विराटनगर, १७ साउन । अपराधिक गतिविधिमा संलग्न दुई जनालाई कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले आज सार्वजनिक गरेको छ ।
अपराधिक गतिविधिमा संलग्न सुनसरी धरान उपमहानगरपालिका वडा नं १० पुतली लाईन स्थित लुकिछिपी बसिरहेका मोरङ लेटाङ नगरपालिका वडा नं १ निवासी नेत्रप्रसाद तिमल्सिनाको ३५ वर्षीय पर्वत भत्रे दिपक तिमल्सिना र धरान उपमहानगरपालिका वडा नं १४ निवासी पूर्णबहादुर तामाङका छोरा ३४ वर्षीय अनसन तामाङ छन् ।
निजहरुले साउन ५ गते बेलुकी ५ः१५ बजेको समयमा जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं २० स्थित सेउती पुल नजिकै जङ्गलमा दुई जना केटाकेटी मोटरसाइकल रोकी बसिरहेको अवस्थामा पक्राउ परेका व्यक्त्ति सहित तीन जनाका समूहले पुल नजिकै बसिरहेका केटाकेटी मध्ये केटीको गर्धनमा खुकुरी राखि पेस्तोल देखाई लुटपाट गरेको थियो ।
घटनामा केटीसँगै रहेका सुनसरी इटहरी उपमहानगरपालिका वडा नं ५ निवासी रोहित चौधरीले प्रतिकार गर्दा पक्राउ परेका अपराधी मध्ये तिमल्सिनाले गोली चलाएको थियो र गोली लागि घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना पछि फरार अपराधीलाई पक्राउ गर्न प्रहरी परिचालन पछि दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
फरार अर्का अपराधी पहिचान भइसकेकाले छिट्टै पक्राउ गरिने कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलाले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रमुख बाँस्तोलाले अपराधिक गतिविधिमा देखिएका यी अपराधीहरु विगतमा पनि अपराधका घटना गरी जेल जीवन विताएका र उनीहरु लागु औषध दुव्र्यसनी पनि रहेको बताउनुभयो । यिनीहरुले विगतमा पनि यस्तै प्रकृतिका तीन वटा घटना गरी लुटपाट गरेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रमुख बाँस्तोलाले जनाउनुभयो ।
प्रतिक्रिया