भारतले वेस्ट इण्डिजलाई २ सय रनले हरायो, सिरिजमाथि पनि कब्जा

इनेप्लिज २०८० साउन १७ गते २:४५ मा प्रकाशित

एजेन्सी, वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज भारतले जितेको छ । गएराति सम्पन्न निर्णायक तथा दोस्रो खेलमा वेस्ट इण्डिजलाई २ सय रनले हराउँदै भारतले सिरिज २–१ ले जितेको हो ।

भारतले पहिलो खेल ५ विकेटले जित्दा दोस्रो खेल ६ विकेटले गुमाएको थियो । घरेलु टोली वेस्ट इण्डिजले भने टेस्टपछि एकदिवसीय सिरिज पनि गुमायो ।

तेस्रो खेलमा भारतले दिएको ३ सय ५२ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ३५।३ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो ।

उसका लागि गुडाकेश मोतीले अविजित ३९, एलिक एथेनाजेले ३२, अल्जारी जोसेफले २६ र यानिक कारियाहले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

भारतका लागि शार्दुल ठाकुरले ४, मुकेश कुमारले ३, कुलदीप यादवले २ र जयदेव उनादकटले १ विकेट लिए ।

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५१ रन बनायो ।

उसका लागि शुभमन गिल, इशान किशन, कप्तान हार्दिक पाण्ड्या र सञ्जु सामसनले अर्धशतकीय पारी खेले । गिलले ९२ बलमा ११ चौकासहित ८५, इशानले ८५ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको इनिङ खेले ।

यस्तै, हार्दिकले ५२ बलमा ५ छक्का र ४ चौकासहित अविजित ७० तथा सञ्जुले ४१ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५१ रन बनाए । यस्तै, सूर्यकुमार यादव ३५ र ऋतुराज गायकवाड ८ रनमा आउट भए ।

वेस्ट इण्डिजका लागि रोमारियो शेफर्डले २, गुडोकश मोती, यानिक कारियाह र अल्जारी जोसेफले १र१ विकेट लिए ।

टेस्ट र वानडेपछि अब भारत र वेस्ट इण्डिजले पाँच खेलको टी–२० सिरिज खेल्नेछन् । टी–२० सिरिज बिहीबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया