हिजोआज गाउँ सहरतिर लागेको छ
पिठ्युँमा सपनाको साम्राज्य बोकेर
गाउँका प्रत्येक
बाटा
गोरेटा
सडक
सबै सहरतिर जाँदैछन्
आऊ न ! एकपटक, हेरेर जाऊ
आफ्नो प्यारो गाउँ
के भन्नु सबै म्यासेजमा!
यहाँ कुशल मङ्गलै छ
तिमीले जस्तो छोडेर गएका थियौ ठिक
त्यस्तै त्यस्तै छ
बेठिक केही छैन
बर्खा लागेको छ
खेतमा छिपछिप हिलो नभए नि
पानी डावाँडोल छ
भ्यागुता कराउँदै छन्
सकिनसकी
स्याउँस्याउँती जुका उब्जेका छन्
पाखामा, पानीमा जताततै
तर हामी वास्ता गर्दैनौं
के गर्छन् र यी हाड नभएका लुर्केले?
वर्षमा एकचोटि निस्किएर
अर्कालाई चुसेर लाजले फेरि गुफा पस्नेले
ठुलो केही बिगार गर्न सक्दैनन्
अस्ति ठुलदाइले नुनले खुन छदाएपछि
जुकाले डाँडो काट्ये रे!
ठुली दिदी भन्थी_
‘मैले एकहुल जुका सहरतर्फ लागेको देखेँ।”
तिमीलाई सहरमा जुकाको पीर नभए नि
बारैमास लामखुट्टेले बेस्सरी
सताइरहेको छ नि?
खै!
के के नाउँ हुन् हुन्
यी लाम्खुट्टेले डोर्याउने बिमारका पनि
भन्नै आउँदैन हामीलाई त
अरू सबै ठिकै छ यता
त्यो माथ्लो गाउँको पँधेरो आज
जनशून्य भएको छ
कुवाभित्र झाउ पलाएको छ
ऐंजेरु बुटी पनि उम्रेको छ
हेर!
हाम्रो सुखदुःखको साक्षी
आज परित्यक्त छ
गाउँको त्यो भानुमञ्च पनि बिरानो भएको
धेरै वर्ष भयो
युवा “मुवी” मा व्यस्त छन्
बच्चाहरू “आँडिशन” दिन
सहर दगुरेका दगुरै छन्
बेलाबेला महिलाहरू भेला भई रहरले
यसो नाच्ने-गाउने गर्छन्
अरू सब ठिकै छ
बेठिक त केही छैन
असार छिर्न आँट्यो
गाउँ “बोलबम” जाने तरखरमा छ
भ्याइनभ्याई छ शिवका भक्तहरूलाई
साउन लाग्न आँट्यो
तल्लाघरे रामे काकाले
माटो बन्धक लगाइसके
मसिनी फुपूले खेतमाटो बेचिसकिन् गाइ-वस्तु,खसी-बाख्रा दुवैले मासिसके
उनीहरूलाई पनि छोरा-बुहारीले
सहरमै बस्न बोलाएका छन्
अब केही दिनमा उनीहरू पनि
सहरकै वासिन्दा हुन्छन्
हिजोआज बराल बाजेले कौसीमा बसेर
पाठ गरेको रामायणको त्यो मिठो सोर सुनिँदैन
कता हो! उनको “भिसा” पो बनियो रे
अ __SSS’ मेरिका जाने
अफसोस!
गाउँमा सिलोक हान्ने चलन पनि
अबदेखि उठ्ने पर्यो
कान्छीमाया झर्केबटुकोमा चिया फुक्दै
सहर जाने आग्रह गर्छे कान्छालाई
लाचार दृष्टिले हेर्छ कान्छो
शून्यतिर
चियाको तातो बाफसरी
दिशाहीन भई उडेका छन्
कान्छीमायाका सपना
कहिले गाउँ त कहिले सहर
अरू के भन्नु
सब ठिकै छ यता
®️®️®️®️
निलीमा आचार्य
विश्वनाथ असम
मो.__७६३५ ८५८ ३२९
प्रतिक्रिया