टोरोन्टो, नेवाः संस्कृति तथा नेपालभाषाको बिकास तथा संबर्द्दनको लागि दशकौं आगाडि देखि लागिपर्नु भएका अभियन्ता एवम “नेपाल संस्कृति” पत्रिकाका प्रधान ब्यबस्थापक सुरेन्द्र मान अमात्यले हालै क्यानेडियन नेवाःगुठीका पदाधिकारीहरुसंग भेटघाटको साथै नेपाल भाषाको उत्थानको लागि छलफल गर्नु भएको छ।
छलफल कार्यक्रममा उहाँलाई स्वागत गर्नु हुदै गुठीका अध्यक्ष प्रकाश प्रधानले नेवाः संस्कृति तथा भाषाको जगेर्ना गर्न गुठीले सो सम्बन्धि बिभिन्न कृयाकलापहरु गर्दै आएको बताउनु भयो। गुठीका महासचिब बिमल श्रेष्ठले गुठीले आफ्नो स्थापना काल देखिनै नेवाः संस्कृति तथा भाषाको उत्थानको लागि बिभिन्न कृयाकलाप गर्ने क्रममा स्थानिय समुदाय एवम बिस्वबिद्यालयहरु पनि संग सहकार्य गर्दै आएको बताउनु भयो। गुठीका सचिब सुमन राजबन्सी तथा कार्यसमिति सदश्य डा. कृष्ण कायष्ठले गुठीलाई बिभिन्न भौगोलिक क्षेत्रमा बिस्तार गर्नुको साथै अरु मुलुकका नेवाः संस्थाहरु संग सम्बन्ध राखि कार्यक्रम संचालन गर्नु पर्ने राय प्रस्तुत गर्नु भयो।
गुठीका उपाध्यक्ष उत्तम माकःजुले गुठीले नेवाः संस्कार तथा परम्परा सम्बन्धि कार्यक्रमको साथै नेपाली समुदायको आबश्यकता अनुसार नियमित रुपमा कार्यक्रम संचालन गर्दै आएको बताउनु हुदै नेपालभाषा शिक्षणको लागि आह्वान गरियतापनि समुदायबाट उल्लेख्य सहभागिता नआएको बताउनु भयो।
भेटघाटको अन्त्यमा अतिथि एबम साहित्यकार सुरेन्द्र मान अमात्यले नेपालभाषाको उत्थानमा बिस्वभरका नेवाः समुदायको एकताको आबश्यकता रहेको र सबैले आआफ्नो स्थानबाट अनुकुल भएसम्म नेपाल भाषाको प्रयोग गर्नु पर्दछ, जसले गर्दा नेपाल भाषाको बिकाश सहयोग पुग्न जान्छ भन्नु भयो। साथै उहाँले नेपालभाषा संस्कृतिको उत्थानमा आफ्नो अभियान जारी रहने र क्यानेडियन नेवाः गुथिको बिस्तार एबम अन्तरराष्ट्रिय सम्बन्ध बिस्तार गर्न आफूले सक्दो सहयोग गर्ने बिस्वास दिलाउनु भयो।
उहाँको क्यानडा भ्रमणको अबसरमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा नेपाल भाषाका साहित्यकार रुकमणी अमात्य, डा. रिद्दि प्रधान, रुपिन्द्र श्रेष्ठ तथा रुजिना श्रेष्ठको पनि उपस्थिति थियो। नेपाल भाषा अभियन्ता सुरेन्द्र मान अमात्य हाल बेल्जियममा बसोबास गर्दै आउनु भएता पनि नेपालभाषा र संस्कृति सम्बन्धि “नेपाल संस्कृति” पत्रिकाको ब्यबस्थापनमा निकै पहिले देखि सक्रिय रुपमा लागि राख्नु भएको छ।
प्रतिक्रिया