दशबुँदे केन्टकी घोषणापत्र जारी गर्दै प्रवासी नेपाली मञ्चको साधारण सभा सम्पन्न

इनेप्लिज २०८० असार ७ गते १५:२३ मा प्रकाशित


लेक्जिन्टन, केन्टकी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको प्रथम वार्षिक साधारण सभा र केन्द्रीय भेला केन्टकी राज्यको लेक्जिन्टन सिटीमा सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा शनिबार सम्पन्न भेलामा अमेरिकाका विभिन्न २१ राज्यबाट करिब २०० प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थित रहेको थियो ।

नेपालको र अमेरिकाको राष्ट्रिय गान गाएर सुरू भएको भेलालाई एमाले महासचिव पोखरेलले मैनबत्ती बालेर उद्घाटन गरेका थिए । तत्पश्चात् विभिन्न क्षेत्रका विषयविज्ञ, अध्येताहरूले सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए । डा. दिनेश पौडेलले बहुध्रुवीय विश्वमा असंलग्नता अवसर र चुनौति, डा. रुद्र अर्यालले हिमालय क्षेत्रमा जलवायु परिवर्तन र नेपालमा यसको वातावरणीय प्रभाव, डा. कृष्ण ढकालले राष्ट्रिय हितको कसीमा गैरआवासीय नागरिकता र डा. सतिश देवकोटाले समावेशी समृध्दि र दिगो विकास नेपालको सर्वाङ्गीण विकासको बाटो विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

साधारणसभामा नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेल, विदेश विभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराई, पोलिट ब्यूरो सदस्य सुजिता शाक्य, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले समसामयिक राजनीतिक परिस्थिति प्रवासमा रहेका नेपालीहरूको भूमिका, विकासका लागि ज्ञान सीप तथा प्रविधि हस्तान्तरण आदि विषयमा महत्वपूर्ण मन्तव्य दिएका थिए ।

एमालेका सल्लाहकार सदस्य डा. कृष्ण न्योपाने, प्रवासी नेपाली मञ्चका महादेश ईन्चार्ज प्रभु थापा, महादेश कमिटी अध्यक्ष ईश्वरी भट्ट, अन्तर्राष्ट्रिय महिला विभाग प्रमुख कुन्ती थापा, अन्तर्राष्ट्रिय कमिटी सदस्य पुरूषोत्तम बोहरा, एनआरएनए अभियन्ता छत्रा गुरूङ तथा स्थानिय संस्थाहरूका तर्फबाट एनआएएनए केन्टकी च्याप्टरका अध्यक्ष केशब लोहनी, च्याप्टर सचिव अर्जुन न्यौपाने, एन्काका अध्यक्ष थिरलाल अर्याल लगायतले भेलाको सफलताको शुभकामना दिएका थिए ।

साधारण सभामा एनआरएनए निर्वाचनसम्बन्धी प्रतिवेदन, सांगठनिक तथा कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन क्रमशः उपाध्यक्ष भीम ओली, सचिव छबि पाण्डे र उपसचिव गोविन्द खनालले प्रस्तुत गरेका थिए ।

विभिन्न राज्यबाट आएका प्रतिनिधिहरूले समसामयिक, राजनीतिक, आर्थिक र प्रस्तुत भएका प्रतिवेदन र कार्पत्रमाथि प्रश्न, जिज्ञासा र सुझावहरू प्रस्तुतगरेका थिए । भेलाले प्रस्तुत प्रतिवेदनहरू पारित गरेको छ ।

साधारणसभाको निश्कर्ष तयार पार्न डा. दिनेश पौडेल, डा. केपी ढकाल र थोमस बास्तोलाको तीन सदस्यीय टिमलाई जिम्मा दिइएको थियो ।
मञ्चका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षता र सचिव छबि पाण्डेको सञ्चालनमा सम्पन्न भेलामा मञ्चका उपाध्यक्ष गोपाल कडेलले स्वागत मन्तव्य दिएका थिए ।

प्रवासी नेपाली मञ्चको प्रथम साधारण सभाको निश्कर्षको रूपमा १० बुँदे ुकेन्टकी घोषणापत्रु तयार पारी मञ्चका उपसचिव थोमस बास्तोलाले प्रस्तावका रूपमा प्रस्तुत गरेका थिए । साधारण सभाले ती बुँदाहरूलाई सर्वसम्मतिका साथ पारित गर्दै ुकेन्टकी घोषणापत्र जारी गरेको छ ।

