साफ च्याम्पियनसिपमा कुवेतलाई स्तब्ध पार्ने दाउमा नेपाल

इनेप्लिज २०८० असार ६ गते १:५७ मा प्रकाशित

काठमाडौ, १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटन खेलमा नेपालले कुवेतको सामना गर्दैछ ।

नेपाल र कुवेतबीचको प्रतिस्पर्धा भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा अपरान्ह पौने ४ बजेदेखि सुरु हुनेछ । नेपाल पहिलो खेलमै कुवेतलाई स्तब्ध पार्दै विजयी सुरुवात गर्न चाहन्छ ।

यद्यपि मध्यपूर्वी राष्ट्र कुवेतविरुद्ध नेपाललाई जीत निकाल्न सहज छैन । फिफा वरियतामा पनि नेपालभन्दा माथि (१४३) रहेको कुवेतले एकपटक विश्वकप खेलिसकेको छ ।

साथै, ऊ १० पटकको अरेबियन गल्फ कप च्याम्पियन पनि हो । १० पटक एसियन कपसमेत खेलिसकेको कुवेत नेपालविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

कुवेतविरुद्ध पहिलो जीतको खोजीमा नेपाल

फिफा वरियताको १७४ औँ स्थानमा रहेको नेपाल कुवेतविरुद्ध पहिलो जीत निकाल्ने रणनीतिमा छ । हालसम्म कुवेतविरुद्ध ९ खेल खेलेको नेपालले ८ मा हार तथा एक खेल बराबरी खेलेको छ ।

सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । गत वर्ष एसिया कप छनोटको खेलमा भने कुवेतसँग नेपाल ४–१ गोल अन्तरले पराजित भयो ।

नेपाल र कुवेतले पहिलोपटक सन् १९८२ एसिया कप छनोटमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपाल ३–१ गोलले पराजित भएको थियो ।

हालसम्म कुवेतविरुद्ध वाइबी घलेले गोल र दर्शन गुरुङले मात्र गोल गर्न सकेका छन् ।

घलेले १९८२ र गुरुङले गत वर्षको एसिया कप छनोटमा गोल गरेका थिए । नेपालले हालसम्म कुवेतविरुद्ध ३४ गोलको सामना गर्दा २ गोल मात्र फर्काउन सफल भएको छ ।

साफमा नेपाल र कुवेतसँगै समूह ‘ए’ मा आयोजक भारत र पाकिस्तान पनि रहेका छन् । पाकिस्तान र भारतबीचको खेल बुधबार राति पौने ८ बजे हुनेछ ।

यसपल्टको संस्करणमा साफका ६ र २ आमन्त्रित राष्ट्र गरी ८ टिमको सहभागिता छ ।

माल्दिभ्समा भएको १३ औँ साफमा नेपालले पहिलोपटक फाइनलसम्मको यात्रा गरेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना अधुरै रह्यो ।

नेपाल यसपालि पनि फाइनल पुग्दै उपाधि जित्ने लक्ष्यमा छ । तर, खेलाडीको विदेश पलायन र समूह चरणमा बलियो टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाललाई फाइनलको यात्रा गर्न पनि कठिन छ ।

प्रतिक्रिया