विश्वासको मत सरकारले प्राप्त गर्न सकेनन्

इनेप्लिज २०८० असार १५ गते १३:१९ मा प्रकाशित

विराटनगर, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा राख्नु भएको विश्वासको मतको प्रस्ताव आज असफल भएको छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२८(४) बमोजिम मुख्यमन्त्री कार्कीले सभामा सो प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । मत विभाजनबाट मतको परिणाम अनुसार सभामुख बाबुराम गौतमले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले माग्नु भएको विश्वासको मत प्राप्त गर्न असफल भएको घोषणा गर्नुभयो ।

प्रदेश सभामा कुल सङ्ख्या ९३ जनामा ८९ जना सांसदहरुको उपस्थिति थियो ।

विश्वासको मतको लागि हिजै प्रस्ताव गर्दा उठेका प्रश्नहरुको जवाफमा आज मुख्यमन्त्री कार्कीले जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको र दलहरु मिलेर नै सरकार बनाउनु पर्ने स्थिति देखिएकाले विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गर्नुभएको थियो ।

उहाँले सर्वपक्षीय सरकार बनाउन आफू केही होचो हुनु परे पनि सह्य हुने धारणा राख्दै गएको पुस २४ गते बनेको यो सरकारले पुस २५ गते शपत लिएको बताउनुभयो ।

उहाँले संविधानको सर्वोच्चता कायम राख्न नेकपा एमालेले कुनै कसर बाँकी नराख्नै भन्दै प्रणालीलाई दोष देखाएर जिम्मेवारीबाट भाग्न नहुने तर्क गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले केही दिन पहिले पूर्वी पहाडी जिल्लामा बर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित परिवारलाई राहत, उद्धार, खोज कार्य भइरहेको बताउँदै पहिचानवादीहरुसँग सरकार इमान्दारीपूर्वक वार्ता गरिरहेको धारणा राख्नुभयो ।

कोशी प्रदेश सरकारमा सामेल जनता समाजवादी पार्टी का एक जना सांसद निर्मला तावा लिम्बूले गएको जेठ १८ गते र नेकपा माओवादी केन्द्रले असार २४ गते विश्वासको मत फिर्ता लिएको थियो ।

प्रतिक्रिया