नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

इनेप्लिज २०८० असार ४ गते २:०६ मा प्रकाशित

काठमाडौं, बलर नचलेपछि नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ ।

हरारे स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो ।

जीतका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

जिम्बावेका लागि कप्तान क्रेइज इर्भाइन र सेन विलियम्सले अविजित शतकीय इनिङ्स खेले ।

एक सय २१ रन बनाउनुभएका क्रेइजले एक सय २८ बलमा १५ चौका र एक छक्का हान्नुभयो । सेन विलियम्सले एक सय दुई रन बनाए ।

उनले ७० बलमा १३ चौका र एक छक्काको सहयोगमा उक्त रन जोडे । विस्ली म्याडहेब्रेले ३२ र ओपनर जोयलर्ड गुम्बेईले २५ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामी र गुलसन झाले एक एक विकेट लिए । सन्दीप लामिछानेले १० ओभर पूरै बलिङ गर्दा एक विकेटसमेत लिन सकेनन् ।

सन्दीपसहित नेपालका बलर नचल्दा जिम्बावेले उसको घरेलु मैदानमा शानदार जीत निकालेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाए । कुशलले ९५ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाए ।

अर्का ओपनर आशिफ शेखले ६६ रन बनाए । कुशल र आशिफले पहिलो विकेटका लागि एक सय ७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

यो एकदिवसीयमा नेपालको हालसम्मकै उच्च साझेदारी हो । यसअघि एकदिवसीयमा नेपालका लागि सर्वाधिक साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सय ३९ रनको साझेदारी गरेकाक थिए ।

यस्तै कुशल मल्लले ४१, कप्तान रोहित पौडेलले ३१, गुलसन झाले १३, आरिफ शेखले १०, दीपेन्द्रसिंह ऐरीले ६ र करण केसीले दुई रन बनाए ।

भीम सार्की पहिलो बलमै आउट भए । बलिङमा जिम्बावेका रिचार्ड नगरभाले चार विकेट लिए । विलिङटन मासाकाड्जाले दुई तथा टेन्डई चतरा र ब्लेसिङ मुजाराबानीले एक/एक विकेट लिए ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त खेल हो । नेपालले जिम्बावेसँग यसअघि एउटा मात्र ५० ओभरको खेल खेलेको थियो ।

सन् २०१८ मा जिम्बावेमै खेलेको विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो । त्यतिबेला नेपालको ओडिआई मान्यता नरहेकोले लिस्ट ‘ए’ मान्यताको खेल भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर/नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

जिम्बावेविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।

प्रतिक्रिया