कोशी अस्पतालले अनलाईन पूर्जा काट्ने र प्रयोगशाला रिपोर्ट हेर्ने कार्य सञ्चालन गर्ने

इनेप्लिज २०८० साउन १५ गते २२:४५ मा प्रकाशित

विराटनगर,१५ साउन । कोशी प्रदेशको सबैभन्दा ठूलो कोशी अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने नागरिक समाजले माग गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङ र निगरानी नागरिक समाजद्वारा आज यहाँ आयोजित कोशी अस्पतालको सेवा सुविधा सम्बन्धी समस्या एवं समाधानका विषयमा राजनैतिक दल एवं नागरिक समाजसँग छलफल कार्यक्रममा सहभागीहरुले अस्पतालको प्रयोगशालाको उपकरणको सही उपयोग गरी विरामीहरुलाई निजी अस्पतालमा पठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँहरुले जेष्ठ नागरिक, अपाङ,गर्भवती महिलाहरुलाई छुट्टै पूजा काटने व्यवस्था गर्नुपर्ने, दिउँसो सःशुल्क वहिरङ्ग सेवा सञ्चालन गर्नुपर्ने, चिकित्सकको सेवा अवधि वढाउनु पर्ने,एकद्वार प्रणालीबाट स्वास्थ्य विमा सेवा प्रदान गर्नुपर्ने जस्ता कार्य अविलम्व सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

छलफल कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले अस्पतालले उपलव्ध स्रोत साधनको अधिकतम उपयोग गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु पर्नेमा जोड दिनु भयो ।

अस्पताल विकास समितिका अध्यक्ष डा फरवर्ड शिलवालले नयाँ भवन निर्माण कार्य भइरहेकोले स्थान तथा दक्ष जनशक्तिको अभावले सेवा प्रभावमा केही अवरुद्ध भएको स्विकार गर्नु भयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा चन्द्रलाल झाले आगामी केही दिनभित्र अनलाईन पूर्जा काट्ने र प्रयोगशाला रिपोर्ट हेर्ने व्यवस्था गर्ने जानकारी दिँदै लावरवाही गर्न कर्मचारी र चिकित्सकलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका उपाध्यक्ष भक्ति माझी, नेकपा एमाले मोरङ उपाध्यक्ष बाबुराम कार्की,नेकपा माओवादी केन्द्र मोरङका देवानन्द यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोरङ अध्यक्ष मोहम्मद कादिर , जसपा नेपालका मोरङ अध्यक्ष राजकुमार यादव, रास्वपाका प्रदेश अध्यक्ष राजेश तिम्सिना, मोरङ अध्यक्ष यादव प्रधान, निगरानी समूहका मोहन भण्डारी, सचेत नागरिक समूहका निर्मल तामाङ, प्रा कृष्ण पोखरेलले लगायतले अस्पतालको शौचालय सफा राख्न, अपाङ्ग मैत्री एवं निःशुल्क वितरण गर्ने पर्ने ९६ प्रकारका औषधि विरामीलाई सहज उपलव्ध गराउनु पर्ने सुझाव दिनु भयो ।

प्रतिक्रिया