कोशी प्रदेश सरकार पुनः आफ्नो नेतृत्वमा निर्माण हुने– मुख्यमन्त्री कार्की

इनेप्लिज २०८० असार १६ गते १५:०७ मा प्रकाशित

विराटनगर,१६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः आफ्नो नेतृत्वमा प्रदेश सरकार निर्माण हुने बताउनु भएको छ।

अतिथि सदन विराटनगरको स्वर्ण जयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले आफ्नो नेतृत्वमा सरकार निर्माण गरी सुखी र समृद्ध प्रदेश निर्माण गर्ने अधुरा कार्य पुरा गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन दुध र चियामा अनुदान दिएको बताउँदै यस क्षेत्रमा सञ्चालित जुटमिललाई आवश्यक पर्ने कच्चा जुट उत्पादनका लागि कृषकलाई अनुदान , मलखाद तथा न्यूनतम मूल्य निर्धारण गर्ने विश्वास दिलाउनु भयो ।

उहाँले विराटनगरलाई राजधानी बनाउन आफनो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै महानगरले जग्गा उपलव्ध गराएमा हाललाई प्रदेश संरचना यस क्षेत्रमा निर्माण घोषणा गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले विराटनगर महत्वपूर्ण शहर भएकोले यसलाई पुरानो स्थितिमा फर्काउन वडा नं १९ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङशाला आगामी तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक आकर्षण गर्न स्विस सहयोगमा महानगर पश्चिम रहेको केशलिया नदीमा तटवन्ध सहित रमणीय क्षेत्र निर्माण गर्न डिपिआर गर्ने कार्य शुरु गरेको जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले कोशी नदी सबैको पहिचान एवं पुजनीय भएको बताउँदै प्रदेशवासीको साझा पहिचानको आधारमा प्रदेशको नामकरण ‘कोशी’ राखेको प्रष्ट पार्नु भयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अतिथि सदन नगरको गौरवको धरोहर भएको उल्लेख गर्दै नगरलाई सफा, सुन्दर र हरियाली बनाउन नागरिकले घर अगाडि दुई विरुवा रोप्नु र घर आङगन सफा राख्न आग्रह गर्नु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले समस्यामा परेको बेला जनतालाई मानवीय सेवा कार्यमा सदनले महत्वपूर्ण योगदान गरेको धारणा राख्नु भयो ।

अतिथि सदनका अध्यक्ष दिनेशकुमार गोल्छा, अतिथि सदन पुस्तकका सम्पादक लक्ष्मण नेवटिया, पूर्व अध्यक्ष ताराचन्द्र खतान र नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तलले सदनले विना भेदभाव सेवा कार्य गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा , स्वास्थ्य शिविर, गरीव विद्यार्थीहरुलाई पाठ्यपुस्तक लगायतका सामाजिक कार्य गर्दै आएको जानकारी दिनु भयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले सदनका पूर्व अध्यक्षहरुलाई सम्मान गर्नु भएको थियो ।

उहाँले अतिथि सदन ५० वर्ष पुस्तकको विमोचन गर्नु भयो ।मारवाडी समुदायको पहलमा विस २०२७ मा सदन स्थापना भएको हो भने यसले १७ कठृा जग्गा ओगटेको छ।

प्रतिक्रिया