नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

इनेप्लिज २०८० असार ८ गते २:२३ मा प्रकाशित

काठमाडौं, जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ ।

हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा बिहीबार नेपाल वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको हो ।

जितका लागि तीन सय ४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३८ रनमा समेटिएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको अर्धसतकीय इनिङ्स खेले । ९३ बलको सामना गरेका आरिफले चार चौका एक छक्का हाने ।

यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आशिफ शेख र करण केसीले समान २८/२८ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

ओपनर कुशल भुर्तेल पाँच तथा भीम सार्की र कुशल मल्ल दुई दुई रन जोड्दै पेभेलियन फर्किएका थिए र।

सन्दीप लामिछाने एक रनमा आउट भए । बलिङमा वेस्ट इन्डिजका जासोन होल्डरले तीन विकट लिए । अकिल हुसेन, अल्जारी जोसेफ र कीमो पउलले दुई/दुई तथा कायल मेयरर्सले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ३९ रन बनाएको थियो ।

कुनैपनि विपक्षी टोलीले एक दिवसीयमा नेपालविरुद्ध बनाएको यो हालसम्मकै सबैभन्दा बढी योगफल हो ।

वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलस पुरनले सतकीय इनिङ्स खेले । होपले सर्वाधिक एक सय ३२ रन बनाए ।

उनले एक सय २९ बलमा १० चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै पुरनले एक सय १५ रन जोडे ।

पुरनले ९४ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन जोडेका थिए । ओपनर ब्रान्डम किङले ३२, रोभमन पवेलले २९, जासोन होल्डरले अविजित १६ रन बनाए ।

blog

बलिङमा नेपालका ललित राजवंशीले तीन विकेट लिए । करण केसी, गुलसन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट झारे ।

वेस्ट इन्डिज नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई पटक एक दिवसीय र टी–२० विश्वकप च्याम्पियन बनिसकेको वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गरेको हो ।

नेपालले यसअघि वेस्ट इन्डिजसँग कुनै प्रतियोगिता खेल्ने अवसर पाएको थिएन । वेस्ट इन्डिजले आइसिसी एक दिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करण उपाधि जितेको थियो ।

सन् १९७५ मा इङ्ल्यान्डमा भएको पहिलो संस्करणको फाइनलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई हराएको थियो ।

यस्तै इङ्ल्यान्डमै सन् १९७९ मा आयोजना भएको दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै उपाधि जितेको थियो ।

यस्तै वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।

कमजोर बलिङका कारण पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

वेस्ट इन्डिजको यो लगातार दोस्रो जित हो । समूहको पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो । जितसँगै वेस्ट इन्डिजले चार अङ्क बनाएको छ । नेपालको दुई अङ्क छ ।

नेपालले अब समूह ‘ए’ को अन्तिम खेलमा असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

वेस्ट इन्डिजविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

प्रतिक्रिया