“काराब्राम बहु सांस्कृतिक मेला” २०२३ मा नेपाली समुदायको गौरबपूर्ण  सहभागिता

इनेप्लिज २०८० असार २८ गते १०:४९ मा प्रकाशित

ब्राम्प्टन (क्यानडा), कोबिद काल बाहेक प्रत्यक बर्ष आयोजना हुदै आएको यस बर्षको “काराब्राम बहु सांस्कृतिक मेला” २०२३ मा नेपाली समुदायले सहभागिता जनाई नेपालको सस्कृति, संगीत, पहिरन, जात्रा/पर्बको झलक, खाना ईत्यादिको सशक्त परिचय दिन सफल भएको छ । गत जुलाई ७ देखि ९ सम्म भएको तीन दिबशिय सो मेलामा नेपालको धनि बहुसस्कृतिलाई महत्व दिन्दै नेपाल मण्डप/कक्षको लागि छुट्टै सभाकक्षको ब्यबस्था गरिएको थियो।

कार्यक्रमको उदघाटन क्यानडाको लागि नेपाली कार्यबाहक राजदूत श्रीमती रोजिना ताम्राकारले कलात्मक सुकुन्दामा दीप प्रज्वलन गरि गर्नु भएको थियो। नेपाल र क्यानडाको राष्ट्रिय धून बाट शुरु गरिएको सो कार्यक्रममा उदघाटन मन्तब्य दिनु हुदै कार्यबाहक राजदूत श्रीमती ताम्राकारले बिदेशमा यस्तो खालको कार्यक्रमले गर्दा नेपालको प्रचार प्रसार हुनुको साथै पर्यटन उद्योगको बिकासमा सहयोग हुने र यसले मुलुकको आर्थिक बिकासमा पनि योगदान हुन जाने बताउनु भयो। साथै उहाँले बिदेशमा बसोबास गर्दै आउनु भएका महानुभाबहरुले आफ्नो मातृभूमिको प्रचार प्रसार कार्यको प्रशंसा गर्नु हुन्दै उहाँहरु सबै सास्कृतिक राजदूत हुन भन्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघिय सांसद माननिय सोनिया सिधुले सुन्दर नेपाल मण्डपको लागि नेपाली समुदायलाई बधाई दिनु हुदै यसले क्यानडाको बहुसास्कृतिक स्वरुपलाई अझ सशक्त बनाउन सहयोग हुन जाने बताउनु भयो। साथै उहाँले आयोजक समुहलाई आफ्नो तर्फ बाट प्रशंसापत्र पनि प्रदान गर्नु भयो।

कार्यक्रममा बोल्नु हुदै आयोजक संस्था एन.सी.एन.सी.का सभापति नर बहादुर क्षेत्रीले नेपाली संस्कृतिको प्रचार प्रसार गर्न यस्तो खालको कार्यक्रममा भागलिनु अत्याबश्यक भएको बताउनु हुदै यस्को लागि सबैको सहयोगको अपेक्षा गर्नु भयो। अर्को आयोजक संस्था क्यानेडियन नेवा गुठिका सभापति प्रकाश लाल प्रधानले क्यानाडेली सरकार आफैले नै “बिबिधतामा एकता” नारा अंगाली संस्कृतिको प्रबर्द्दनकोलागि आबश्यक बाताबरण शृजना गरि दिएकोले हामीले पनि आफ्नो संस्कृतिको संरक्षण र सम्बर्द्दनमा लाग्नु पर्ने कुरामा जोड दिनु भयो।

कार्यक्रमको अन्तिम दिन ब्राम्प्टन नगरका मेयर पाट्रिक ब्राउनले नेपाल मण्डप निरिक्षण पश्चात बोल्नुहुदै यस कार्यक्रमले ब्राम्प्टनको बहुसास्कृतिक बिशेषतालाई अझ थप बल पुग्ने बिस्वास ब्यक्त गर्नुको साथै आफ्नो नेपाल भ्रमणको अनुभब बारे पनि प्रकाश पार्नु भयो। साथै उहाँले बिस्वको सर्बोच्च शिखर सगरमाथाको नाममा ब्राम्प्टन नगरको एउटा उद्यानको नाम “सगरमाथा पार्क” नामाकरण हुने जानकारी दिनु भयो। कार्यक्रममा आयोजक संस्था एन.जे.ए.सी.का अध्यक्ष बीरकाजी गुरुङ्ले सबैको सहयोगमा नेपालको बिबिध संस्कृति क्यानडाको मूलधारमा प्रस्तुत गर्न सफल भएकोमा सबैलाई धन्यबाद दिनु भयो । सोहि कार्यक्रमका एन.सी. एन.सी.का अध्यक्ष पशुपति पोखरेल, सभापति नर बहादुर क्षेत्री, छबी शर्मा, क्यानेडियन नेवा गुथिका अध्यक्ष प्रकाश लाल प्रधान एबम प्राबिधिक सहयोगि बसन्त कार्कील लगायत्ले आ आफ्नो मन्तब्य ब्यक्त गर्नु भएका थिए। कार्यक्रममा सहभागि कलाकार, स्वयम सेबक, प्रायोजकहरुलाई प्रमाणपत्र पनि बितरण गरिएको थियो।

तीन दिनको सो मेलामा पहिलो दिन एन.सी. एन.सी., दोश्रो दिन क्यानेडियन नेवा गुठि र तेश्रो दिन एन.जे.ए.सी. ले संयोजन गरेका थिए भने कार्यक्रममा नेपालको सस्कृति अन्तर्गत हिमाल , पहाड, तराइका नृत्यहरु. जातिय पहिरन, हिमालयन भाइब्सको लोक धून, जात्रा/पर्बको झलक अन्तर्गत लाखे नृत्य तथा कुमारी प्रदर्शन गरिएको थियो। साथै अन्य सस्थाहरुको सहयोगमा भजन, लोक नृत्य एबम बिभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। नेपाली खानाअन्तर्गत सेलरोटी, अचार, मोःमो, जलेबी, लाखा मरीका बिभिन्न प्रकारहरु्को रसस्वादन गराउन बिक्रिको ब्यबस्था गरिएको थियो भने मण्डपमा नेपाली लुगा, टोपी,लगायत बिभिन्न सामाग्रीहरु पनि उपलब्ध थिए।

प्रतिक्रिया