काठमाडौ, जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सातौं स्थानका लागि नेपालले आज टेस्ट टोली आयरल्याण्डको सामना गर्दैछ ।
यी दुई टोलीबीचको खेल हरारे स्पोर्ट्स स्टेडियममा दिउँसो पौने १ बजे सुरु हुनेछ ।
सुपर सिक्समा पुग्न वञ्चित भएपछि नेपाल र आयरल्याण्डले सातौं स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेपालले प्लेअफमा सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको जीत निकाल्दै आयरल्याण्डसँगको भेट पक्का गरेको थियो ।
आयरल्याण्डले सेमिफाइनलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल आज आयरल्याण्डलाई हराउँदै सातौं स्थान हासिल गर्न चाहन्छ ।
हालसम्म विश्वकप छनोटमा नेपालको उत्कृष्ट उपलब्धि आठौँ स्थान हासिल गर्नु हो । उसले सो उपलब्धि २०१८ मा जिम्बाब्वेमै भएको छनोट प्रतियोगितामा हासिल गरेको थियो ।
आठौँ स्थान हासिल गरेसँगै नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको थियो । आयरल्याण्ड नेपालविरुद्ध अपराजित यात्रा कायमै राख्न चाहन्छ । उसले नेपालविरुद्ध तीन टी–२० खेलेकोमा सबैमा जीत निकालेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा भने नेपाल र आयरल्याण्डले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । हालसम्म नेपालले टेस्ट टोलीविरुद्ध एकदिवसीयमा जीत निकाल्न सकेको छैन ।
यही प्रतियोगितामा नेपालले जिम्बाब्वे र वेस्ट इण्डिजसँग खेल्ने मौका पाएको थियो ।
समूह चरणको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ८ विकेटको हार बेहोर्दा अमेरिकालाई ६ विकेटले हरायो । तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रन र चौथो खेलमा नेदरल्याण्ड्सँग ७ विकेटले पराजित भयो ।
यस्तै, समूह ‘बी’ को आयरल्याण्ड पनि तीन खेलमा पराजित भएको थियो । ऊ पहिलो खेलमा ओमानसँग ५ विकेट तथा दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भयो ।
यस्तै, श्रीलंकासँग १ सय ३३ रनले पराजित हुँदा आयरल्याण्डले समूह चरणको अन्तिम खेलमा भने यूएईलाई १ सय ३८ रनले हराएको थियो ।
नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललितनारायण राजवंशी, प्रतिश जि।सी, अर्जुन साउद र किशोर महतो ।
आयरल्याण्डको टोली : पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कान टकर, एन्ड्रयू बलबर्नी (कप्तान), कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डकरेल, ग्राहम ह्यूम, जोश लिटल, एन्डी म्याकबर्नी, ब्यारी म्याककार्थी, क्रेग योङ, पिटर मुर, मार्क आदिर र बेन ह्वाइट ।
प्रतिक्रिया