खेलकुदले मानिसलाई स्वस्थ्य बनाउँछ– प्रमुख कोइराला

इनेप्लिज २०८० असार १८ गते २१:३३ मा प्रकाशित

विराटनगर, १८ असार(रासस): विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई आज पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

महानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र शिक्षालयका प्राचार्य परिवेश पराजुलीले विजेता खेलाडीहरुलाई अवीर लगाएर मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

प्रमुख कोइरालाले पढाइसँगै अतिरिक्त्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल हुनुपर्नेमा जोड दिँदै खेलकुदले मानिसलाई अनुशासित बनाउने बताउनुभयो ।

उहाँले शारीरिक, मानसिक विकाससँगै खेलकुदले अनुशासित जीवन बिताउन मद्दत पुग्ने धारणा राख्दै बहुप्राविधिक शिक्षालयको विकासका लागि महानगर गम्भीर रहेको प्रतिवद्धता व्यक्त्त गनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, प्राचार्य परिवेश पराजुली र संयोजक संगीता पोखरेल लगायतले शिक्षालयको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

२०७७ साउन २७ गते स्थापना भएको शिक्षालयमा करिब ३०० विद्यार्थी अध्ययनरत छन् । हाल सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जियोमेटिक इन्जिनियरिङ अध्ययन हुन्छ । शिक्षालयमा थप तीन–चार वटा विषय अध्ययनका लागि तयारी भइरहेको संयोजक पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया