पहिलो पटक बाल्यकालमा खाएको त्यो पेसन फ्रुट ( passion fruit) ! 

शशी के.सी २०८० साउन १९ गते १:४० मा प्रकाशित

अमेरिका, संसारभरबाट आएका मानिस बसोबास गर्ने देश , यॅंहा नपाउने केही छैन् । आजकल त नेपाली समुदाय पनि बढ्दैछ । जुम्लाको मार्सी चामल देखि गुन्द्रुक, मस्यौरासम्म पाईन्छ । मलाईं चाहीं कति खानु नेपाली कुरामात्र, अरू देशको पनि खानु पर्छ भन्ने लाग्छ र प्रत्येक पटक पसल जांदा नॅंया कुरा किन्ने कोशिश गर्छु । एकदिन पेसन फ्रुट देखें । कताकता पहिले देखे जस्तो पनि लाग्यो । घर ल्याएर खाएको त ओहो, बाल्यकालको स्कुल, होस्टेलको दिन पो याद आयो ।

हाम्रो स्कुल, होस्टेलको “मेडिकल बिभाग” फिनल्याण्डबाट आएका नर्सहरूले हेर्नु हुन्थ्यो । बिरामी हुंदाअसाध्यै सेवा गर्ने, जे पाए तेही गर्न नदिने, क्रिस्मसको बेला होस्टेलका सबैलाई उपहार दिने। हामी उॅंहाहरूलाई “ सिस्टर” भन्थ्यौं । उॅंहाहरू होस्टेलमा रहेका बिध्यार्थी बिरामी हुंदा बस्ने कोठाहरू र मेडिकल रहेकै किचेन, बाथरूम सहित भएको भागमा बस्नु हुन्थ्यो । त्यो बिल्डिगको पछाडी पट्टी सानो फुलवारी र करेसावारी पनि थियो । एउटा लहरे फलफुलको बोट माथि दोस्रो तल्लासम्म पुगेको थियो। तेसमा नपाकेको हरियो अम्बा वा भनुम एभोगाडो जस्तो फल झुण्डिएको देखिन्थ्यो ।

हामी होस्टेलका केटीहरूलाई तेता जान अनुमति थिएन्। अब केटाकेटी उमेर, जे नगर भन्यो त्यो त खोजी खोजी गर्नै पर्ने । पछि गाली र कुटाई नै खानु परे पनि । एकदिन म र एक जना दिदी मिलेर त्यो फल टिप्ने / चोर्ने बिचार गर्यो । बेलुका डिनर खाने बेलामा सबै किचेन तिर लागे। हामी बिस्तारै तेता लाग्यौं । साईन्स रूमको झ्याल खोलेर माथिबाट नदेखिने गरी बगैंचामा म गएं र हतार हतार दुई वटा फल टिपेर आएं। दिदीले झ्यालबाट कोही आए/ नआएको हेर्नु भयो । यस्तो डर लागेको थियो , अरू केटी लगायत सिस्टर र टिचरले देख्लान भन्ने ।

हातमा दुईवटा फल , चोर्ने मिसन सफल भयो । फल त गज्जबको रहेछ । हरीयो रंगको, सानो अम्बा जत्रो, बाहिर बोक्रा कडा, कटक्क टोकेको त , भित्रबाट गुलियो, अमिलो झोल आयो । कालो गेडा पनि हुने रहेछ । त्यो पनि मिठो थियो। ओहो, तेस्तो फल त जिन्दगीमा पहिलो पटक खाएको त्यो पनि बाल्यकालमा बदमाशी गरेर। तेसको स्वाद त अहिलेसम्म मुखमा नै पो झुण्डिएको रहेछ । जुन यत्रो बर्षपछि अमेरिकामा फेरी तेही फल खांदा याद आयो । त्यो सानो बेला त के नाम थियो फलको थाहा पनि थिएन । त्यो त “पेसन फ्रुट” रहेछ ।

