मोरङमा वृक्ष रोपण

इनेप्लिज २०८० असार १५ गते १३:०८ मा प्रकाशित

विराटनगर, १५ असार(रासस): ‘सन्ततीका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ नाराका साथ देशभरी राष्ट्रिय वृक्षारोपण दिवस– २०८० बिहीबार उत्साहका साथ मनाएको छ ।

मोरङको लेटाङ नगरपालिकामा रहेको जनचाहना सामुदायिक वन उपभोक्ता समूहमा भव्य कार्यक्रम गरी यो दिवस मनाएको हो ।

सामुदायिक वन समूहको अध्यक्ष श्री खगेन्द्र नेपालको अध्यक्षमा, लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय, मोरङकाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेको विशेष आतिथ्यतामा वृक्षारोपण कार्यक्रम संचालन भएको थियो ।

उक्त कार्यक्रमको अवसरमा लेटाङ नगर प्रमुख लावतीले नगरलाई हरियाली बनाउने, सरसफाई राख्ने कुरालाई विशेष ध्यान दिने तथा प्राकृतिक श्रोत साधनलाई उचित ढङ्गले प्रयोग गर्ने कुरा बताउनु भयो ।

त्यस्तै गरी डिभिजन वन अधिकृत घिमिरेले आज यसवृक्षरोपण दिवसको अवसरमा यस सामुदायिक वनको आलावा अन्य छ वटा सामुदायिक वन, एक साझेदारी वन तथा धेरै निजी वन धनीहरुले वृक्षरोपण गरिरहेको जानकारी दिनुभयो ।

यसका लागि डिभिजन वन कार्यालय नर्सरी, सव डिभिजन वन कार्यालय १० वटा लगायत यस कार्यालयको अनुदानमा विभित्र छ वटा निजी नर्सरीबाट उत्पादन भएको बिरुवा निःशुल्क वितरण भएको उहाँले जानकारी दिनुभयो ।

हरियाली प्रवद्र्धन र वृक्षरोपण कार्यमा स्थानीय तहहरुबाट समेत सहयोग भइरहेको र भविष्यमा थप साथ सहयोग पाउने आशा राख्दै वृक्षारोपण कार्य पुण्यको काम भएकोले यसमा सबै जना बिरुवा रोपणमा सहभागी हुन डिभिजनल वन अधिकृत घिमिरेले आह्वान गर्नु भयो ।

त्यस्तै गरी सामुदायिक वन उपभोक्ता महासंघ, प्रदेश समितिका सदस्य अग्नी पौडेले सामुदायिक वन उपभोक्ता समूह, डिभिजनल वन कार्यालयका र स्थानीय तहसँगको समन्वय र सहकार्य गरी वन संरक्षण, वन विकास, उपभोक्ता समूहको सुशासनको कार्यहरु अगाडी बढाउनु पर्ने बताउनुभयो ।

उक्त वृक्षारोपण कार्यक्रममा २५० जना भन्दा बढी सरोकारवालहरु सहभागिता रहेको थियो । मोरङ जिल्लामा यस अवसरमा विभित्र सात वटा सामुदायिक वन, एक वटा साझेदारी वन तथा निजी नम्बरी जग्गामा गरी ११ हेक्टर भन्दा बढी क्षेत्रमा सात हजार ३२२ भन्दा बढी विरुवा रोपण भएको डिभिजन वन कार्यालय, मोरङका वन अधिकृत रामलखन ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया