सत्य स्वीकार गरौँ, भ्रम मा बाँचेर फाइदा छैन 

इनेप्लिज २०८० साउन ७ गते १३:०७ मा प्रकाशित

पंक्तिकार अमेरिकाको सामाजिक, राजनैतिक र आर्थिक अबस्थाको बारेमा बहस गर्न सक्ने बौद्धिक हैसियत राख्दैन, तर यसै समाजमा बसोबास गर्ने भएको कारण धेरै कुराहरु देखिन्छ, सुनिन्छ र भोगिन्छ, जसलाई नकार्न सकिन्न. यता बसोबास गर्ने र आफुलाई सबै बिषयमा जानकार सम्झिने केहि मान्यबर हरुले मलाई नकारात्मक सोचले ग्रस्त र आफ्नै नेपाली दाजु भाइ को मात्र खोइरो खन्ने आरोप लगाएका छन्. एक महामानवले त् मलाई आफ्नो पहुँच प्रयोग गरेर यो पोर्टलमा कुनै पनि बिचार प्रकाशित गर्न रोक लगाइदिने कुरा पनि गरेका थिए. मैले आज सम्म कुनै पनि ब्यक्ति लाइ तोकेर उसको हँस्सी उडाएको छैन तर सत्य जे हो उजागर पनि त्यही गर्नु पर्छ भन्ने मेरो मान्यता छ र सदा रहने छ. अब यस कुरामा कसैलाइ आपत्ति छ भने त्यो उसको समस्या हो र त्यस्ता समस्या आफैले समाधान गर्नु पर्छ, अरुलाई तथानाम गाली गरेर एउटा रौँ पनि झर्दैन. यो लेखमा मैले उठाएका प्रसंगहरु लाई कसैले झुटो प्रमाणित गर्छ भने म अब उप्रान्त लेख्ने छैन तर बास्तबिक कुरा हो तर किन लेख्नु भन्छ भने त्यो उसको कमजोर मानसिकताको उपज हो. मेरो मतलब हामीले ठाउँ र जमाना अनुसार आफुलाई “अपडेट” र “अपग्रेड” गर्नु पर्छ, सिक्ने र बुझ्ने क्रम कहिले पनि अन्त हुँदैन.

पंक्तिकारको एउटा परिचित ट्याक्सी चलाउने काम गर्छन. बिहानको छ बजे देखि रातिको आठ बजे सम्म गाडी हाँक्दा तिघ्रा को पछाडी र फिला को छाला हलो जोत्दा जोत्दा गरेको गोरुको गर्धन जस्तो भएको छ अर्थात छाला मरिसकेको छ, तर उ आफुलाई सम्पन्न र खुशी देखाउन सामाजिक सन्जालमा किसीम किसीमको फोटो अपलोड गरिरहेको हुन्छ. मेरो बिचारमा अरुलाई आफु खुशी भएको देखाएर नाटक गर्नु भन्दा आफै भित्र बाट खुशी हुनु महत्वपूर्ण हो. यो मान्छे जिबन देखि खुशी छ भनेर कसैले प्रमाणपत्र दिनु पर्दैन.

त्यस्तै एउटा दम्पति छन् उनीहरुलाई “मेसिज” नामको महँगो पसल बाट मात्र लुगा किनेर लगाउनु पर्छ, तर पैसा हालेर किन्ने भए कुनै कुरा गर्नु पर्दैन थियो. उनीहरुले अमेरिकी सरकारले उपभोक्ता लाइ दिएको अधिकारको यसरी दुरुपयोग गरेका छन् कि सुन्दा पनि लाज लाग्छ. हरेक उत्सब तथा समारोह मा नयाँ लुगा किनेर लगाउने तर त्यसको लेबल तथा बिल जतन साथ् राख्ने, जब आफ्नो काम सकिन्छ त्यसपछि आफुलाई मन नपरेको भन्दै फर्काइदिने. त्यस्तै नेपाल बाट पाहुना आएको बेलामा किनेर ल्याएको ओछ्यान उनीहरु नेपाल फर्के पछि फिर्ता गरेको पनि पंक्तिकारले थाहा पाएको छ.

