ग्लोबल टी–२० लिगमा सन्दीप र दीपेन्द्रको उत्कृष्ट प्रदर्शन

इनेप्लिज २०८० साउन १० गते २:२९ मा प्रकाशित

काठमाडौ, क्यानडामा जारी ग्लोबल टी–२० लिगमा नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

दुईरदुई खेल खेल्दा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका हुन् । जारी लिगमा सन्दीप सरे जगुआर्स र दीपेन्द्र मोन्ट्रियल टाइगर्समा आबद्ध छन् ।

गएराति सम्पन्न खेलमा सन्दीपसम्मिलित जगुआर्सले टोरन्टो नेशनललाई २० रनले हरायो । जगुआर्सको यो पहिलो जीत हो ।

उसले पहिलो खेलमा मोन्ट्रियलसँग ५ विकेटको पराजय बेहोर्दा दोस्रो खेलमा वर्षा बाधक बनेपछि अंक बाँडेको थियो । जगुआर्सलाई पहिलो जीत दिलाउन लेगस्पिनर लामिछानेको अहम् भूमिका रह्यो ।

उनले ४ ओभरमा २२ रन मात्र दिएर महत्वपूर्ण २ विकेट लिए । सन्दीपले कोलिन मुनरोलाई ४३ र अर्मन कपूरलाई १६ रनमा पवेलियनको बाटो देखाए ।

उनले पहिलो खेलमा ४ ओभरमा १७ रन दिएर २ विकेट नै लिएका थिए । दोस्रो खेलमा भने सन्दीपले वर्षा बाधक बन्दा २ बल मात्र फाल्न पाए ।

यस्तै, आज बिहान सम्पन्न खेलमा मोन्ट्रियलले भ्यानकुभर नाइट्सलाई ६ विकेटले हरायो । जारी लिगमा मोन्ट्रियलको यो लगातार तेस्रो जीत हो ।

मोन्ट्रियलको तेस्रो जितमा दीपेन्द्र सिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङमा ३ ओभरमा १६ रन दिएर महत्वपूर्ण १ विकेट लिए ।

ऐरीले पाकिस्तानी स्टार फखर जमानलाई ७३ रनमा आउट गरेका थिए । यस्तै, उनले ब्याटिङमा २२ बलमा २ चौकासहित अविजित २२ रनको योगदान दिए ।


पहिलो खेलमा ऐरीले २२ बलमा २ चौकाको मद्दतमा २८ रनको महत्वपूर्ण पारी खेलेका थिए । लगातार तेस्रो जित हात पारेको उनीआवद्ध मोन्ट्रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले ३ खेलबाट ६ अंक जोडेको छ । यस्तै, सन्दीपसम्मिलित जगुआर्स ३ अंकका साथ तेस्रो स्थानमा छ । अब जगुआर्सले चौथो खेलमा शनिबार बिहान मिसिसाउगा प्यान्थर्सको सामना गर्नेछ ।

यस्तै, मोन्ट्रियलले आफ्नो चौथो खेलमा बिहीबार बिहान ब्राम्टन वुल्भ्ससँग खेल्ने तालिका छ ।

प्रतिक्रिया