-डा.दामोदर पुडासैनी किशोर
मृत्युले कसैलाई कुर्दैन
समयले निरन्तर रखबारी गरिरहेछ
हतार छ
तिमीलाईजस्तै मलाईपनि
समयका निधारमा बुट्टा काट्न
मृत्यु मेरो साथी हो
उ असाध्यै माया गर्छ मलाई
छोडदैन जीवनभरि
म रोएको बेला उ टुलुटुलु हेरिरहन्छ
सुमसुम्याइरहन्छ म हाँसिरहेको बेला
मैले रेसलिँड० , सकर र ब्याडमिण्टनमा जित्दा
सबैभन्दा धेरै खुशीको ताली बजाउँने उ नै थियो
म स्कूल र क्याम्पस जाँदा उ मसँगै हिँडेको थियो
धेरैबर्ष अफिस गएँ
त्यतातिरपनि उ सँगै थियो
उ बेला बेलामा बोस र उसका चम्चा बनेर गिज्याइरहन्थ्यो
अहिले घुमिरहेछु सँसारका छेउ कुनामा
मृत्यु मलाई जीवनको उज्यालो नछोड्न चेतावनी दिँदैछ
र , सम्भाल्दै सम्भाल्दै मारिरहेछ मीठो धाप
उ मेरो प्रेम हो
प्रेममै सर्वसुन्दर छ जीवन
प्रेम खरानी भएपछि
चकनाचूर सिसाका टुक्रा बाहेक
बाँकिनै के रहन्छ र अरू ?
उ सधैँ मलाई माया गर्छ
र झुक्याउन खोज्छ
म उसलाई माया गर्छु
भाग्न खोज्छु कतै टाढा
छिनाझपटी र लुकामारीमा
झाँगिरहेछ हाम्रो प्रेम
कुनैबेला
मेरी प्रेमिकाले जित्छिन्
म हार्छु
आफ्नै प्रेमिकाले जितेको बेला
मेरो हारको कुनै गुनासो हुनेछैन
तिमी
सँसारलाई आफ्नै मुठ्ठीमा अँठ्याउन खोजिरहेछौ
भागबण्डाको नाममा
उभ्याउन खोजिरहेछौ तीखा काँटी र कठोर जन्जीर
हडप्न खोजिरहेछौ अरू मान्छेका साँध सिमाना
सँसारका सबै खजाना मुठ्ठी, काँध , पिठ्यौ र खल्तिमा कोचेर
मलाई मृत्युको अघिल्तिर त्यति कुरूप देखिनु छैन
जन्मेदेखिनै म मृत्युलाई भेट्न चाहिरहेछु
उ मलाई रोक्छ
थुमथुम्याउँछ
र कानमै आएर फुसफुसाउँछ-
हतार नगर , हतारले मात्र कुनै काम बन्दैन
समय आएपछि
न तिमी तिम्रो यात्रालाई अघि बढाउँन सक्छौ
न म मेरो यात्रामा रोकिन सक्छु
आख़िर रित्तो छ समय
हामीलाई हतार छ
रित्तो समयमा बुट्टा भर्न
रित्तो समयमा कोरिएका बुट्टाहरूनै हुन्
कसैकोलागि
जीवनभरका गाढा र अमिट सँझना
डा.दामोदर पुडासैनी किशोर
सँयुक्त राज्य अमेरिका
प्रतिक्रिया