ब्राम्प्टन, क्यानेडियन नेवाःगुठिले ” सेवानिबृत जीबनको लागि आर्थिक योजना” बारे जानकारी गराउने उद्देश्यले हालै एक सूचनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु हुदै महासचिब बिमल मान श्रेष्ठले गुठिले संस्कृति, परम्परागत कार्यक्रम बाहेक समसामयिक बिषयमा जानकारी दिने उद्देश्यले आज यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । सो जानकारीमूलक सत्र सी.पि.ए. क्यानडाको प्राबिधिक सहयोगमा आर्थिक साक्षरता कार्यक्रम अन्तर्गत संचालन गरिएको हो।
कार्यक्रमको महत्व बारे प्रकाश पार्नु हुदै प्रमुख बक्ता गुठिका पूर्ब सचिब तथा सी.पि.ए./ सी.जि.ए. एबम आर्थिक बिशेषज्ञ रबिन प्रधानले बिज्ञान तथा औषधिको बिकासले क्यानडाबासीहरुको औसत आयु बृद्दि हुदै गएको अबस्थामा सरकारबाट प्राप्त सुबिधा अपुग हुने भएकोले सेवानिबृत जीबन सहज होस भन्ने हेतुले यो सुचनामूलक कार्यक्रम आयोजना गरिएको हो भन्नु भयो।
बिषयगत प्रस्तुति प्रस्तुत गर्नु हुदै आफूले यो सत्रमा योजनाको आबश्यकता, रणनीति, उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग एबम सुझाबहरु बारे उल्लेख गर्ने र उठाइएका जिज्ञासाहरुबारे सम्बोधन गर्ने बताउनु भयो। सहज सेवानिबृत जीबनको्लागि कतिको बचत गर्नुपर्छ भन्ने बिषयमा ब्यक्तिको जीबन स्तर, बसाई, स्वास्थ्य, सम्पति, रुचि ईत्यादिमा भरपर्ने भएकोले ब्यक्ति अनुसार फरक हुन सक्ने बताउनु भयो।
सेवानिबृत जीबनलाई सुबिधाजनक र सरल बनाउन आबश्यक रणनीति्बारे चर्चा गर्नु हुदै उहाँले अधिकतम बचत नीति लागुगर्ने, आम्दानी बृद्धि गरि खर्च कम गर्ने, अधिक समय काम गरेर ढिलो अबकास लिने, आर्थिक सल्लाहकार संग सल्लाह लिने गर्दा सेवानिबृत जीबन सुखमय हुने बताउनु भयो।
त्यस्तै गरि उपलब्ध श्रोत साधन जस्तै आर.आर.एस.पि. (आफ्नो श्रीमान/श्रीमतिको समेत), करमुक्त बैंकखाता, सी. पि. पि., स्टक, बण्ड, म्युच्युयल फण्ड, जी. आइ.एस.को पनि उचित उपयोग गर्नु पर्ने, सम्भब भएमा सेवा अबकास ढिलो लिई श्रोत साधनको अधिकतम प्रयोग गर्नु पर्ने उल्लेख गर्नु भयो। उहाँले निर्धारित उमेर भन्दा पहिले नै सेवानिबृत हुन्दा पेन्सन कम हुने र ६५ बर्ष पछि सेवानिबृत हुन्दा बढि पेन्सन प्राप्त हुने जानकारी दिनु भयो भने कहिले सेवानिबृत हुने भन्ने कुरा उमेर, पेन्सनमा आफ्नो योगदान, बचत, जीबन स्तर ईत्यादिमा निर्भर हुन्छ भन्नु भयो।
क्यानडामा ओल्ड एज सेकुरिटी (बृद्द भत्ता) क्यानडामा बसोबास गरेको आधारमा प्राप्त हुने र स्व कार्यक्रमको लागि उमेर पुगेपछि सरकारद्वारा स्वत दर्तागरिने बताउनु हुदै पेन्सन पनि आफ्नो कामगर्ने कार्यालय/कम्पनी अनुसार फरक हुनसक्ने उल्लेख गर्नु भयो भने पेन्सनको लागि आबेदन दिनु पर्ने बताउनु भयो।
सेवानिबृत जीबन सहज र आनन्ददायी बनाउन उहाँले १० बुँदे सुझाबको क्रममा सल्लाहकार संग सल्लाह लिने, बुद्दिमतापुर्ण लक्ष निर्धारण गर्ने, कम्पनीको पेन्सन प्लानमा सहभागिहुने, नन रजिस्टर्ड इनवेस्टमेन्टमा बढि संलग्न हुने, आफ्नो सम्पतिको बास्तबिक आय सेवानिबृतजीबन योजनामा उल्लेख गर्ने, सरकार द्वारा प्रदान गरिएका करमुक्त एकाउन्ट/ बचत मौकाको उपयोग गर्ने ईत्यादिबारे जानकारी दिनु भयो। कार्यक्रममा सहभागिहरुको जिज्ञासाको उत्तर पनि सम्बन्धित बक्ता द्वारा प्रदान गरिएको थियो।
सोहि कार्यक्रममा गुठिका सह कोषाध्यक्ष चन्दा श्रेष्ठले आर्थिक साक्षारताबारे आफ्नो प्रस्तुति प्रस्तुत गर्नु हुदै सहज र सक्षम जीबन बिताउन अर्थको अहम भूमिका हुने भएकोले आर्थिक साक्षरता भएमा ब्यक्तिगत आर्थिक बजेट देखि लिएर उत्पादन मूलक लगानी एबम आर्थिक धोखाधडीबाट बच्न समेत सक्षम भै जीबनको भबिष्य सुखमय हुने बताउनु भयो।
कार्यक्रमको अन्त्यमा गुठिका अध्यक्ष प्रकाश प्रधानले कार्यक्रमका प्रमुख बक्ता, बक्ता तथा सहभागि सबैलाई धन्यबाद ब्यक्त गर्नु हुदै भबिष्यमा पनि यस्तै समसामयिक बिषयमा सूचनामूलक कार्यक्रम गर्दै जाने बताउनु भयो। कार्यक्रमको संचालन सहकोषाध्यक्ष चन्दा श्रेष्ठले गर्नु भएको थियो।
प्रतिक्रिया