एउटा राक्षसको छोरालाई मान्छेको मासु खान मन लाग्छ र उसले आफ्नो बाउलाई ल्याइदिनका लागि अनुरोध गर्छ । बाउ गएर एउटा मरेको गाई लिएर आउँछ र छोरालाई खानका लागि दिन्छ । छोरो भन्छ, बाबा मैले त मान्छेको मासु मागेको थिएँ । बाउ, ठिक छ छोरा, तिमी यसलाई लगेर कुनै मन्दिरको अगाडि फ्याकिदेउ, म तिम्रो लागि मान्छेको मासु ल्याइदिने छु । बाउ पुनः फर्कन्छ र केही समय पछि, एउटा मरेको सुँगुर लिएर आउछ र छोरालाई दिन्छ । छोरोले भन्छ, बाबा मैले त मान्छेको मासु मागेको थिए, यो त फेरि सुँगुर ल्याउनुभयो । बाउ, चिन्ता नगर छोरा, अब तिमी जाउ र यसलाई लगेर कुनै मस्जिदको अगाडि फालिदेऊ, त्यस पछि भने म तिमीलाई पक्का पनि मान्छेको मासु ल्याइदिने छु ।
राक्षसको छोरा गएर, उसको बाउले भने अनुसार मरेको गाईलाई मन्दिरको अगाडि र मरेको सुँगुरलाई मस्जिदको अगाडि फालिदिन्छ र फर्किएर आउँछ । बाउ, छोरालाई हेर्दै, छोरा तिमीले मैले भने जस्तै गर्यो नि ? छोरो – बाबा, तपाईं ढुक्क हुनुहोस्, मैले ठ्याक्कै तपाईंले भने जस्तै गरेको छु । छोराको कुरा सुनेर बाउ खुशी व्यक्त गर्दै, ल राम्रो गर्यो, अब हेर म तिम्रो मान्छेको मासु खाने इच्छा कसरी पुरा गर्दोरहेछु ?
नभन्दै, एक छिनमा मन्दिरको अगाडि केही मान्छेहरु भेला हुन्छन् र त्यहाँ मरेको गाई फालिएको देखेर अत्यन्तै क्रोधित् बन्छन् – जो हिन्दू धर्म मान्ने मान्छे थिए । अर्को पटि मस्जिदको अगाडि पनि केही मान्छे भेला हुन्छन् र त्यहाँ मरेको सुँगुर फालिएको देखेर उनीहरु पनि अत्यन्तै क्रोधित् बन्छन् – जो इस्लाम धर्म मान्ने मान्छे थिए ।
हिन्दू दाजुभाइहरूले सम्झन्छन् गाई मारेर मन्दिर अगाडि फाल्ने काम यिनै मुसलमानहरुको हो । उता मुसलमान दाजुभाइहरू सम्झन्छन् यो सुँगुर मारेर हाम्रो मस्जिद अगाडि फाल्नेकाम यिनै हिन्दूहरुको हो । अब, यी दुबै समुहका बिचमा आरोप प्रत्यारोप सुरु हुन्छ । त्यो गएर गालीगलौजमा परिणत हुन्छ, र पछि गालीगलौजले मारकाटको रुप लिन्छ । त्यहाँ रक्तपात हुन्छ । उक्त लडाईमा दुबै पक्षका मान्छे मारिन्छन् ।
राक्षसी बाउ, खुसी हुँदै गएर, एउटा जवान मान्छेको मृत शरीर बोकेर लिएर आउँछ र आफ्नो छोरालाई दिदै, ल छोरा अब खाउ मान्छेको मासु । तिमीलाई यो पक्कै पनि मन पर्ने छ, किनकी यो मृत शरीर एकदमै तन्दुरुस्त जवान मान्छेको हो । छोरो, खुसी हुँदै धन्यवाद बाबा, अब भने मेरो रहर पुरा हुने भयो भन्दै उक्त मृत शरीर चिथोर्र्न थाल्छ ।
कथा त यतिमै सक्कियो । यो एउटा मिथक कथा थियो, यसलाई एउटा विम्बका रुपमा मात्र बुझौँ । र सोचौँ धरानमा अहिले उब्जिएको धर्म सङ्कट कतै तपाईं हामीलाई पनि आपसमा लडाई गराएर कुनै तेस्रो पक्षले फाईदा लिन खोजिराखेको त हैन नि ?
अहिले धरानमा जुन प्रकारको एउटा धर्म सङ्कटको स्थिती सिर्जना भएको छ, यो स्वाभाविक हो या यसमा कुनै अज्ञात तेस्रो पक्षको संलग्नता छ भन्ने बिषयमा हामी कसैलाई कुनै पनि ज्ञान छैन । त्यसैले यो विषयलाइ लिएर अहिले सामाजिक सञ्जालमा जुन प्रकारका उत्तेजक टिप्पणीहरु भइरहेका छन्, यो यसरीनै बढ्दै जाने हो भने, हामीले थाहा नपाईकन यसले अर्कै रुप लिनलाई धेरै समय नलिन पनि सक्छ । र जतिखेर हामीलाई सत्यताको बोध हुन्छ, त्यतिखेर धेरै ढिलो भइसकेको हुनसक्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एकरुपता सम्भव नहोला, तर एकता थियो र त्यो सधैं रहिरहने छ । अनेकतामा एकता नै हाम्रो देशको पहिचान हो । त्यसैले एकता बिथोलिने खाले अभिव्यक्ति (ललकार) कसैबाट पनि आउनु हुँदैन । त्यसमा पनि जिम्मेवार जनप्रतिनिधिहरुबाट त झनै आउनु भएन । यो विषयमा सम्बन्धित सबै समय मै होसियार बनौँ ।
रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)
[email protected]
प्रतिक्रिया