बुर्किना फासोमा विद्रोहीको आक्रमण, ३९ सैनिकसहित ८० जनाको मृत्यु

इनेप्लिज २०८० असार १६ गते २:१० मा प्रकाशित

एजेन्सी, बुर्किना फासोमा सन्दिग्ध जिहादीले गरेको चारवटा आक्रमणमा कम्तीमा ३९ सैनिक र ४१ जना स्वयंसेवी लडाकू गरी ८० जनाको मृत्यु भएको सेना र सुरक्षा स्रोतले जनाएको छ ।

मध्य–नोर्ड क्षेत्रमा सोमबार भएको दुई सबैभन्दा घातक भिडन्तमा दर्जनौंको मृत्यु भएको बताइएको छ ।

सानमातेङ्गा प्रान्तको नोआकामा भएको भिडन्तमा सहायक बल ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्ड (भीडीपी)’ का ३३ जना सदस्यको मृत्यु भएको सेनाले शुक्रबार जनाएको छ ।

सेनाको एक वक्तव्यअनुसार उक्त झडपमा करिब ५० जना ‘आतङ्ककारी’ पनि मारिएका छन् र ठूलो परिमाणमा सैन्य सामग्री बरामद गरिएको छ ।

त्यही दिन विद्रोहीहरूले महिनौंदेखि घेरिएको जिबो शहरबाट निस्केपछि नाम्सिगियामा सैनिकहरूको सुरक्षामा रहेको खाद्य आपूर्ति गर्ने समूहमाथि एम्बुस आक्रमण गरिएको थियो ।

सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘एक हप्तामा भएका आक्रमण र प्रतिकारका क्रममा केही हिंसात्मक घटना भएका छन् ।

आक्रमणमा ‘३१ सैनिक, ४० सवयंसेवक लडाकू र तीन भिडिपी सदस्यको मृत्यु भएको छ भने विद्रोहीतर्फ पनि करिब ५० जनाको मृत्यु भएको छ ।’

आक्रमणपछि हराइरहेका एक दर्जन व्यक्तिको खोजी भइरहेको विज्ञप्तिमा जनाइएको छ । भिडिपीका एक स्थानीय अधिकारीका अनुसार सोमबार पूर्वी प्रान्त कोमोन्डजारीको गयारीमा तेस्रो आक्रमण भएको थियो जसमा चार जना स्वयंसेवकको मृत्यु भएको थियो ।

पश्चिमको बोलुक्ले डु मौहोन क्षेत्रको टिया क्षेत्रमा पनि मंगलबार सैनिकमाथि आक्रमण भएको थियो ।

‘दुर्भाग्यवश युद्धका क्रममा आठ सैनिकलाई घातक चोट लागेको छ र अन्य नौ जना सामान्य घाइते भएका छन्,’ सेनाले भनेको छ । उक्त भिडन्तका क्रममा ३० भन्दा बढी ‘आतङ्ककारी’ मारिएका छन् ।

सन् २०१५ मा मालीमा भएको जिहादी विद्रोहसँग जुधिरहेको विश्वकै सबैभन्दा गरिब राष्ट्रमध्येको एक बुर्किनामा अहिलेसम्म १० हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको एक गैरसरकारी संस्थाले जनाएको छ ।

द्वन्द्वका क्रममा कम्तीमा २० लाख मानिस विस्थापित भएका छन् । विद्रोहलाई फिर्ता लिन असफल भएकोमा सेना भित्रको आक्रोशले बुर्किना फासोमा गत वर्ष दुईपटक सैन्य विद्रोहसमेत भएको थियो ।

प्रतिक्रिया