यसको नेपाली नाम चाहीं “लहरे आंप” रहेछ । यो दक्षिण अमेरिकी रैथाने फल, यसमा सबैभन्दा बढी फाइबर पाइने रहेछ । लहरे आँपमा एन्टि अक्सिड्यान्ट तत्व पाइने भएकोले रिस घटाउने, मुटुलाई स्वस्थ राख्ने र रोगसँग लड्ने क्षमता विकास गर्दछ । आजकल नेपालको मध्य पहाडी भेगमा यसको खेती गर्न थालेका रहेछन्।

बाल्यकाल भनेको चाहीं जे जस्तो भएपनि जिन्दगीको संम्झना लायकको समय रहेछ । भन्छन् पनि “ childhood memory is best “ हो जे, जति जान्ने, बुझ्ने, सिक्ने भनेको बाल्यकालमा नै रहेछ ।बाल्यकालमा जानेका कुराले जिन्दगी भर बांच्न पनि काम लाग्ने रहेछ । अझ बाल्यकालमा खाएका खानेकुरा सधैं मिठो लाग्ने, घुमेको ठाउॅं संम्झना आई रहने अनि बाल्यकालका साथी सधैं झनै प्यारा लाग्ने ।

अझ, आजकल त सोच्छु र बेलाबेलामा मनमनै धन्यवाद पनि भन्छु ती स्कुल , होस्टेल र हाम्रा अघिल्ला पुस्ताहरूलाई जसले हामीलाई बाल्यकालमा सम्झाएर, गाली गरेरै भए पनि धेरै जिन्दगी भर कामलाग्ने कुरा सिकाईदिनु भएकोमा ।

म काठमाडौंको हाम्रोपालामा केटीहरू मात्र पढ्ने होस्टेल समेत भएको दुई स्कुल मध्ये महेन्द्र भवनमा पढेको हुं । हाम्रो होस्टेलको बिशेषता भनेको चाहीं सबै काम होस्टेल बस्ने केटीहरूले नै गर्नु पर्थ्यो ।गज्जब त तेती धेरै काम गर्दा पनि होस्टेलका केटीहरू कक्षामा प्रथम , दोस्रो सम्म हुन्थे । आखीर कामग र्दैमा पढाई बिग्रने पनि होईन रहेछ त । तेही होस्टेल बसेर पढेर कति जना केटीहरूले एसएलसीमा बोर्डमा पनि ल्याएको रेकर्ड छ ।

मैले जे जति खाना पकाउन , सिलाई बुनाई , करेसा बारीमा काम गर्न आदी काम सिकें, बाल्यकालमा स्कुल, होस्टेल बस्दा नै हो । गृह बिज्ञान र कृषी बिज्ञान पढ्नु पर्थ्यो । तेसको प्राक्टिकल कक्षामा बिभिन्न परिकार पकाउन, सिलाई बुनाई, घर सजावट देखि बारीमा तरकारी रोप्ने , गोडमेल गर्ने , मलपानी हाल्ने गर्नु पर्थ्यो । अतिरिक्त क्रियाकलाप कक्षा अंन्तरगत खेलकुद , चित्रकला, नाचगान, वादविवाद प्रतियोगिता आदी पनि स्कुलमा हुने गर्थ्यो।

घरमा चाहीं सबैका बुबा आमाले फुर्काएर केटाकेटीहरू , कसैलाई चिया मिठो पकाउन जान्ने, कसैलाई मालपुवा, कसैलाई खसीको मासु आदी भनिदिने गर्नु हुन्थ्यो । ओहो, हामी पनि फुर्केर“सबैभन्दा मिठो पकाउॅंछु “ भन्दै एकआपसमा कम्पिटिसन जस्तै गर्थ्यो । अहिले सोच्दा त उॅंहाहरूले त हामीलाई रमाईलो तरीकाले पकाउन सिकाउनु पो भएको रहेछ त जस्तो लाग्छ।

