सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्विकार गर्ने –मुख्यमन्त्री थापा

इनेप्लिज २०८० असार २४ गते १५:३८ मा प्रकाशित

विराटनगर,२४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्विकार गर्ने बताउनु भएको छ।

कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेकपा एमाले प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा हालेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्विकार गर्ने प्रष्ट पार्नु भयो ।

मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागु गर्नु पर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार गर्न हतारिएको बताउनु भयो ।

उहाँले प्रदेशको बजेट सम्बन्धी सम्पूर्ण कार्य अर्थसँग जोडिएकोले आर्थिक मामिला मन्त्री नियुक्ति गरेको हुँ भन्दै अर्थसँग जोडिएका कार्यलाई निकास दिनु सरकारको महत्वपूर्ण कार्य भएको धारणा राख्नु भयो ।

मुख्यमन्त्री थापाले प्रदेशमा गठबन्धन दलहरुवीच मन्त्री मण्डल गठनमा सहमती रहेको र यसमा कुनै विवाद छैन भन्दै नेकां दुई, नेकपा मोओवादी केन्द्र दुई, नेकपा एकीकृत समाजवादवादी एक , समाजवादी पार्टी नेपालले एक जना मन्त्री पठाउने निर्णय भएको जानकारी दिनु भयो ।

उहाँले वर्तमान सरकारले ३० दिन भित्र विश्वासको मत लिनुका साथै सोही अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिने बताउनु भयो ।

प्रतिक्रिया