‘एमालेले चाहँदैमा सरकार ढल्दैन, प्रचण्ड सही ढंगले नचले हामीसँग विकल्प छ’ : विश्वकर्मा, प्रचार विभाग प्रमुख, कांग्रेस

इनेप्लिज २०८० असार ११ गते २:३३ मा प्रकाशित

सरकारले ल्याएको बजेटले सत्ता गठबन्धन दलहरुबीच असन्तुष्टि बढ्दो छ । बजेटप्रति सत्ता पक्षकै सांसदहरुले असन्तुष्टि पोखिरहेका बेलामा सत्ता समीकरणको फेरबदलको चर्चा पनि चलिरहेको छ ।

सत्ता बजेटमाथि सत्तापक्षकै सांसदहरुले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत दबाबमा छन् । बजेटकै कारणले प्रचण्डलाई सरकार टिकाउन मुस्किल पर्ने देखिएको छ । संसदमा बजेट फेल भए सरकार ढल्छ । नेकपा एस, जसपा र जनमत पार्टीले यथास्थितिमा बजेट पारित नगर्ने अडानमा छन् ।

तर, प्रधानमन्त्रीले बजेट संशोधन गर्ने आश्वासन दिए पनि अर्थमन्त्री सकारात्मक छैनन् । बजेटले सत्तापक्ष विभाजित भइरहेको बेलामा कांग्रेस एमालेको सत्ता समीकरण बनाउने गृहकार्य भइरहेको पनि चर्चा छ ।

यही चर्चाका बीच शनिबार कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन ठीक ढंगले नचले फेरिने अभिव्यक्ति दिए । थापाले मात्रै नभएर शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रधानमन्त्री प्रचण्डलाई हटाएर एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई कुर्सीको अफर गरेको आरोप लगाएका थिए ।

बजेटको विषयले सत्ता गठबन्धन विभाजितको अवस्थामा किन पुग्यो ? बजेट संशोधन हुन्छ ? नभए सरकार ढल्ने हो ? एमाले र कांग्रेसबीच सत्ता समीकरण कति टाढा छ ? लगायतका विषयमा केन्द्रित रहेर कांग्रेसका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग गरिएको कुराकानीः

– बजेटको विषयलाई लिएर सत्ता गठबन्धन दल नै विभाजित भएका छन् । अब कसरी अघि बढ्छ ?

अहिलेसम्म हामीले बेलायती संसदको अभ्यास हामीले मानेका हौं । त्योअनुसार नीति तथा कार्यक्रम र बजेट संशोधन गर्ने अहिलेसम्म परम्परा छैन । त्यो प्रचलन नरहनुको कारण पनि निश्चित नगरी अन्योल नै रह्यो भने यसले अर्थतन्त्रमा अनियमितता सिर्जना गर्ने रहेछ ।

जस्तै करका दर हेरफेर गर्न थाल्यो भने त एउटामा बहस गरेर हेर्दा त अनन्तसम्म हेरफेर भइरहने भयो । त्यसले अन्य गैरकानूनी चलखेल पनि हुने भयो । त्यसैले लामो अभ्यासदेखि नीति तथा कार्यक्रम र बजेट चाहिँ संशोधन गर्ने पास भए सरकार पास हुने, फेल भए सरकार फेल हुने पद्धतिमा हामी अहिलेसम्म आइपुगेका छौं । तर, संसदमा अचम्म गरेर सत्तापक्षकै सांसदहरुको बीचमा बजेटको विषयलाई लिएर ठूलो टकराब भएको छ ।

बजेट संशोधन गरौं न भन्दा संविधानविपरीत हुने त होइन । संविधानमा बजेट पास गर्नुपर्छ नत्र सरकार फेल हुन्छ भन्ने कहीं लेखेको छैन । संशोधन नै गर्नुहुन्न भन्ने पनि केही लेखेको छैन ।