केन्टकी घोषणा पत्र २०२३

१. यो सभा, समृध्द नेपाल सुखी नेपालीुको नारालाई सार्थक बनाउन राष्ट्रियता, सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन नेपालका मूलधारका राजनीतिक पार्टीहरूलाई हार्दिक आव्हान गर्दछ ।

२. प्रवासी नेपाली मञ्च अमेरिकाको कानूनबमोजिम दर्ता भएको सामाजिक संस्था हो । यसमार्फत् सामाजिक, सांस्कृतिक कामलाई अगाडि बढाउन मूलतः युवा विद्यार्थी, व्यवसायी र विषयविज्ञहरूको बीचमा सदस्यता अभियान सञ्चालन गरी राज्य कमिटीहरू गठन गर्ने । सम्बन्धित राज्य कमिटीले आफनो कार्यकालमा कम्तीमा दुईवटा सामाजिक काम गर्ने निर्णय गर्दछ ।

३. प्रवासी नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको विकास र समृध्दिसँग जोड्न नेपालमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने ।

४. विदेशमा रहेका नेपालीहरूलाई नागरिकता लगायतका हक स्थापित गराउँदा नेपाल राष्ट्रको दीर्घकालीन राष्ट्रिय हित र समृध्दिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने ठहर गर्दै पूर्ण अधिकारसहितको नागरिकता प्रदान गर्ने विषयमा सहजीकरणका लागि नेपालका राजनीतिक दल, नेपाल सरकार र जनसमुदायलाई हार्दिक आग्रह गर्दछ ।

५. गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका विगत लामो समयदेखि सही बाटोमा हिड्न सकेको छैन । एनआरएनएलाई सबै नेपालीहरूको छाता संस्थाको रूपमा विकास गर्ने असल, इमान्दार र भिजनरी व्यक्तिहरूको नेतृत्व र नीतिगत स्पष्टताको लागि आउँदो एनआरएनए निर्वाचनमा सक्दो पहल गर्ने ।

६. अमेरिकामा रहेको नयाँ पुस्तालाई संस्कृति, देशप्रेम र नेपालप्रतिको अपनत्वलाई बढावा दिन नयाँ पुस्ताकेन्द्रित कार्यक्रम गर्ने ।

७. अमेरिकाको नेपाली समुदायलाई आर्थिक, शैक्षिक, सीपमूलक,तथा सामाजिक क्षेत्रमा लाग्न प्रेरित, समन्वय र सहयोग गर्न सम्बन्धित सबैलाई आव्हान गर्दछ ।

८. नेपालको खासगरी ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरूलाई प्रोत्साहन गरी उनीहरूको शैक्षिक विकासमा टेवा पुर्याउन आगामी दुई वर्षभित्र केही जिल्लालाई नमूनाको रूपमा ुओएनएफ शैक्षिक छात्रवृत्तिु स्थापना गर्ने ।

९. नेपालको समावेशी समृध्दि हासिल गर्न कृषि, पर्यटन र जलस्रोतलाई प्राथमिक क्षेत्रका रूपमा विकास गर्दै उद्योग र सेवा क्षेत्र सँगै विकसित हुने हुनाले यी क्षेत्रमा नीतिगत योगदान र लगानी प्रवर्ध्दनका लागि योगदान पुर्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ ।

१०. नेपालको जैविक विविधता, भूपर्यावरणीय तथा हिमाली स्रोतहरूको संरक्षणलाई उच्च प्राथमिकता दिँदै दीगो विकासको अन्तर्राष्ट्रिय अभियानलाई समेत टेवा पुर्याउने अभिप्रायले आन्तरिक रूपमा प्रदूषण न्यूनीकरण गर्ने नीतिगत तथा प्राविधिक व्यवस्था गर्नुका साथै वायुमण्डलीय माध्यमबाट प्रवेश गर्ने बाह्य प्रदूषण रोक्ने व्यवस्था गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय भूमिका खेल्न नेपाल सरकारलाई आव्हान गर्दछ ।

शुक्रबार बेलुकी केन्टकी राज्य कमिटीले महासचिव पोखरेलसँग अन्तर्क्रिया तथा डिनर आयोजना गरेको थियो ।

प्रतिक्रिया