त्यस्तै अर्का पात्र छन् कुनै प्रसंग बिना नै आफ्नो काठमाडौँमा पाँच तल्ले घर भएको र प्रति महिना तिन लाख रुपियाँ आम्दानी हुने बताउँछन्. प्रथम त् जसको जति तल्ले घर भए पनि र जति आम्दानी भए पनि अर्कोलाई कुनै सरोकार हुने कुरा आएन, किनभने अर्कोले त्यो घर र पैसाको उपयोग गर्न पाउने होइन, जब उपयोग गर्न नपाउने कुरामा नै खुशी हुनु छ भने यो सँसारमा धेरै सम्पन्न मान्छेहरु छन् उनीहरुको महल जस्तो घर हेरेर खुशी भए भयो. , त्यसको तुलनामा मजदुरी गरेर कमाएको पैसाको कुनै औकात नै हुँदैन, त्यसैले मेरो बिचारमा यस्तो कुरा सबैलाई भन्नु उचित होइन. दोश्रो, नेपालमा जत्रो घर भए पनि यता छिंडी (बेसमेन्ट) मा सुत्नु परेको छ, यसरी उपभोग गर्न नपाए पछि त्यो घर हुनु र नहुनुमा के अर्थ रहन्छ?

त्यस्तै मेरो कमाइ यति र उति भनेर हैरान पार्ने अर्को बर्ग पनि छन्. सबैले आफ्नो क्षमता र योग्यता अनुसार कमाइ गर्ने हो त्यसमा पनि प्रचार प्रसार गर्दै हिड्नुको कुनै मतलब छैन. यतैका बिश्व बिधालय मा अध्यन गरेर “हाइ पेड जब” गर्ने हरु बाहेक सामान्य काम गर्ने हरुले कमाउने भनेको अधिकतम प्रतिदिन एक सय पचास डलर मात्र हो तर अपाङ्ग मान्छे हरुको स्याहार सुसार गर्ने, निर्माण क्षेत्रमा काम गर्ने हरुको यो भन्दा बढी कमाइ हुन्छ तर यस्तो काम यति कठिन हुन्छ कि जो पायो त्यो ले एक दिन होइन केहि घण्टा पनि गर्न सक्दैन. अब अमेरिकी सरकारको दृष्टिमा “लो इन्कम” गर्ने हरुले कमाई को के फुर्ति गर्नु?

अमेरिकालाई मान्छेहरु अवसरै अवसरको देश भन्छन, त्यस्तो अबसर कसले कति पायो वा केवल भन्नको लागि मात्र भनिरहेका छन् त्यो पंक्तिकार लाई जानकारी भएन तर अमेरीकाले सबैलाई बाध्यताबस भए पनि कडा परिश्रम गर्न भने सिकाउँछ. कडा परिश्रम गरेपछि परिणाम पनि राम्रै हुनेमा कुनै शंका छैन. समयको सदुपयोग गरेर काम गर्ने हो भने यो देशमा सबैलाई काम छ, यँहा बेरोजगार भनेको अल्छी मान्छे मात्र हो.

अन्तमा, मलाई राम्रो सँग थाहा छ यो लेख प्रकाशित भए पछि मैले इंगित गरेको प्रवृति लाई अङ्गीकार गर्ने पात्र हरुलाई रिस उठ्ने छ, र उनीहरु एक पटक म सँग फेरी रुष्ट हुने छन्, त्यस्तो अबस्थाको लागि म मानसिक रुपमा तयार छु. साथै यताका आफन्त हरुको कुरा सुनेर अन्ध बिश्वास गर्ने नेपालमा रहेका पाठक बर्ग सँग उता बसेर यताको बारेमा सोच्नु बिल्कुल फरक भएको कारण कुनै धारणा नबनाउन बिनम्र अनुरोध छ.

@twitter#naviinr

–नवीन रायमाझी

प्रतिक्रिया