यो चाहिँ आश्चर्य भएको छ। आफ्नो पार्टीका मन्त्रीहरु हुनुहुन्छ । बजेट विनियोजन आफ्नै मन्त्रीहरुबाट भइरहेको छ । तर, बाहिर सांसदहरु चर्को चर्को गर्दै विरोध गरिराख्नुभएको छ । तर, यति हुँदाहुँदै पनि सत्तापक्षले पक्षमै मत हालेर बजेट पास गर्छ भन्ने लाग्छ । संशोधन हुनेपट्टि जान्छ जस्तो मलाई लागेको छैन । किनभने बजेट संशोधन गरे संसदीय अभ्यासलाई नै ट्वीस्ट गर्छ ।

– एकीकृत समाजवादीले त औपचारिक निर्णय नै गरिसक्यो । त्यो अवस्थामा सरकार संकटमा देखियो ?

बजेट फेल भयो भने सरकार फेल भइहाल्यो नि ! बजेट फेल भएपछि सरकार ढल्छ । पछि संसदको अवधि सकेर सरकारले अध्यादेशबाट ल्याउनुपर्ने हुन्छ । तर, बजेट संशोधन गरौं न भन्दा संविधानविपरीत हुने त होइन । संविधानमा बजेट पास गर्नुपर्छ नत्र सरकार फेल हुन्छ भन्ने कहीं लेखेको छैन । संशोधन नै गर्नुहुन्न भन्ने पनि केही लेखेको छैन ।

बजेट अहिले संशोधन गर्‍यो भने गलत नजिर बस्छ र भोलिका दिनमा पनि बजेट कहिले पनि पास गर्न नसक्ने परिस्थिति बन्नसक्छ । महिनौंसम्म छलफल गरिरहने, करका दर हेरफेर गरिरहने, राजस्वसम्बन्धी विभिन्न चलखेल हुने, मन्त्रीसँग अनैतिक डिलिङ हुनुका साथै भद्रगोलको स्थितिमा पुर्‍याउँछ । त्यसैले संशोधन गर्न मिल्दैन भन्ने हाम्रो बुझाइ हो । तर, अनुभवी पूर्वप्रधानमन्त्री, मन्त्रीहरु नै चर्को स्वरमा बोल्नुभएकाले किन यस्तो परिस्थिति बनिरहेको छ बुझ्न सकेको छैन ।

– प्रधानमन्त्रीले त बालुवाटारमा संशोधन गर्ने सहमति जनाउनुभएको भन्ने पनि आइरहेको छ ?

प्रधानमन्त्रीले त ठीक छ नि म संशोधन गरौंला भन्नुभयो होला । बजेटमा अंकहरुबाहेक भाषामा रकमान्तर गर्ने कुरा हुन्छ । जस्तो एक ठाउँमा धेरै पैसा गयो, अर्को ठाउँमा थोरै गयो भनेको बेलामा बजेट स्वीकृत भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर कहींको बजेट तान्ने र कहींको थप्ने गर्न मिल्छ । पहिला पनि गरिरहेको अभ्यास हो ।

कोभिडको बेलामा पनि सबै स्थानीय तहको बजेट केन्द्रमा तानेका थियौं । त्यस्तै अहिले पनि उहाँहरुसँग समझदारी गरेर बजेट पास गर्ने र त्यसभित्रको अन्तरवस्तुमा विशेषलाई असर नगर्नेगरी फेरबदल गर्छु गराउँछु भन्ने सहमति गरेर पास गराउन सक्नुहुन्छ । तर, बजेट नै संशोधन गर्छु भन्ने कुराको सम्भावना चाहिँ कमै देख्छु ।

समाजवादी मोर्चा नै बजेट फेल गर्छु भनेर लाग्ने भयो भने उसले अर्को पार्टनर खोज्ने हो । अर्को पार्टनर खोज्दै गर्दा हाम्रो विकल्प खोज्नुपर्ने आवश्यकता छैन । हामीले बजेटको विरोध गरेका छैनौं ।

– बजेटमा सत्ता गठबन्धनका अन्य दलले चर्को असन्तुष्टि पोख्दा कांग्रेसले कसरी हेरिरहेको छ ?

