने – ‘पार्टीमा गुटउपगुट सबै अन्त्य गरेर बलियो पार्टी निर्माण गरौं, म योगदान गर्न तयार छु ।
हामीले अहिले नै नेतृत्वको विपक्ल खोजेका होइनौं तर, पार्टीमा उत्तराधिकारी तयार पार्ने विधिको खोजी गरेका हौं ।
नेपाल समाचारपत्रबाट
प्रतिक्रिया