त्यस्तै घरमा पाहुना आउॅंदा बुबाआमाले बोलाएर “ नमस्कार “ गर्न लगाई हाल्ने । त्यो बेला कति रिस उठ्थ्यो । अझ कोही पाहुनाले त कतिमा पढ्ने, कुन बिषय सजिलो लाग्छ, कक्षामा कुन पोजिसनआउॅंछ आदी सोधेर हैरान पार्ने । तर अहिले सोच्दा सायद त्यो बेला त्यसरी नचिनेको मान्छे सॅंग बोल्ने बानी नलागेको भए । अहिले विदेशमा जोसॅंग पनि निर्धक्क, सजिलै बोल्न कॅंहा सक्थेहोला र !

हाम्रो पुस्ताले चाहीं कताकता हाम्रा संतान पुस्तालाई पढाई बिग्रेला वा पढुन मात्र वा उनीहरूको प्राईभेसी न तोड्ने भन्दै यस्ता उपयोगी, सधैं काम लाग्ने व्यवहारीक शिक्षा सिकाउन छुटाई रहेका पो छौंकी जस्तो लाग्छ । ईष्ट मित्रहरूको घर जांदा चाहे अमेरिका होस् वा नेपालमा , केटाकेटीहरू घरमानै भएपनि बोलाएर भेटाउने चलन नै छैन । उनीहरूले के, कस्तो उन्नति गरे भन्ने कुरा बाउ आमाले सोसलमिडियामा राखे वा भनेमात्र थाहा पाईन्छ। त्यस्तै कति केटाकेटीले त घरको काम फिट्टिकैजान्दैनन् । घरमा हुंदासम्म त ठिकै छ । तर एक्लै घरबाट टाढा बस्दा वा विदेश पढ्न जांदा त कसरीगर्लान आफै, सबै, खै ?

केही दिन अगाडी “टिकटक” हेर्दै थिंए । एउटा भिडियो जसमा मेयर बालेन बसेका र उनको अगाडी बिधार्थीहरूले ससाना कागजमा धन्यवाद भन्दै चिठ्ठी लेखेर टासेंको दुईवटा पोस्टर रहेछ । लौ के गरेछन् यिनले बिधार्थीहरूलाई र यसरी धन्यवाद लेखेर पठाए भनेर जिज्ञासा लाग्यो र गुगल गरेरयुट्युब, समाचार आदी खोज्न थालें । धेरै ठाउॅं अनेक कुराहरू भेटियो । तर पक्का के हो बुझ्न सकिन ।अरूतिर खोजी रहनु भन्दा बरू मेयर बालेनले चलाउने फेसबुक “ Balen “ मा नै गएर हेर्दा पक्का कुराथाहा पाईन्छ भन्ने लाग्यो र तेता हेर्न थालें।

खासमा केही महिना देखि का.न. पा भित्रका सामुदायिक बिध्यालयमा प्रत्येक शुक्रवार “ बुक फ्रि डे” गरेर बिभिन्न व्यवहारीक ज्ञान र सीप सिकाउने कक्षाहरू संचालन गर्न थालिएको पो रहेछ। फोटोहरूहेर्दा त स्कुलका केटाकेटीहरू खुशी भएर खाना पकाउने, पात गांस्ने, बत्ती कात्ने, कम्प्युटर चलाउने, म्युजिक बजाउने, फुलबारीमा काम आदी गर्दै गरेको देखें।

आहा, कहिलेकाहीं ससाना कुराले पनि मन अति खुशी पार्छ । त्यस्तै अनुभव भयो । जुन कुरा हाम्रा पुस्ताले गर्न सकेनौं भन्ने लागिरहेको थियो । तेही काम त एक नगर प्रमुखले पो गर्न थालेछन् । मेरो पनि धन्यवाद छ मेयर बालेनलाई !

हजार कदम हिंडन, पहिलो कदम त चाल्नै पर्छ । पछिल्ला पुस्ताको लागि पहिलो कदम हुन “बालेन” !

-शशी के. सी

शशी के.सी

लेखिका

प्रतिक्रिया