कांग्रेस अहिलेको सरकारसँग पनि असन्तुष्ट छैन । कांग्रेसका खास नेताहरु बजेटसँग पनि असन्तुष्ट छैनन् । अर्थात हाम्रो दल असन्तुष्ट छैन । त्यसैले कांग्रेस असन्तुष्ट नभएपछि असन्तुष्ट भएर जानु वा नजानु चाहिँ उहाँको कुरा हो ।

अहिले समाजवादी मोर्चा बनिसकेपछि मोर्चाभित्रको छलफलको विषय बन्यो । हाम्रो छलफलको विषय बनेन । समाजवादी मोर्चा नै बजेट फेल गर्छु भनेर लाग्ने भयो भने उसले अर्को पार्टनर खोज्ने हो । अर्को पार्टनर खोज्दै गर्दा हाम्रो विकल्प खोज्नुपर्ने आवश्यकता छैन । हामीले बजेटको विरोध गरेका छैनौं ।

गलत ढंगले बजेट संशोधन भएर गयो भने संसदीय अभ्यास र त्यसको भावनामाथि कुठाराघात भयो भने भोलिको दिनमा अस्थिरता निम्त्याउन थाल्यो भने कांग्रेसले सोच्नुपर्ने हुन्छ । अहिले माओवादीले सोच्नुपर्ने अवस्था छैन । उहाँहरुले समाजवादी मोर्चा बनाइसक्नुभएको छ । एउटाले बजेट प्रस्तुत गर्ने अर्कोले विरोध गर्ने, त्यो कसरी सम्भव हुन्छ ?

– स्थायित्वको लागि सोच्नुपर्ने हुनसक्छ भन्नुभयो । एमालेसँग सत्ता सहकार्यको सम्भावना कतिको छ ?

एमालेसँग मिल्ने सम्भावना छैन त भनेका छैनौं । प्रचण्डजीलाई एमालेले समर्थन गर्ने बेलामा हामीले प्रधानमन्त्री हाम्रै हुनुपर्छ भनिरहेको बेलामा पनि एमालेले कांग्रेसलाई प्रधानमन्त्री दिने भन्ने उच्च तहसम्मै छलफल भइसकेपछि धोखाघडी भएको कुरा सर्वत्र जाहेर छ ।

प्रचण्डलाई प्रधानमन्त्री छाड्न कांग्रेसका नेताहरु नचाहने, एमालेका नेताहरु कांग्रेसलाई प्रधानमन्त्री बनाउन चाहने परिस्थितिमा अन्तिममा एमालेले माओवादीलाई प्रधानमन्त्री बनाएको थियो । त्यसमा दुईवटा प्रयोग भयो । अझै एउटा प्रयोग हुन बाँकी छ । दुईवटा प्रयोग भनेको कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्ड एमालेकहाँ जानुभयो ।

कांग्रेसले मनस्थिति बदल्यो भने सत्ता ढल्यो । एमालेले ढाल्न खोज्दा कांग्रेसले मनस्थिति बदलेन यही सरकारलाई सहयोग गरिरहन्छु भन्यो भने त कांग्रेस, माओवादी, नेकपा एस, जसपाबाहेकका राप्रपा, रवि र एमाले मिलेर सरकार बन्दैन । त्यसलाई कांग्रेस र माओवादीबाहेकका सबै जानुपर्छ ।

एमालेको प्रधानमन्त्री बनिसकेपछि फेरि कांग्रेसको प्रधानमन्त्री बन्न आउनुभयो । अब कांग्रेसको प्रधानमन्त्री रहेको बेलामा पनि कसरी चलाउने भन्ने विषयमा ढंग पुगेन, सावधानी अपनाउनुभएन, सबैसँग समन्वय गर्नुभएन भने फेरि अर्को विकल्पमा गइरहन्छ संसदीय प्रक्रियामा ।

– एमाले नेताहरुले पनि हामीले चाहे एक हप्तामै सरकार ढाल्छौं भन्ने दाबी गर्न थालिसकेका छन् नि ?

त्यो चाहिँ उहाँहरुको भनाइ अलिक धेरै हावादारी भयो । एमालेले सक्ने भए त त्यहीबेला ढालिहाल्थ्यो नि ! एमालेले चाहँदैमा यो सरकार ढल्दैन । सक्दामात्रै ढल्ने हो । एमालेले त्यो बेला सक्छ, जतिबेला कांग्रेसले आफ्नो मनस्थिति बदल्दैन ।

कांग्रेसले मनस्थिति बदल्यो भने सत्ता ढल्यो । एमालेले ढाल्न खोज्दा कांग्रेसले मनस्थिति बदलेन यही सरकारलाई सहयोग गरिरहन्छु भन्यो भने त कांग्रेस, माओवादी, नेकपा एस, जसपाबाहेकका राप्रपा, रवि र एमाले मिलेर सरकार बन्दैन । त्यसलाई कांग्रेस र माओवादीबाहेकका सबै जानुपर्छ । कांग्रेस र माओवादीलाई बाहिर राखेर एमालेले टिपनटापनको सरकार बनाउनतिर लाग्छ जस्तो मलाई लाग्दैन । जुन काममा हामी लागेका छैनौं ।

– गठबन्धनमा पनि समाजवादी मोर्चा भनेर गठन भएको छ । त्यसलाई चाहिँ कांग्रेसले कसरी नियालेको छ ?

उहाँहरुको आफ्नो क्षेत्र र वैचारिक समूहभित्र सहकार्य गरेका साथीहरुमा कुनै सिद्धान्तलाई आधार मानेर समाजवादी मोर्चा गठन गर्नु कुनै आश्चर्यजनक कुरा होइन । हामीसँग मिल्ने लोकतान्त्रिक पार्टी थिए भने हामी पनि बनाउन सक्थ्यौं ।

हामीसँग मिल्ने लोकतान्त्रिक चरित्र भएका पार्टीहरु छैनन् । तर, उहाँहरु त कुनै जमानामा एउटै पार्टीमा रहेर काम गरेकाहरु हुनुहुन्छ । एउटै पार्टीबाट फुटेर अलग भएको अवस्थामा फेरि सहकार्य गरेर अघि बढौं भन्ने उहाँहरुको बुझाइ होला । गठबन्धन त छँदैछ, त्यसैले समाजवादी मोर्चाबाट जानुभएको होला । तर, एउटै पार्टी निर्माण गर्ने सम्भावना देखेको छैन । त्यसैले यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।

– तर, कतिपयले गठबन्धनमा कांग्रेसलाई दबाबमा राख्न मोर्चा बनाइएको भन्ने टिप्पणी पनि गरिरहेका छन् नि ?

हाम्रो पार्टीको प्रधानमन्त्री भएको भए उहाँहरुले गठबन्धनमा दबाब राख्न सक्नुहुन्थ्यो । अर्कोतिर गएर विश्वासको मत ल्याउँलान् कि सरकार ढल्ला कि भन्ने हुन्थ्यो । मन्त्री ढल्ने होइन, ढले प्रधानमन्त्री ढल्ने हो ।

अहिले प्रधानमन्त्री नै समाजवादी माेर्चा मा जानुभएको छ । त्यसले हामीलाई दबाब हुँदैन । कांग्रेसलाई दबाबमा राखेर बार्गेनिङ पावर बढाउन मोर्चा बनाएको भन्ने विश्लेषण गरेको हो भने त्यो सत्य होइन ।

नेपाल प्रेसबाट

प्रतिक्रिया